माछापालनबाट मनग्य आम्दानी «

माछापालनबाट मनग्य आम्दानी

प्यूठान नगरपालिका–९ मरन्ठाना बुढादेवीका एक किसान माछापालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । स्थानीय दिनबहादुर जिसीले १४ वर्षदेखि गर्दै आएको माछापालनबाट राम्रो आम्दानी लिएका हुन् । उनले २०६१ सालबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको गतिलो माध्यम बनेको छ ।
माछापालनबाट मासिक ५० हजार रुपैयाँ आम्दानी हुने गरेको उनले बताए । “व्यवसायबाट राम्रो आम्दानी हुँदै आएको छ,” जिसीले भने, “बार्षिक छ लाख जति कमाइ हुन्छ ।” जिल्ला कृषि विकास कार्यालयको परामर्श तथा सहयोगमा परीक्षणका लागि उनले माछापालन व्यवसाय सुरु गरेका थिए । “एक रोपनी धानखेतमा कमनकार्प जातका पाँच सय भुराबाट माछापालन सुरु गरेको हुँ,” उनले भने । माछापालनको पहिलो वर्षमै राम्रो आम्दानी पाएपछि व्यावसायिक रूपमै यसमा लागेको उनले बताए ।
एक रोपनी जग्गाबाट सुरु गरेको माछापालन अहिले १२ रोपनी जग्गामा फैलिएको छ । व्यावसायिक माछा उत्पादनसँगै भूरा उत्पादनका लागि उनले माछा नर्सरीसमेत सञ्चालन गर्दै आएका छन् । “१० वटा पोखरीमध्ये २ वटामा भूरा उत्पादनका लागि नर्सरी व्यवस्थापन गरेको छु,” जिसीले भने, “प्यूठानसँगै छिमेकी जिल्लाबाट माछापालनका लागि भूरा खरिद गर्न आउने गर्छन ।” चिसो हावापानीका कारण माछा स्वादिष्ट हुने हुँदा घरमै ग्राहक आउने गरेको उनले बताए ।
सुरुमा व्यावसायिक ज्ञान नभएका कारण माछापालनमा समस्या हुँदै आए पनि पछिल्लो वर्षमा कठिनाइ नभएको उनको भनाइ छ । माछापालनका लागि विभिन्न कृषक परामर्शका लागि आउने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्