Logo

बाघको बासस्थान संरक्षणमा जोड

काठमाडौं-सरोकारवालाले बाघको बासस्थान संरक्षणमा जोड दिएका छन् । आठौं अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा खुमलटारस्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा आयोजित कार्यक्रममा बाल्दै सरोकारवालाले बाघको संरक्षण गर्न बासस्थानको पनि संरक्षण गर्न आवश्यक रहेको बाताएका हुन् ।
सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ पाइने १३ देशको सम्मेलनले जुलाई २९ लाई अन्तर्राष्ट्रिय बाघ दिवसको रूपमा मनाउने निर्णय गरे अनुसार हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । सम्मेलनले सन् २०२२ सम्ममा विश्वमा बाघको संख्या दोब्बर बनाउने लक्ष्य पनि निर्धारण गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बाघ संरक्षणका लागि बासस्थानको संरक्षण र अनुसन्धानलाई पनि महत्व दिन आवश्यक रहेको बताएका छन् । “पछिल्लो समय मानिसमा बाघ जोगाउनुपर्छ है भन्ने जनचेतनाको विकास हुन थालेको छ,” उनले भने, “हाम्रो क्षमता, पारिस्थितिकीय अवस्था र आवश्यकताले कति बाघको संरक्षण गर्न सक्छौं, अनुसन्धान पनि हुन आवश्यक छ ।”
योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले बाघको वैज्ञानिक अध्ययन अनुन्सधानलाई अझै प्राथमिकता दिएर अगाडि बढ्ने योजना रहेको बताए ।
वन मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले बाघ संरक्षणमा स्थानीय जनताको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । “बाघ संरक्षणमा योगदान स्थानीयको बढी हुन्छ, तर बाघ र मानवबीचको द्वन्द्व रोकिएको छैन,” उनले भने, “बाघ र मानव द्वन्द्वलाई सरकारले क्षतिपूर्तिको व्यवस्था त गरेको छ नै तर क्षतिपूर्तिभन्दा पनि घटना नै हुन नदिने उपाय सोच्नुपर्छ ।”
विश्वमा अहिले झण्डै साढे तीन हजारको हाराहारीमा बाघ रहेका छन् । सन् २०१३ मा भएको गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया निकुञ्जमा ५०, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १७, पर्सा वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्र तथा आसपासका वन क्षेत्रमा ७, बाँके र आसपासका मध्यवर्ती क्षेत्रमा ४ गरी नेपालमा बाघको संख्या १९८ पुगेको थियो । त्यसअघि सन् २००९ को गणनामा बाघको संख्या १२१ थियो । नेपालमा हरेक चार वर्षमा बाघ गणना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्