Logo

राप्तीसोनारी गाउँपालिकाद्वारा सिक्टाको गुणस्तर छानबिन माग

नेपालगन्ज-सिक्टा सिँचाइ आयोजनाको मुख्य बाँध, हेडवक्र्स र मूल नहरको अधिकांश भाग पर्ने गाउँपालिका राप्तीसोनारी गाउँपालिकाले पहिलो पटक औपचारिक रूपमै आयोजनाको बारेमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।
परीक्षणकै क्रममा दुई पटक सिक्टा सिँचाइ आयोजनाको मूल नहर भत्किएको र नहरका अधिकांश स्थानमा क्षति पुगेकोले सो बारेमा गाउँ कार्यपालिका बैठकले उक्त आयोजनाको अवस्था नाजुक हुन पुगेको निस्कर्षसहित गुणस्तर छानबिन गर्नुपर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा सम्पन्न भएको गाउँ कार्यपालिका बैठकले स्थानीय सरकारको हैसियतले आफै पनि छानबिन गराउन सक्ने जनाउँदै तर पहिले प्रदेश र संघीय सरकारसँग सिक्टा सिँचाइ आयोजनाको गुणस्तर छानबिन गर्न माग गरेको छ ।
सरकारले विशेष प्राथमिकतामा राखेको सिक्टा सिँचाइ आयोजनाले बाँकेको कृषि क्षेत्रलाई कायापलट पार्ने अपेक्षा राखिएको थियो । तर, परीक्षणकै क्रममा पटकपटक नहर भत्किएपछि यसको गुणस्तरमा गम्भीर किसिमका प्रश्न उठेका छन् । नहरलाई पहिलो पटक परीक्षण गर्दा २०७३ असार १४ गते र दोस्रो पटक परीक्षण गर्दा यही साउन ७ गते ढकेरीस्थित चंगाई नालानजिक भत्किएको हो ।
राज्यको अर्बौ रुपैयाँ लगानी भइसकेको आयोजनाको पश्चिम मूलनहर पटक–पटक भत्किने गरेको र सोही नहरका कारण वडा नम्बर २, ८ र ९ का जनता असुरक्षित हुन पुगेकाले गुणस्तर छानबिन गर्न माग गरिएको बैठकपछि गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । “सिक्टाको गुणस्तर छानबिन गर्न बैठकबाट हामीले माग गरेका छौं,” उनले भने, “बैठकको निर्णय संघीय र प्रदेश सरकारसमक्ष पठाउने, सिक्टा सिँचाइ आयोजना कार्याललाई बोधार्थको रूपमा जानकारी गराउने निर्णय भएको छ ।”
गाउँपालिकाका अध्यक्ष थारुले स्थानीयस्तरबाट उठिरहेको आवाजलाई संघीय र प्रदेश सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए । उनले स्थानीय सरकारले गरेको सिफारिस र मागलाई तत्काल कार्यान्वयन गनुपर्नेमा पनि जोड दिएका छन् ।
सिक्टाको गुणस्तरका विषयमा उठेको प्रश्नबारे संघीय सरकारले तत्काल अध्ययन गरी समस्या समाधानको पहल गर्नुपर्ने बैठकमा सहभागी कार्यपालिका सदस्यहरूले माग गरेका थिए । गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्रीले १५ वर्षमा १५ अर्ब रुपैयाँ खर्च भइसके पनि अझै किसानले सिँचाइ सुविधा नपाउनु सरकारको लगानी बालुवामा पानी भएको बताइन् ।
यस्तै सिक्टाको मूल नहर निर्माण गरिएको क्षेत्र वडा नम्बर २ का वडाअध्यक्ष मदन ओली र वडा नम्बर ९ का अध्यक्ष महावीर ओलीले सिक्टा सिँचाइ आयोजनाको काम तथा गुणस्तर निकै न्यून किसिमको रहेको जनाउँदै सो नहरले गाउँबस्तीमा निम्त्याएको जोखिमका विषयमा पनि सरकारले ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्