आज विश्व बाघ दिवस मनाइँदै «

आज विश्व बाघ दिवस मनाइँदै

चितवन-समृद्धिका लागि बाघ संरक्षण भन्ने नाराका साथ आज (आइतबार) विश्व बाघ दिवस मनाइँदै छ । विभिन्न संरक्षणमूलक संघसंस्था, निकुञ्ज विभागलगायतले विभिन्न कार्यक्रम गरी विश्व बाघ दिवस मनाउँदैछन् ।
नेपाल सरकारले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएको छ । संरक्षण कार्यले व्यापकता पाएसँगै बाघको संख्या बढ्दै गएको अनुमान छ । बाघ दिवसकै अवसरमा निकुञ्ज विभागले नेपालमा पछिल्लो पटक गरिएको गणनामा के कति बाघ छ भन्ने संख्या सार्वजनिक गर्दैछ । यसअघिको गणनामा नेपालमा १९८ वटा बाघ रहेको तथ्यांक छ । त्यसमध्ये पनि १२० वटा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै छन् । त्यस्तै बर्दिया, पर्सा, शुक्लाफाँटा, बाँकेमा पनि बाघ पाइन्छ । सरकारले १२५ वटा गंैडालाई रेकर्ड मानेर सन् २०२२ सम्म यसको संख्या दोब्बर बनाउने लक्ष्य लिएको हो ।

बासस्थान कम हुँदा बाघ संरक्षणमा चुनौती

यसको आधारमा यो अवधिमा नेपालमा बाघको संख्या २५० पुराउनु पर्ने हुन्छ । नेपालभर रहेको बाघको संख्यामध्ये चितवन निकुञ्जमा आधाभन्दा बढी छ । तर यहाँ गुणस्तरीय बासस्थान नहुनु चुनौतीपूर्ण रहेको चितवन राष्ट्रिय निकुञ्ज पूर्वीसेक्टर प्रमुख सहायक संरक्षण अधिकृत अभिनय पाठक बताउँछन् । “चितवन निकुञ्जमा बाघको चोरी शिकार शून्य छ,” पूर्वीसेक्टर प्रमुख पाठकले भने, “तर यसको गुणस्तरीय बासस्थान कम हुँदा संरक्षणमा चुनौती देखिएको छ ।” निकुञ्जभित्र पर्याप्त मात्रामा घाँसे मैदान र पानी पोखरीको व्यवस्थापन हुन सकेको छैन । त्यसको असर बाघलाई परेको छ । निकुञ्जभित्र १० हजार हेक्टर घाँसे मैदान भए पनि व्यवस्थापनका लागि करिब ३ सय हेक्टरलाई मात्रै बजेट तथा कार्यक्रम आउने गरेको सहायक संरक्षण अधिकृत पाठकले बताए । १० हजार हेक्टर घाँसे मैदानमा पनि पछिल्लो समय केही क्षेत्रफल घटेको अनुमान छ ।
बासस्थानको क्षेत्र कम हुँदा गत वर्ष ६ वटा बाघ प्राकृतिक कारणले मरेका थिए । सीमित क्षेत्र बनाएर बाघ बस्ने गर्दा एक ठाउँकालाई अर्को बाघले आक्रमण गर्ने हुँदा बाघ मरेको उनले बताए । “चितवन निकुञ्ज बाघका लागि उपयुक्त स्थान भएकै कारण पनि यहाँ बाघको संख्या धेरै रहेको हो,” सहायक संरक्षण अधिकृत पाठकले थपे, “तिनीहरूका लागि आवश्यक आहार, घाँसे मैदान, बासस्थानले गर्दा चुनौती छ ।” निकुञ्जअन्तर्गतको मध्यवर्ती सामुदायिक वन र जिल्ला वन अन्तर्गतका सामुदायिक वनमा घाँसे मैदान र पानी पोखरी निर्माण गर्न थालेकाले निकुञ्जका बाघ यतातर्फ केन्द्रितसमेत हुन थालेका छन् । विश्व बाघ दिवसको अवसरमा आइतबार (आज) टिकौलीस्थित बरण्डाभार जैविक मार्गमा बाघ संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम हुँदैछ । बरण्डाभार जैविक मार्ग हुँदै बाघ वारपार गर्ने भएकाले चालकहरूका लागि सचेतना दिनुका साथै सरसफाइ कार्यक्रम राखिएको बाघ संरक्षण उपसमितिका संयोजक जितु तामाङले जानकारी दिए । उनका अनुसार बाघ दिवस उत्सवको रूपमा मनाइँदै छ । नेपाल सरकारले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएसँगै सौराहामा जनस्तरबाट बाघ संरक्षण उपसमिति गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्