कुकुर, बिरालोको उपचारमा पनि कर !

जुम्ला-जुम्लाको गुठीचौर गाउँपालिकाले सुन्दै अचम्म लाग्ने खालका कर संकलन गर्न थालेको छ । स्थानीय सरकार गठन भएपछि देशैभर कर बढेको विरोधमा चर्को विरोध भइरहेका बेला गुठीचौर गाउँपालिकाले पहिलो पटक कुकुर, बिरालो र पशु उपचारदेखि चरीचरणमासमेत कर लगाएको छ । गाउँपालिकाको निर्णयले स्थानीय असन्तुष्टि बनेका छन् ।
तातोपानी–२ का लोकबहादुर दमाईले अपेक्षा गरिएको भन्दा फरक तरिकाले जनप्रतिनिधिले कर लगाउन थालेकोमा अचम्म लाग्न थालेको बताए । यसअघि निःशुल्क रूपमा कुकुर, बिरालो र पशु उपचार तथा पशु चरण गर्दै आएका नागरिक एक्कासी कर लगाईएपछि असन्तुष्ट भएका हुन् । गुठीचौरको पाटनमा चराइने रहेक गाईवस्तुमा कर लगाउँदा अब पशुचौपाय पाल्ने कि नपाल्ने भन्नेमा अन्योल सिर्जना भएको दीपक परियारले बताए । “घरमा मल तथा जोत्नका लागि ८÷१० वटा स्थानीय जातका गाई पालेको छु, तिनीहरूको रेखदेख तथा चरणका लागि दैनिक खटिनुपर्छ,” गुठीचौर–५ का दाने नेपालीले भने, “त्यसबाट हामीलाई कुनै फाइदा छैन, अझै स्थानीय सरकारलाई कर तिर्नुपर्ने भएपछि हामीलाई दबाब परेको छ ।” उनले स्थानीय सरकार लगाएको कर मान्य नभएको बताए ।
स्थानीयवासीले गाउँपालिकाले लगाएको करमा पुनर्विचार गर्न आग्रह गरेका छन् । स्थानीय सरकारले जुनसुकै वस्तु र ब्यवसायमा महँगो कर लगाएकोप्रति मानबहादुर नेपालीले पनि असन्तुष्टि व्यक्त गरे । “घरमा पालेको कुकुरदेखि आफ्नै बारीमा चराएको पशुको पनि कर तिर्नुपर्ने यो कस्तो व्यवस्था हो ?,” उनले प्रश्न गर्दै भने, “हामी गरीखानेका लागि झन् सास्ती बढ्यो ।” कालापहाड गएर कमाएको पैसाले घरखर्च चलाउन धौ–धौ परिरहेको अवस्थामा पालिकाले लगाएको घरबहालदेखि महंगो व्यावसायीक कर तिर्न आफूलाई मुस्किल पर्ने अर्का स्थानीय कुईरो नेपालीले बताए ।
कुकुर बिरालोको उपचारमा कर
स्थानीयवासीमा अहिले करकै चर्चा हुने गरेको छ । घरदेखि चिया पसलमा पनि कुकुर र बिरालोको उपचारमा पनि कर लगाएको विषयले चर्चा पाएको छ । संघीयताको महसुस गराउने मोडल पालिका बनाउने योजना बनाएको गुठीचौर गाउँपालिकाले पहिलो पटक कुकुर, बिरालो तथा अन्य पशुवस्तु उपचारदेखि सबै पशु चरणमा कर लगाएको छ । घरमा पालेका कुकुर, बिरालो तथा पशुवस्तु उपचार गरे वा आफ्नो बन तथा पाटन क्षेत्रमा पशुवस्तु चराए पालिकाले कर असुल्ने भएको हो ।
कुकुर, बिरालोदेखि पशुवस्तु उपचार गर्नुपरे सामान्यतया १० देखि ५० रुपैयाँ कर तिर्नुपर्नेछ । जसअनुसार कुकुर, बिरालोको उपचार गर्नुपरे दर्ता स्वरूप २५ रुपैयाँ कर तोकिएको छ । गाईभैंसी उपचार गर्दा प्रतिवटा २०, भेडा बाख्रा प्रतिवटा १०, हात्ती, घोडा, खच्चर प्रतिवटा ५० र पशुको कृतिम गर्भाधान गराए प्रतिगोटा ५० रुपैया गाउँपालिकालाई कर तिर्नुपर्नेछ ।
स्थानिय वा बाहिरका पशुपालक किसानले पालिकाको जुनसुकै बन क्षेत्रमा पशुपालन गरेर चरीचरण गराएमा पालिकालाई कर तिनुपर्ने व्यवस्था छ । यसअघि पालिकाको वन तथा पाटन क्षेत्रमा निःशुल्क पशुवस्तु पालन तथा चरिचरण गर्दै आएका किसानले यस वर्षदेखि पशु चराए बाध्य भएर कर तिर्नुपर्ने छ । गुठीचौर गाउँपालिकाको अर्थसम्वन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०७५ मा यसरी बन तथा पाटन क्षेत्रमा पशु चराए कर असुल्ने उल्लेख छ ।
राजपत्रमा प्रकाशित आर्थिक वर्ष २०७५-७६ को अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने निर्णयअनुसार स्थानीयले पशु चराए कर तिर्ने भएका हुन् । सो अनुसार बन तथा पाटन क्षेत्रमा स्थानीयले भैंसी चराए प्रतिभैंसीको ५ र बाहिरका किसानले चराए २० रुपैयाँ कर लिइनेछ । त्यस्तै स्थानीयलाई गाई, घोडा, घोडी चराए बापत प्रतिवटा ५, घोडा खच्चर, भेडा बाख्रा प्रतिवटा २ र बाहिकालाई १० रुपैयाँ कर लाग्ने ब्यवस्था छ ।
कर बिना चल्दैन
केन्द्रले दिने अनुदानकै भरमा पालिका सञ्चालन गर्न नसकिने भन्दै हरेक वस्तु, व्यवसाय तथा निर्माण सामग्रीमा कर लगाइएको गुठीचौर गाउँपालिकाले जनाएको छ । स्थानीय तहमा उठ्ने करले पालिका सञ्चालनमा सहज हुने अध्यक्ष हरिबहादुर भण्डारीले बताए । सबैको स्वीकार्य हुने गरी लगाइएको करको दायरमा सबै आउनुपर्ने उनको भनाइ छ ।
नागरिकले तिर्नसक्ने र कर लगाउनुपर्ने आवश्यक वस्तु, ब्यवसाय र निर्माण सामग्रीमा लगाइएको करले पालिकाबासीलाई नै फाइदा पु-याउने प्रशासकीय अधिकृत केशवराज शर्माले बताए । पालिकाले उठाउने कर नागरिककै हितका लागि भएको उनको भनाइ छ । उनका अनुसार सेवा शुल्क करअन्तर्गत नागरिकले सिफारीस लिनुपरे १ सय रुपैयाँ दस्तुर लाग्नेछ । कच्ची माटोको घरमा बस्ने नागरिकले ५० र पक्की घरमा बस्नेले १५० रुपैयाँ कर तिर्नुपर्ने छ ।