ढाकर छाडेर अलैंची खेती

उदयपुर-१४-१५ वर्षको उमेरदेखि नै गाईघाटदेखि दिक्तेलसम्म ढाकरमा भारी बोक्न थालेका रौतामाई गाउँपालिका–६ नामन्ताका तिलकबहादुर रानामगरले झन्डै ३० वर्ष ढाकर र टेकुवाको भरमै गुजारा चलाए । गाउँ–गाउँमा कच्ची सडक पुगेसँगै ट्र्याक्टर र खच्चरबाट सामान ढुवानी हुन थालेपछि करिब ८ वर्षअघि तिलकबहादुरले ढाकर बोक्ने कामसमेत पाउन छाडे र बनमारा र तितेपातीले भरिएको करिब ४ रोपनी पाखो बारीमा अलैंची खेती सुरु गरे । गरिखाने अन्य कुनै विकल्प नभएपछि अन्धाधुन्ध अलैंची खेतीमा लागेका उनको आर्थिक र सामाजिक जीवनमा त्यही अलैंची खेतीले यतिबेला ठूलो परिवर्तन ल्याइदिएको छ । ४ रोपनी पाखोबारीबाट ३० रोपनीभन्दा बढी जमिनको मालिक भएका उनी अलैंची खेती गर्ने त्यस क्षेत्रकै अगुवा किसान बनेका छन् ।
“प्रतिकेजी ४० रुपैयाँका दरले गाईघाटबाट दिक्तेलसम्म सामान बोक्थें,” विगत सम्झँदै उनले भने, “ट्र्याक्टर र खच्चरले सामान ओसार्न थालेपछि भारी बोक्ने कामसमेत पाइएन ।” हातमुख जोड्ने अन्य कुनै उपाय नभएपछि मकै कोदोसमेत नफल्ने बनमारा र तितेपातीले भरिएको ४ रोपनी पाखो बारीमा अलंैची खेती सुरु गरेको उनले बताए । “आफूसँग अलैंचीको बीउ किन्ने पैसासमेत थिएन,” तिलकबहादुरले भने, “अलैंची फल्ने हो या नफल्ने हो कुनै ठेगान थिएन ।” तर, सुरु गरेकै वर्ष ४५ हजार रुपैयाँको अलैंची बिक्री गरेपछि उत्साहका साथ यही खेतीमा लाग्दै आएको उनले सुनाए ।
तिलकबहादुरले अहिले १५ रोपनीमा अलैंची खेती लगाएका छन् । उनले अलैंची खेतीबाट लाभ लिएको देखेपछि पछिल्लो समय नामन्ताका अधिकांश किसानले अलैंची खेतीलाई नै प्रमुख बाली बनाएका छन् । करिब ५० घर मगर, राई, विश्वकर्मा र क्षेत्री समुदायको बसोबास रहेको नामन्तामा अलैंचीका साथै चिया, तेजपत्ता, आलु, काउली, गोलभेंडा, काँक्रो र इस्कुसको पनि व्यावसायिक खेती हुन थालेको छ ।
“तिलकबहादुरले सुरु गरेको व्यावसायिक खेतीले नामन्तामा नयाँ जागरण ल्याएको छ,” स्थानीय गंगाबहादुर मगरले भने, “उहाँको अभियानले गाउँलेलाई आत्मनिर्भर बन्न ठूलो प्रोत्साहन मिलेको छ ।” पहिले तितेपाती र बनमाराले भरिने नामन्ताका पाखा यतिबेला अलैंचीले हराभरा भएको उनले बताए ।
रौतामाई गाउँपालिकाका अधिकांश स्थान व्यावसायिक कृषिका लागि उपयुक्त भएकाले गाउँपालिकाले माटो र हावापानी सुहाउँदो खेती गर्न किसानलाई प्रोत्सान गर्दै आएको छ । “हामीले व्यावसायिक कृषिका माध्यमबाट ग्रामीण जनताको आर्थिक अवस्थामा सुधार ल्याउने नीतिलाई प्राथमिकतामा राखेका छौं,” गाउँपालिका प्रमुख गजेन्द्रबहादुर खड्काले भने, “हावापानी र माटो सुहाउँदो व्यवसायिक खेती गर्ने किसानलाई अनुदान दिने नीति लिएकाले रौतामाईमा व्यवसायिक खेतीमा लाग्ने किसानको संख्या बढिरहेको छ ।”
अलैंची, तेजपात, आलु, चिया, सुन्तला, कागतीजस्ता नगदेवाली लगाउने र व्यावसायिक बंगुरपालन र बाख्रापालन गर्ने किसानलाई गत आर्थिक वर्षमा ६५ लाख रुपैयाँ अनुदान वितरण गरेको जानकारी खड्काले दिए । चारवटा साविकका गाविस मिलाएर गाउँपालिका निर्माण गरिएको रौतामाईलाई व्यावसायिक कृषिका क्षेत्रमा जिल्लाकै नमुना बनाउने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ ।
गोपाल पोखरेल