जाइकाद्वारा विपद् व्यवस्थापन पार्क निर्माणमा सहयोग

जाइकाले ललितपुर महानगरपालिकालाई गुइत दोमार विपद् व्यवस्थापन पार्क निर्माणमा प्राविधिक सहयोग गर्ने भएको छ ।
पार्कको शिलान्यास ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र जाइका नेपालका प्रमुख जुन साकुमाले शनिबार संयुक्त रूपमा गरेका छन् । पार्क निर्माणको मुख्य उद्देश्य अस्थायी निस्क्रमण क्षेत्र तथा उद्धार कार्यमा सहयोग पुर्याइ विपद् व्यवस्थापन सुविधाको उपयोग गर्नु हो । पार्कको निर्माणसँगै विपद् व्यवस्थापन केन्द्रको दुई तले भवन, खुला मञ्च, २० वटा शौचालय, तीनवटा शौचालय ट्यांकी, ८० हजार लिटर तथा १५ सय लिटरको पानी ट्यांकीसमेत निर्माण गरिनेछ । यी सबै निर्माणको कुल लागत २ करोड ७० लाख हुनेछ र २०१८ को सेप्टेम्बर महिनासम्ममा निर्माण सम्पन्न गरिनेछ ।
समारोहमा मेयर महर्जनले जापान सरकार र जाइकालाई धन्यवाद दिँदै ललितपुर महानगरपालिकाको दिगो विकासमा यो योजना निकै महत्वपूर्ण भएकाले विकासका अन्य कार्य पनि अगाडि बढाउने बताए । यस्ता पार्क बनाउने सोच जाइकाले आफ्नो ‘काठमाडौँ उपत्यका उत्थानशील योजनामा’ पनि प्रस्ताव गरेको थियो । सोअन्तर्गत भविष्यमा हुनसक्ने भूकम्पहरूको विपद जोखिम न्यूनीकरण गर्दै जाने हो । उक्त योजनामा आपतकालीन सडक सञ्जालको निर्माण तथा सुरक्षित पुल, आवास र अरु भवन पनि रहेको छ । जाइकाद्वारा प्रदान गरिएको भूकम्प पश्चातको पुनरुत्थान तथा पुनर्निर्माणका सहयोगअन्तर्गत, साना सार्वजनिक पूर्वाधारहरूको पुनर्निर्माण ‘शीघ्र पुनर्लाभ परियोजना’ मार्फत कार्यान्वयन गर्दै आएको छ । उक्त परियोजनाको मुख्य उद्देश्य बलियो पूर्वाधार निर्माण गर्ने हो जुन अझ सुद्घृढ पुनर्निर्माणको अवधारणामा आधारित छ । शीघ्र पुनर्लाभ परियोजनाको अर्को मुख्य उद्देश्य विपद जोखिम न्युनीकरण सबलीकरण गर्दै स्थानीय सरकारको क्षमता वृद्धि गर्ने हो ।
समारोहमा जाइकाले भूकम्पपछिको पुनर्निर्माणमा आफ्नो प्रतिबद्धता निरन्तर रहने जनाउँदै नेपालको विकासमा सहकार्य गर्दै नेपाल–जापानबीचको सुमधुर सम्बन्ध अझ बलियो बनाउँदै लैजाने बताए ।