स्थानीय तहले हिसाव बुझाएनन्

बाजुरा-बाजुराका स्थानीय तहले गत आर्थिक वर्षको आयव्यय नबुझाउँदा कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई समस्या भएको छ । जिल्लाका सरकारी कार्यालयहरूले खर्चको विवरण बुझाए पनि ९ वटै स्थानीय तहले भने आफ्नो फाँटबारी नबुझाउँदा समस्या भएको हो । निकास शीर्षकअनुसार खर्च मिलाउन नसक्दा फाँटबारी बुझाउन नसकेका हुन् । नियमअनुसार स्थानीय तहले असार ३० गतेसम्म खर्चको विवरण बुझाइसक्नुपर्ने हुन्छ ।
आर्थिक बर्ष २०७४-७५ को झन्डै ३८ करोड रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाजुराका कोष नियन्त्रक विष्णुदत्त जोशीले बताए । “जिल्लामा गत आर्थिक वर्षमा चालू तथा पुँजीगत दुवैतर्फ गरी ३८ करोड ९७ लाख १९ हजार २ सय ३२ रुपैयाँ खर्च हुँन नसकी फ्रिज भएको हो,” उनले भने, “स्थानीय तहको अझै हिसाब आउन सकेको छैन ।”
कोष नियन्त्रक जोशीका अनुसार स्थानिय तहमा जनप्रतिधिको दबाबमा कर्मचारीले काम गर्दा नीति नियमअनुसार खर्च नभएकाले प्रशासकीय अधिकृत र लेखापालले हिसाव मिलाउन नसकेका हुन् । कार्यालयले साउन १५ गतेसम्म अनिवार्य हिसाब बुझाउन भनेर सबै स्थानीय तहमा परिपत्र गरे पनि कसैले पनि खर्चको फाँटबारी बुझाएका छैनन् । “खर्चको फाँटबारी जथाभावी हुँदा नियम संगत हुँदैन,” कोष नियन्त्रक जोशीले भने, “चाँडो बुझाउभन्दा लेखापालहरू फोनबाटै रुन्छन् ।”
स्थानीय तहमा काम गर्ने लेखा र प्रशासनका कर्मचारीहरू चेपुवामा परेका देखिन्छन् । “प्रकृयागतरुपमा नआएका बिल भुक्तानी गर्ने हो भने पछि कानुनी झमेलामा पर्ने डर छ, नगरौं भने उपभोक्ताले गरीखान दिँदैनन्,” नाम नखुलाउने सर्तमा एक लेखापालले गुनासो गरे ।
योजनाको काम नै सम्पन्न नगरी राजनीतिक आस्थाका आधारमा रकम भुक्तानी गर्दा समस्या भएको हो । “फिल्डमा एक लाखको काम भएको छ तर १० लाखसम्म भुक्तानी भएको छ,” नागरिक अगुवा शेरबहादुर शाहीले भने । त्रिवेणी नगरपालिकामा मात्र २७ वटा योजनामा यसरी रकम भुक्तानी भएको छ ।
चालू खर्चतर्फ विनियोजित कूल ३ अर्ब ३० करोड ६३ लाख ९६ हजार ४ सय ३४ रुपैयाँ बजेटमध्ये ३ अर्ब ७६ करोड १८ लाख ७ हजार २ सय १८ रुपैयाँ मात्र खर्च भएको छ । चालू खर्चतर्फ कूल ९३.०३ प्रतिशत बजेट खर्च भएको छ । यस्तै पुँजीगततर्फ बाजुरामा ७३.७६ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगततर्फ विनियोजित ६० करोड ८० लाख ०१ हजार रुपैयाँ बजेटमध्ये ४४ करोड ८४ लाख ९१ हजार ८७ रुपैयाँ मात्र खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय बाजुराका अनुसार चालू खर्चतर्फ छुट्याइएको बजेटमध्ये २३ करोड २० लाख ९ हजार २ सय ८० रुपैयाँ फ्रिज भएको छ भने पुँजीगततर्फ १५ करोड ९५ लाख ९ हजार ९ सय ५२ रुपैयाँ फ्रिज भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयको प्रारम्भिक प्रतिवेदनअनुसार बाजुरामा यसवर्ष ७ करोड ८० लाख ४३ हजार ९ सय ५२ रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको तुलनामा ४७ प्रतिशतले राजस्वमा वृद्धि भएको हो ।
पदम सिंह