Logo

ढोरपाटन स्वास्थ्य क्लिनिकमा शिलबन्दी

म्याद नाघेका औषधि प्रयोग गरी उपभोक्ता ठगेको आरोपमा बालाजुस्थित ढोरपाटन स्वास्थ्य क्लिनिकलाई शिलबन्दी गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा बिहीबार गएको बजार अनुगमन टोलीले क्लिनिकमा शिलबन्दी गरेको हो ।
अनुगमनका क्रममा म्याद नाघेका औषधि फ्रिजमा राखेको फेला परेपछि सो क्लिनिकमा शिलबन्दी गरिएको विभागका शाखा अधिकृत दिपकराज पोखरेलले जानकारी दिए । व्यवसाय दर्तासँग सम्बन्धित कागजात नवीकरण नभएको र उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर पार्ने म्याद नाघेको औषधि प्रयोग गर्न फ्रिजमा राखेको भेटिएपछि क्लिनिकलाई शिलबन्दी गरिएको उनले जानकारी दिए । म्याद नाघेका सामान फ्रिजमा राख्नुको कारणसहित २४ घन्टाभित्र उपस्थित हुन निर्देशन दिइएको विभागले जानकारी दिएको छ ।
क्लिनिकले वैदेशिक रोजगारीमा जाने युवायुवतीको स्वास्थ्य परीक्षण गर्दै आएको थियो । म्याद नाघेका औषधि प्रयोग गरी उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने सो क्लिनिकलाई थप कारबाहीका लागि शिलबन्दी गरिएको विभागले जानकारी दिएको छ । यस्तै विभागले १० वर्षदेखि दर्ता नगरी सञ्चालन गरेको गांगबुमा रहेको परिवार स्वास्थ सेवा केन्द्रमा पनि शिलबन्दी गरेको छ । विभागले स्वास्थ्य क्लिनिकसँगै विभिन्न खाद्य तथा किराना पसलमा अनुगमन गरेको थियो ।
लामो समयदेखि रोकिएको बजार अनुगमन केही दिनयता सक्रियरुपमा अगाडि बढेको छ । बजारमा हुने कालोबजारी, ठगी, तौलमा कमी, म्याद नाघेका सामान, लेबल नभएका सामान बिक्री नियन्त्रण गर्न विभागले नियमतिरुपमा बजार अनुगमन गरिरहेको जानकारी दिएको छ । पछिल्लो समय बजारमा व्यवसायीले पसल पिच्छे फरक–फरक मूल्य लिई उपभोक्ता ठगिरहेका छन् । विभागले नियमितरुपमा बजार अनुगमन गरे पनि उपभोक्ता ठग्ने व्यवसायीलाई कारबाही नहुँदा बजार व्यवस्थित र मर्यादित बन्न नसकेको उपभोक्ताको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्