राहतका लागि आएको नौ करोड फिर्ता

झापामा गतवर्ष आएको बाढीले किसानको करोडौं रुपैयाँ बराबरको क्षति भएपछि राहतका लागि जिल्ला कृषि विकास कार्यालय मार्फत आएको कार्यक्रमको ९ करोड रुपैयाँ फिर्ता भएको छ । गतवर्ष बाढीबाट प्रभावित झापाका किसानहरूलाई लक्षित गरेर कृषि विकास रणनीति अनुगमन तथा समन्वय शीर्षकमा १२ करोड १४ लाख रुपैयाँ विभिन्न शीर्षकसहित बजेट आएकोमा ३ करोड रुपैयाँ खर्च भए पनि बाँकी रकम खर्च हुन नसकेर फिर्ता भएको जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख प्रकाशकुमार डाँगीले बताए ।
रासायनिक मल वितरण गर्न आएको २ करोड ७९ लाख, प्राङ्गारिक मलका लागि आएको २ करोड ३० लाख, सोयल कन्डिसनरका लागि आएको १ करोड ७५ लाख रुपैयाँ फिर्ता गएको कार्यालयका प्रमुख डाँगीले बताए । उनले बजेट आए पनि मल वितरण तत्काल रोक्न भनेर माथिबाट नै आदेश आएपछि त्यो कतिपय काम कसरी गर्ने भनेर स्पष्ट नपठाइएका कारण र कतिपय सम्बन्धित विभागबाट नै काम रोक्न भनेपछि रकम खर्च नभएको जानकारी दिए ।
तीन करोडभन्दा बढीको लगानीमा बाढी प्रभावित क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो । बाढी प्रभावित झापा, बाह्रदशी, कमललगायतका गाउँपालिकासहित विभिन्न स्थानीय तहहरूमा अन्न भण्डार गर्नका लागि किसानलाई एक हजार सिडवीन वितरण गरिएको बताइएको छ ।
त्यसैगरी किसानहरूका लागि १२ हजार ‘हर्मेटिक ब्याग’ वितरण भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । ‘हर्मेटिक ब्याग’ लाई सुपर ग्रेन ब्याग पनि भनिन्छ । यो ब्याग बजारमा पाइने सामान्य किसिमको प्लास्टिक ब्याग जस्तै देखिए पनि त्यसभन्दा नितान्त फरक किसिमले तयार पारिएको हुन्छ । यसको प्रयोग अनाज तथा बीऊहरू भण्डारण गर्नका लागि मात्र गरिन्छ । यो १० वर्षभन्दा बढी टिक्ने गरेको विज्ञहरू बताउँछन् ।
त्यसैगरी जिल्लाभर आठ वटा हाइटेक नर्सरी निर्माण गर्न किसानलाई अनुदान उपलब्ध गराइएको थियो । झापाको मेचीनगरमा दुईवटा, भद्रपुरमा दुईवटा, अर्जुनधारा, शिवसताक्षी र बिर्तामोड नगरपालिकामा एक–एक वटा र बुद्धशान्ति गाउँपालिकामा एउटा हाइटेक नर्सरी बनाइएकोे कार्यालयका प्रमुख डाँगीले बताए । एकैसाथ एकवर्षमा यति धेरै हाइटेक नर्सरी स्थापना भएको झापा पहिलो जिल्ला हो ।
तुलसीप्रसाद निरौला