Logo

लघुवित्त अभियानमा स्वावलम्बन अवधारणा

स्वावलम्बन अभियान र लघुवित्तलाई एकैसाथ अगाडि बढाइयो भने त्यहाबाट गरिबी हटाउन सकिन्छ ।

सभ्य, सुसंस्कृत र स्वावलम्बी समाज निर्माणका लागि नागरिक असल हुनुपर्छ । गरिबीबाट मुक्त समाज भयो भने मात्रै नागरिक असल बन्न सक्छ । बहुआयामिक विकास भयो भने मात्रै स्वावलम्बी समाज निर्माण हुन सक्छ र असल नागरिक बन्न मद्दत पुग्छ । असल नागरिक कसरी तयार हुन्छन् त ?
एउटा व्यक्ति कसरी असल नागरिक बन्न सक्छ भन्ने प्रश्नको जवाफ त्यति सजिलो छैन । व्यक्तिको जीवनयापन, शिक्षा, स्वास्थ्य, रोजगार सबै विषयलाई सम्बोधन गरियो भने मात्रै उक्त प्रश्नको हल हुन सक्छ । उन्नत स्तरको जीवनयापनलाई गरिबीले मुख्य बाधा पारेको हुन्छ । गरिबीबाट कसरी छुट्कारा पाउन सकिएला त ? यो अर्को गहन प्रश्न हो ।
गरिबीबाट छुट्कारा पाउनु भनेको हरेक व्यक्तिको जीवनयापनमा सकारात्मक परिवर्तन आएर उक्त परिवर्तनको अनुभूति व्यक्ति स्वयंले गर्नु हो । त्यस प्रकारको परिवर्तनलाई यहाँ विकास भनिएको छ । विकास बाहिरबाट ल्याइने कुनै वस्तु होइन । बाहिरबाट साधन, स्रोत, सपि, प्रविधि ल्याउन सकिन्छ । यी विकासका लागि चाहिने साधन र विकासको प्रतिफल प्राप्त गर्ने माध्यम हुन् तर साध्य होइनन् ।
अलिकति उदाहरणसहित चर्चा गरौं, गाउँमा बस्नेहरूलाई पायक पर्ने ठाउँमा खेलकुद, पुस्तकालयलगायत सबै सुविधा भएको अति राम्रो विद्यालय भवनको बन्दोवस्त छ । उक्त विद्यालयमा पढाउनका लागि सरकारले चाहिनेजति संख्यामा शिक्षकको व्यवस्था गरेको छ । तर, विद्यालयमा पढ्नका लागि विद्यार्थी जाँदैनन्, त्यस विद्यालयमा विद्यार्थी छैनन् भने त्यो विद्यालय भवनको औचित्य रहँदैन । यहाँ विद्यालय साधन हो, शिक्षक माध्यम हुन् भने विद्यार्थी साध्य हुन् ।
गाउँमा सडक यातायातको व्यवस्था छ । उक्त सडकमा मोटरहरू गुडिरहन्छन्, तर उक्त मोटरमा त्यो गाउँमा मानिसहरू चढ्न सक्दैनन् भने त्यो मोटर गुड्दैमा ती गाउँलेलाई कुनै लाभ हुँदैन । त्यसैले यी उल्लिखित कुरा विकासका साधन हुन्, साध्य होइनन् ।
जबसम्म ती साधनलाई प्रयोग गरेर व्यक्तिले त्यसबाट फाइदा लिन सक्दैन तबसम्म उसका लागि ती सुविधाहरूको कुनै महत्व हुँदैन । स्वावलम्बनको अर्थ व्यक्ति स्वयं सबल, सक्षम हुनु हो र विकासका साधन, सुविधाहरू उसको जीवनयापनमा प्रयोगमा ल्याएर त्यसको प्रतिफलको अनुभूति स्वयं उक्त व्यक्तिले गर्नु हो । त्यसरी अनुभूति गरेको प्रतिफल त्यस व्यक्तिको कार्यशैलीमा देखिनु हो । जीवनयापनमा विकासको प्रतिफल देखियो भने उक्त व्यक्ति असल नागरिक बन्न सक्छ ।
दैनिक सन्तुलित खानाको अभावमा जिउनुपर्ने, बालबच्चाहरू स्कुल जानबाट वञ्चित हुनुपर्ने, स–सानो रोगको उपचार गर्नबाट पनि वञ्चित हुनुपर्ने, परिस्थिति रहेसम्म उक्त व्यक्ति असल नागरिक बन्न सक्दैन । गरिबीको कारणले गर्दा व्यक्ति उक्त अवस्थाबाट गुज्रन बाध्य हुन्छ ।
यी सबै कुराबाट वञ्चित भएका व्यक्तिलाई लक्षित गरेर उनीहरूलाई गरिबीबाट मुक्ति दिलाउने सोचले लघुवित्तको अवधारणा विकास भएको हो । ससानो पुँजीको अभावले व्यवसाय गर्न नपाएर गरिबीमा जीवनयापन गर्न बाध्य रहेका जनतालाई लघुवित्तको माध्यमबाट पुँजीको प्रवाह हुन सक्छ ।
अभावको जीवनयापन चलाउन बाध्य व्यक्तिसँग पुँजी हुँदैन, तर लघुवित्तबाट पुँजीको प्रवाह गर्दैमा उक्त व्यक्ति गरिबीबाट माथि उठ्न सक्छ भन्ने ठान्नु हुँदैन । पुँजीको अभाव गरिब हुनुको कारण त हो, तर उक्त अभावले गर्दा उक्त व्यक्तिको मानसिक सोचमा पनि आफैंभित्र अविश्वास रहेको हुन्छ, आत्मविश्वास हुँदैन ।
हीनताले गर्दा कतिपय त दुव्र्यसनको कुलतमा समेत परेका हुन सक्छन् । इमानदारिता गुमाएका हुन सक्छन् । त्यसैले त्यस्ता व्यक्तिलाई पुँजीभन्दा पहिलो खाँचो हौसला, उत्प्रेरणाको हुन्छ । व्यक्तिको आत्मबल बढाउने, मानसिक उत्साह बढाउने, जोसजाँगर बढाउने र हीनतालाई हटाउने माध्यम उत्प्रेरणा हुन सक्छ । उत्प्रेरणाको माध्यमबाट व्यक्तिमा अन्तर्निहित कमी–कमजोरी हटाउन सकिन्छ । स्वावलम्बनको माध्यमबाट उत्प्रेरणा जगाउन सकिन्छ ।
गरिबीको दुष्चक्रमा पिल्सिएको व्यक्तिको मानसिक दुर्बलतालाई ख्याल नगरी केवल पुँजी लगानी गर्दैमा उक्त व्यक्ति गरिबीबाट माथि उठ्न सक्दैन । स्वावलम्बनका प्रणेता डा. देवेन्द्रराज पाण्डेका अनुसार “स्वावलम्बनमा भौतिकभन्दा पनि व्यक्तिगत सोच, संस्कृति र मनोदशालाई प्रभावित गरी विपन्न समुदायमा आत्मसम्मान, आत्मविश्वासको जागरण र त्यसका निम्ति चाहिने लगन र आपसी सहकार्यलाई महत्व दिइन्छ । सो गर्दा विपन्न समुदायले समेत आफ्नो जिम्मेवारी र अधिकारबोध गर्छन् । सोपछि मात्र भौतिक व्यवस्था र विकासमा पुराएको ध्यान सार्थक, दिगो र उपयोगी हुन्छ । “त्यसैले लघुवित्तको माध्यमबाट कर्जा प्रवाह गरेर मात्रै गरिबी हटाउन सम्भव हुँदैन । स्वावलम्बन अभियान र लघुवित्तलाई एकैसाथ अगाडि बढाइयो भने त्यहाँबाट गरिबी हटाउन सकिन्छ ।
गरिब व्यक्ति वा परिवारको प्रमुख समस्या चल–अचल सम्पत्तिको अभाव हुनु हो । यस्ता व्यक्तिको बैंकहरूसँग पहुँच हुँदैन । किनभने उनीहरूसँग ऋण लिनका लागि धितो हुँदैन । बिनाधितो बैंकले ऋण दिंदैनन् । लघुवित्तको प्रमुख उद्देश्य नै धितो नभएका, बैंकमा पहुँच नभएका ती व्यक्ति र परिवारलाई सरल तरिकाले कर्जा प्रवाह गर्नु हो, तर सरल तरिकाले बिनाधितो कर्जाप्रवाह गर्दैमा ती व्यक्ति वा परिवार गरिबीबाट माथि उठ्छन् भन्ने हुँदैन, किनभने आर्थिक गरिबीसँगै मानसिक गरिबी पनि जोडिएको हुन्छ । गरिब व्यक्तिमा अन्तरनिहित कमजोर मानसिकता हटाएर कर्जा प्रवाह गरियो भने मात्र उक्त व्यक्तिले सफलता प्राप्त गर्न सक्छ । व्यक्ति–परिवारको गरिबीलाई सम्बोधन गर्ने सन्दर्भमा भौतिक साधनको परिचालन अगाडि उसको क्षमता, रुचि, लगनशीलतामा ध्यान पुराउनु जरुरी हुन्छ । त्यसका लागि उसको मानसिकतामा सकारात्मक परिवर्तन आउनु आवश्यक छ । भन्नुको अर्थव्यक्ति र परिवारमा रहेको पछौटेपन र चिन्तनमा समेत परिवर्तन आउनु जरुरी हुन्छ । आफूभित्रको हीन भावना, परावलम्बी चिन्तन, भाग्यवादी सोच र गलत आनीबानी, आफूभित्रको क्षमतालाई पहिचान गर्न नसक्नु, आफ्नो पहुँचभित्र रहेको स्रोतसाधनलाई उचित ढंगले व्यवस्थापन गर्न नसक्नु, नजान्नु लगायतका कारणले पनि व्यक्ति गरिब हुन बाध्य हुन्छ ।
गरिबीका कारण मानसिक रूपमा तनावमा रहनु, अरूबाट अपत्यारिलो हुनु, आफैंमाथि अविश्वास हुनु, कुलतमा लाग्नु, घरेलु हिंसा, सामाजिक हिंसामा लाग्नु पनि गरिबीका अरू सूचकहरू हुन् । यसरी आफैभित्र अविश्वास रहेको र कुलतमा रहेको व्यक्तिलाई गरिबीबाट बाहिर ल्याउने नाममा उक्त पक्षलाई सम्बोधन नगरी आर्थिक लगानी गरियो भने परिणाम राम्रो आउँदैन । सतही रूपमा हेर्दा आर्थिक अभावले उनीहरू यसप्रकारका कुलतमा गाँजिएको अवस्था हो जस्तो देखिन्छ, जसले गर्दा आर्थिक लगानी भयो भने उनीहरूमा रहेको पछौटेपना स्वतः हटेर जान्छ भन्ने विश्लेषण हुन पनि सक्छ ।
बंगलादेशमा प्रोफेसर युनुसले ग्रामीण बैंकको थालनी गर्दा बिनाधितो कर्जा प्रवाहलाई अर्थात् मूलतः भौतिक पक्षलाई विशेष ध्यान दिएको देखिन्छ । बैंकमा पहुँच नहुने धितोविहीन गरिबहरूका लागि कर्जा प्रवाह गर्ने उनको प्रमुख उद्देश्य रहेको पाइन्छ । गरिबहरूलाई बिनाधितो कर्जा प्रवाह गरेर व्यवसाय गर्ने अवसर दिइयो भने उक्त गरिब स्वतः माथि उठ्न सक्छ भन्ने प्रोफेसर युनुसको मान्यता रहेको पाइन्छ, तर त्यस प्रकारको विश्लेषण अधुरो हुन्छ । त्यसकारण स्वावलम्बन अभियानको माध्यमबाट लघुवित्तलाई अगाडि बढाउँदा चेतनाको स्तरलाई पनि उच्च महत्व दिइन्छ ।
चिन्तन अर्थात् मानसिकतामा परिवर्तन ल्याउन लागि व्यक्तिभित्र रहेको पछौटेपनको कारक तŒवलाई मनन गरेर उसले त्यस्ता पक्षलाई हटाउने प्रण गर्नुपर्छ । यी पक्षलाई सम्बोधन गरेर कर्जा प्रवाह गरियो भने गरिब व्यक्ति वा परिवार गरिबीको दुष्चक्रबाट माथि उठ्न सक्छ । त्यसैले गरिबीबाट पार पाउनका लागि ‘स्वावलम्बन अवधारणा’ र ‘लघुवित्त अभियान’ लाई एकसाथ अगाडि बढाउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्