बन्ला त भरतपुर मानवीयता सहर ?

चितवन-भरतपुर महानगरपालिकालाई मानवीयताको सहर बनाउन पहल गरिएको छ । सडकपेटी तथा सार्वजनिकस्थलमा कष्टपूर्ण जीवनयापन गर्दै आएका असाहय, अशक्त, अनाथ, अपांग एवं मनोरोगीको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमले महानगरलाई मानवीयताको सहर बनाउन प्रस्ताव गरेको छ ।
खुला आकाशमुनि रात बिताउन विवश, घरबारविहीन, बेवारिसे, मनोरोगी, सहाराविहीन व्यक्तिको उचित व्यवस्थापन गर्दै महानगरक्षेत्रलाई मानवीय सहर बनाउन सुझाएको छ । भोकै, नांगै बेबारिसे भइरहनु नपर्ने गरी दीर्घकालीन समाधान खोज्ने, अमानवीय क्रियाकलाप न्यूनीकरण गर्ने, परिवार र समाजबीचको सम्बन्ध सुमधुर बनाउने, सामाजिक सेवामा जनसहभागिता बढाउने, दुव्र्यसनमुक्त समाज निर्माण गर्ने लगायतका १४ वटा उद्देश्यको सूची बनाइएको छ । यस्तै मानवीयताको सहर निर्माणका लागि मुख्य ९ र सहायक ८ सूचीसमेत पेश भएको छ । “सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गर्न प्रस्ताव गरेका छौं,” मानवसेवा आश्रम चितवनकी संयोजक सुशीला केसीले भनिन्, “मानवीयताको सहरको रूपमा विकास गर्न स्थानीय तहको पहलकदमी आवश्यक छ ।”
मानवसेवा आश्रमले सहयोगापेक्षी मानवको उद्धार, उपचार, पालनपोषण एवं पारिवारिक पुनर्मिलनको सेवा सञ्चालन गर्दै आएको छ । एक गास भोजन र एकसरो कपडाको अभावमा सडकपेटीमा संघर्षरत नागरिकको उद्धारका लागि मानवीय सहर बनाउन आवश्यक रहेको उनले बताइन् । महानगरका जनप्रतिनिधिलाई मानवसेवा आश्रमले गरेका गतिविधि जानकारी गराउँदै सडकमा कष्टकर जीवनयापन गरेकाको उद्धार गर्न ध्यानाकर्षण गराइएको थियो । महानगरलाई ३ पटकसम्म मानवीयताको सहर निर्माणका लागि अवधारणापत्र पेश भए पनि हालसम्म कुनै काम हुन सकेका छैन । “सहयोगापेक्षी सडक मानवमुक्त महानगर बनाउन आवश्यक नियम र तरिका निर्माण गर्नुपर्छ,” मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले भने, “घोषणा गरौं, मानवीयताको सहर निर्माणमा हातेमालो गरौँ ।” २०७२ सालमै सर्वोच्च अदालतले स्थानीय तथा केन्द्रीय सरकारलाई दुःखी, असाहयलगायतका सहयोगापेक्षीको अभिभावक बन भनेर परामादेश भइसकेको अवस्था छ”, उनले भने, “३ नम्बर प्रदेशले आफ्नो नीति तथा कार्यक्रममा प्रदेशलाई नै सहयोगापेक्षी सडक मानवमुक्त बनाउने लक्ष्य लिएको छ । यी कार्यान्वयन हुनुपर्छ ।” उनले भरतपुर महानगरको सहकार्यमा सञ्चालित मानवसेवा आश्रमका रूपमा अघि बढ्न चाहेको बताए । महानगरले आश्रमको अभिभावकत्व लिएमा उद्धार तथा उपचारमा सहजता आउने बताए । आश्रमले हाल दाताको सहयोगका भरमा उद्धार तथा रेखदेख गर्दै आएको छ ।