सेयर बजार किन सुस्तायो ? «

सेयर बजार किन सुस्तायो ?

बैंकिङ समूहमा केही विकास बैंक र लघुवित्त संस्थाबाहेक सबैले प्रतिफल राम्रो गरिरहेका देखिन्छन् ।

केही दिनयता सेयर बजारमा सुस्तता आएको छ । महिना दिनयता करिब १२०० अंक वरिपरि नै घुमिरहेको सेयर बजार यतिखेर सूचीकृत कम्पनीहरूको वित्तीय विवरण सार्वजनिक हुँदा पनि किन पुरानै लयमा रहेको छ ? कसैले बुझ्न सकेको छैन । असारको अन्त्यतिर सार्वजनिक खर्चमा अत्यधिक वृद्धि भएर बैंकहरूमा तरलता बढेको छ, तर त्यो यथेष्ट तरलताको सकारात्मक असर अर्थतन्त्रमा पर्न सकेको छैन । कर्जा अझै महँगिएकै छ । यसले थप कर्जा विस्तारमा चुनौती थपेकै छ । पुँजी वृद्धिका हिसाबले व्यवसाय बढाउनुपर्ने लक्ष्यअनुरूप व्यवसाय बढ्न सकेको छैन । सेयर बजार र बैंकिङ प्रणाली अर्थतन्त्रले चाहेको गतिअनुसार अगाडि बढ्न सकेका छैनन् ।
मिडियामा सेयर बजारप्रति टीकाटिप्पणी हरेक दिनजसो भेटिन्छन् । निकायहरूबाट सेयर बजारलाई आड दिने कुनै भरोसा नआएको गुनासो व्यापक छ । लगानीकर्ताको अपेक्षाविपरीत बजार चलेपछि उत्साह घट्दै गइरहेको बताइएको छ । वास्तवमा पुँजीबजारलाई त्राण दिने खालको नीति र कार्यक्रमको खोजी लगानीकर्ताले सरकारबाट गरेका थिए । तर, पुँजीबजार लक्षित कुनै पनि ठोस कार्यक्रम लगानीकर्ताहरूको हितमा नआएकाले साउनको महिना भए पनि लगानीकर्ता हतास बनेका छन् । एउटै लयमा धेरै दिनमा नेप्से चलिरहनुले सेयरको लगानीमा लगानीकर्ताहरू उदासीन रहेको देख्न सकिन्छ । अर्बौं ब्याज कमाउने वाणिज्य बैंकहरूको सेयर पनि ३ सय रुपैयाँ तल आइपुगेको छ । केहीको त आधारभूत मूल्यकै आसपासमा आइसकेको छ ।
सूचीकृत कम्पनीहरूको वित्तीय विवरण आउने क्रम जारी छ । बैंकिङ समूहमा केही विकास बैंक र लघुवित्त संस्थाबाहेक सबैले प्रतिफल राम्रो गरिरहेका देखिन्छन् । सहज भइरहेको तरलतामा कर्जाको ब्याजदर पनि बिस्तारै समायोजन भइरहेको बैंकहरूले बताए पनि यसको असर सेयर बजारमा देखिएको छैन । बजार घट्नुमा सेयरको आपूर्ति बढ्नुलाई मात्रै लिइएको छ । सेयरको कारोबारमा लगानीकर्ताहरू आकर्षित र उत्साहित नहुनुमा आपूर्ति बढ्नुका अतिरिक्त अरू धेरै अन्तरनिहीत कारणहरू रहेका छन् । यसका सेयर बजारका सरोकारवालाहरूको सूक्ष्य अध्ययन र समीक्षा गर्नु श्रेयष्कर हुन्छ ।
सेयर बजारका प्रमुख सरोकारवालाहरू भनेका सेयर लगानीकर्ताहरू नै हुन् । कार्य प्रकृतिअनुसार सूचना, जानकारी र तथ्यांक लिएर लगानी गर्नेहरूलाई बुद्धिमानी (-यासनल) सेयर लगानीकर्ताका रूपमा लिइन्छ भने बजारको ट्रेन्ड हेरेर वा अरूलाई पछ्याएर लगानी गर्ने अर्का थरी लगानीकर्तालाई लिक्विडिटी इन्भेस्टर भनिन्छ । नेपालको विगत तीन वर्षयताको सेयर बजारमा आएको उछालले आफ्नो सम्पत्ति बेस्सरी बढाउनेमा लिक्विडिटी इन्भेस्टरहरू नै बढी रहेको देख्न सकिन्छ । उनीहरूले अरूकै प्रभाव र पैसाको व्यवस्थापनमार्फत आफ्नो कारोबारलाई सन्तुलनमा राखेर कमाइरहेका हुन्छन् । तर, सेयरमा लगानी गरेर डुबेको कथा बुझ्दा सेयर लगानीकर्ता छुट्ट्याउने एउटै पाटो छ, त्यो हो— कारोबार गर्ने रकमका आधारमा अर्थात् ठूला र साना लगानीकर्ता । केही लाखको कारोबार गर्नेहरू साना लगानीकर्ता हुन्छन् भने करोड–करोडको कारोबार गर्नेहरू ठूलामा पर्छन् ।
अब, बजार तल हुँदै जानु या स्थिर अवस्थामा रहनुपछाडिको रहस्यमा ठूला र साना लगानीकर्ताकै तुलना गरे पुग्छ । सेयर दलालको कार्यालयबाट हरेक दिन हुने किनबेचको कारोबारमा कुन ब्रोकरले कुन कम्पनीको कति किन्यो र कसले कति बेच्यो । कसले कति मूल्यमा त्यही सेयर फेरि अर्को दिन किन्यो र कसले फेरि बेच्यो भन्ने कुराको सूक्ष्म र कडा निरूपण गरेमा सेयर खरिद–बिक्रीमा म्याचिङ र ठूला लगानीकर्ताको चलखेल अवश्य नै देखिनेछ । बजारमा लगानीकर्ताहरूको उत्साह नदेखिनुमा आपूर्ति नै मुख्य कारक छँदैछ, त्यसभन्दा पनि ठूला लगानीकर्ताको चलखेल भन्नुमा अत्युक्ति नहोला ।
अहिले ठूला लगानीकर्ताहरूले सेयर कारोबार गरेकै छैनन् । उनीहरूले सेयर बेचेको पैसा जग्गाजमिन खरिद र बैंकमा निक्षेपका रूपमा राखेका छन् । सेयर बजारमा बजार घटाउन र बढाउन हमेसा साना लगानीकर्ताहरूको मनोबलसँग खेल्ने गरिन्छ । उनीहरूको मनोदशा कस्तो हुन्छ ? के–कति कारणले बजार बढ्न सक्छ भन्ने मनोविज्ञान प्रयोग गरेर सेयर बेचाउनका लागि बजार घटाइन्छ । यसमा ठूला लगानीकर्ता, सेयर दलालको अफिसमा कारोबार गर्ने कर्मचारी र स्वयं दलालको भूमिका अछुतो रहेको छैन । ठूलो मात्रामा सेयर किन्नका लागि सेयर घटाउनै पर्ने ठूला लगानीकर्ताहरूको सामूहिक प्रयास हुन्छ । त्यो प्रयासमा सबैले होस्टेमा हैंसे गर्छन् तुलनात्मक लाभका लागि । यसैको बीचमा पिल्सिन्छन् साना लगानीकर्ता ।
फेरि, पुँजीबजारको विकासकै लागि भनेर इजाजत लिएका जोखिमरहित म्युचुअल फन्डहरूले सेयर खरिदमा देखाएको उदासीनता कसैबाट लुकेको छैन । बजारको वृद्धिदर पछ्याउने लिक्विडिटी इन्भेस्टरहरूका लागि म्युचअल फन्ड र ठूला लगानीकर्ताहरूले सेयर खरिद नै नगर्दा हतोत्साहित हुने स्वभाविकै हो । उनीहरूले लगानी नगरेर बैंकमा निक्षेपका रूपमा पैसा राखिदिनाले पनि लगानीकर्ताको मनोबल नबढेको हो ।
अर्को मनोदशा भनेको सरकारले लिने नीति, कार्यक्रम र नियामकहरूको नीति, निर्देशन । यसैको हवाला दिएर पनि ठूला लगानीकर्ताले चलखेल गर्छन् । बजारमा उत्साहका लागि वित्तीय लगानी आवश्यक छ । सेयरमा लगानीको सन्तुलनता कायम गरेर अर्थतन्त्रलाई सही दिशामा लैजाने जिम्मा केन्द्रीय बैंकको हुँदा उसले लिएको कतिपय नीति र निर्देशनले पनि सेयर बजारमा प्रत्यक्ष प्रभाव परिरहेको छ । पुँजी वृद्धि, मार्जिन लेन्डिङको सीमा, मार्जिन कलको संशोधित व्यवस्था आदि नयाँ नियमले पनि सेयर बजार प्रभावित नभएको मान्न सकिन्न । त्यस्तै, सेयर बजारमा प्रभाव पार्ने अर्को ठूलो कारण भनेको सूचीकृत कम्पनीका सञ्चालक तथा व्यवस्थापनबाट नै सूचनाको चुहावट भएर ठूला लगानीकर्तासम्म पुगेर हुने ठूलो प्रभाव । धेरैजस्तो सञ्चालक तथा व्यवस्थापनमा रहेका कर्मचारीहरूबाट संवेदनहीनता र नियमविपरीतका आचरणका कार्यहरूबाट वित्तीय विवरणमा हुने परिवर्तन, कम्पनीका योजना नियामक निकायमा स्वीकृति हुनुअघि र साधारणसभा हुनुअघि नै बाहिर सार्वजनिक हुने कारणले सेयर बजारको मूल्यमा अत्यधिक उतारचढाव देखिएको छ । त्यसरी भएको क्रियाकलापको मूल्य हमेसा साना लगानीकर्ताले तिर्नुपरेको इतिहास छ ।
केही बैंकमा मार्जिन प्रकृतिका लोनको सीमा अझै नपुगेकाले ग्राहक खोजिरहेका छन् । उनीहरूले धितोपत्र दलालहरूलाई फोन गरेर राम्रा सेयर कारोबारीहरू सिफारिस गर्न भनेको सुनिएको छ । नेपाल राष्ट्र बैंकले सेयर मूल्य २० प्रतिशतले घटेपछि मात्र मार्जिन कल गर्ने व्यवस्था गरेपछि सेयर लगानीकर्ताहरूले केही राहत पाएका छन् । अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेकाले ब्याज करिडरको सीमा राख्नका लागि नेपाल राष्ट्र बैंकले धमाधम बजारबाट पैसा झिकिरहेको छ । विभिन्न कारणले गर्दा सरकारले पनि पैसा बजारबाट तानिरहेको देखिन्छ । यी सबै परिदृश्यको असर सेयर कारोबारमा पनि परेको छ । तर, मुख्य कारणचाहिँ बैंकहरूबाट कर्जा अझै सस्तो दरमा नपाइनु नै हो । यसको प्रत्यक्ष असर सेयर कारोबारको विस्तारमा परेको छ र यसले सेयर बजारको विस्तारलाई रोकेको छ ।
सेयर बजारको अधोगतिमा लगानीकर्ताहरूको मनोवृत्ति पनि अर्को मुख्य कारण रहेको छ । छिटो नाफा कमाउने होडबाजीले लगानीलाई धैर्यताका साथ नलगाउने बानी भएका लगानीकर्ताहरूको हाबी बजारमा रहेको छ । कतिपय समीक्षकले लगानीकर्ताहरूको आत्मविश्वास, पूर्वाग्रह, तार्किक क्षमताजस्ता मनोवैज्ञानिक तथ्यहरूको प्रत्यक्ष असर परेकाले लगानी गर्नेतर्फ गम्भीर नभएका कारण पनि बजार ओरालो लागेको बताएका छन् । मनोवैज्ञानिक कुरा पछि आउँछ । पहिलो, कुन कुराले लगानीकर्तालाई परिवर्तन गर्न बाध्य तुल्यायो त्यसको अध्ययन गर्नु जरुरी छ ।
राज्यले पुँजीबजारलाई उत्पादक क्षेत्रमा गणना गर्नुको विकल्प छैन । किनकि सरकारको अहिलेको जोड व्यापारघाटा कम गर्नैका लागि उत्पादनको आधारशिला बढाउने भन्ने छ । त्यसका लागि कृषि र पशुपालनमा आधारित उद्योगधन्दाहरूको विकास गर्नैपर्ने सर्त हो । यस्तो विकासका लागि उत्पादनशील क्षेत्रका उद्योगहरूलाई पनि स्टक एक्सचेन्जमा अनिवार्य रूपमा सूचीकृत गर्नुपर्छ । यसबाट प्राथमिकतामा रहेका उत्पादनशील क्षेत्रका लागि पुँजीको सुनिश्चितता हुन जान्छ । त्यस्तै, सरकारले पुँजीबजारको विकासका लागि कुनै खास नीतिगत व्यवस्था गर्नुपर्ने कार्यका अतिरिक्त सेयरका मुख्य खेलाडी र बजारको चाललाई नियमित अध्ययन गर्नुपर्छ । यस्तो अध्ययनबाट प्राप्त परिणामहरूलाई बजारको विकास लागि सुझाव र मार्गदर्शनका रूपमा अगाडि बढाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्