नेपाली कामदार रोकिँदा मलेसियामा चिन्ता «

नेपाली कामदार रोकिँदा मलेसियामा चिन्ता

नेपालले मलेसियातर्फ कामदार पठाउन रोक्दा त्यहाँको उद्योग व्यवसायमा कामदार अभाव हुनसक्ने जनाउँदै मलेसिया सरकारले चिन्ता जनाएको छ । मलेसियाका मानव संशाधनमन्त्री एम. कुलासेगरनले नेपाली युवालाई सहजरूपमा मलेसिया आउने वातावरण बनाउन गृहकार्य सुरु गरेका छन् ।
मलेसियाली सञ्चारमाध्यमहरूले जनाएअनुसार नेपाली कामदारलाई मलेसिया जान रोक लगाइएको सम्बन्धमा नेपालभन्दा मलेसिया सरकार धेरै चिन्तित देखिएको छ । नेपाली कामदारलाई विभिन्न सेवा शुल्कको नाममा ठगी गरेको जनाउँदै नेपाल सरकारले तत्कालका लागि नेपाली युवालाई मलेसिया पठाउन रोक लगाएको थियो । नेपाल सरकारले सबै प्रक्रिया मिलाएर युवालाई मलेसिया पठाउने सम्बन्धमा काम गरिरहेका बेला मलेसिया सरकारले नै छिटो कामदार पठाउन नेपालसँग अनुरोध गरेको छ ।
नेपाली युवालाई तत्कालका लागि मलेसिया जान रोक लगाएसँगै मलेसियाका मानव संशाधनमन्त्री कुलासेगरनले सोमबारसम्म नेपालका उच्च अधिकारीसँग छलफल गर्ने भएका छन् । मन्त्री कुलासेगरनले शनिबार नेपाली कामदार ल्याउने प्रक्रियालाई सुचारु गर्न मलेसिया विभिन्न सरकारी निकायसँग छलफल गरिरहेको त्यहाँको स्टार अनलाइन र एफएमटी न्यूजलाई बताएका छन् । नेपाली कामदारलाई मलेसिया पठाउने सम्बन्धमा कुनै समस्या भए आपूm नेपाल भ्रमण गर्नसक्ने सम्भावना रहेको समेत उनले बताएको समाचारमा जनाइएको छ ।
नेपाली कामदार मेहनती र इमान्दार भएको जनाउदै मलेसिया सरकारले रोजगारीका लागि मलेसिया आउने युवालाई तत्काल ल्याउन पहल गरिहेको जनाएको छ । विभिन्न सेवा शुल्कको नाम भएको ठगी नियन्त्रण गर्न सरकारले नेपाली युवालाई मलेसिया जान रोक लगाएपछि त्यहाँका कम्पनीमा जनशक्ति अभाव भएको मन्त्री कुलासेगरनले बताएका छन् । मलेसिया सरकारले तत्काल नेपाली कामदार नपठाउने निर्णय पुनरावलोकन गर्न नेपाललाई आग्रहसमेत गरेको छ । “नेपाली कामदारहरू आउने कुनै न कुनै वैकल्पिक संयन्त्र बनाउँछौं,” मन्त्री कुलासेगरनले भने, “मलेसियामा नेपाली कामदार नआए उद्योगमा जनशक्ति अभाव हुने छ ।”
मलेसियामा इन्डानेसियापछि नेपाली कामदार धेरै रहेका छन् । नेपाली कामदार ल्याउन असजिलो भए जीटूजी सम्झौता गर्ने बारेमा समेत त्यहाँको मन्त्रिपरिषद्मा छलफल चलेको छ । मलेसियाको मानव संशाधन मन्त्रालयले विदेशी कामदार ल्याउन असजिलो भए भिसा र अन्य कागजातका प्रक्रिया सरकारी तवरबाट नै मिलाउन मन्त्रिपरिषद्को अनुमती माग गरेको एफएमटी न्यूजले शनिबार जनाएको छ । मलेसियामा हाल ५ लाख नेपाली कामदार रहेकामध्ये १ लाख ५० हजार सुरक्षा क्षेत्रमा कार्यरत रहेका छन् । मलेसियाका रोजगारदाताले उत्पादन क्षेत्रभन्दा सेवा क्षेत्रका लागि आवश्यक पर्ने नेपाली सुरक्षा गार्डको अभाव धेरै महशुस गर्ने गर्छन् ।
मलेसियास्थित नेपाली दूतावासले भने कामदार समस्याले मलेसियाको अन्तर्राष्ट्रिय छवीलाई समेत असर गर्नसक्ने र मलेसियाको विकसित मुलुक हुने योजनालाई सहयोग नगर्ने हुनाले मलेसियाले तत्परताका साथ् नेपाली श्रमिकहरूलाई परेको मर्कालाई बुझी समस्या समाधान गर्नु पर्ने धारणा राख्दै आएको छ । साथै मलेसियाको अध्यागमन विभागले स्वीकृति दिइसकेका वा कलिङ भिसा लागिसकेर बसेका नेपाली कामदारहरूलाई मलेसिया आउन मलेसिया सरकारले न्यूनतम भिसा शुल्क मात्र लिएर हाललाई दूतावासबाटै भिसा दिने वैकल्पिक व्यवस्था गर्न मलेसिया सरकारलाई अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्