तमोरमा लिफ्ट खानेपानी «

तमोरमा लिफ्ट खानेपानी

पाँचथर –कुम्मायक गाउँपालिकाको यासोक क्षेत्रमा तमोर नदीबाट लिफ्टिङ प्रविधिबाट खानेपानी आयोजना निर्माणाधीन छ । ३ वर्ष अघि सुरु भएको तमोर लिफ्ट खानेपानी अयोजनाको काम ७० प्रतिशत बाँकी छ ।
कुम्मायक गाउँपालिका १, ३, ४ र ५ का १३ हजार ८४० जनसंख्या लाभान्वित हुने यस आयोजनामा अहिलेसम्म ११ वटा मुख्य पानीको ट्यांकी निर्माण, १७.९ किलोमिटर पाइपलाइन निर्माणको काम, ९ वटा पम्प हाउस निर्माण र कार्यालय भवन निर्माण तथा विद्युत् प्रशारण गर्ने काम सम्पन्न भएको खानेपानी डिभिजन कार्यालयका इन्जिनियर रवीन्द्र रायले जानकारी दिए । ३ अजार ४३ घरघुरीलाई प्रतिसेकेन्ट २०.३८ लिटर पानी ल्याउने तयारी गरिएको निर्माण पक्षले जनाएको छ ।
१९३ किमि वितरण पाइप लाइनमध्ये १३७ किमिको निर्माणकार्य सकिएको निर्माण पक्षले जनाएको छ । जसमध्ये जीआई, एचडी पाइप जडान गर्ने काम भइरहेको छ । घरघरमा धारा पुराउँदै ९८ किमि वितरण लाइनको जडान गर्न बाँकी रहेको निर्माण कम्पनीले जानकारी दिएको छ ।
लिफ्टिङ प्रक्रियाबाट तमोर नदीबाट खानेपानी विस्तार गर्नका लागि विद्युत् प्रसारणका लागि पोल राख्ने काम धमाधम भइरहेको छ । लिफ्टिङ प्रक्रियाका लागि दैनिक ४५० किलोवाट विद्युत् आवश्यक पर्ने इन्जिनियर रायले बताए । यसका लागि कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारदेखि दोभानसम्म ८.८ किमिको ११ केभी विद्युत् प्रशारणलाइन बनाउनु पर्ने रायले बताए ।
कुम्मायक गाउँपालिकाका १, ३, ४ र ५ का १३ हजार ८४० जनसंख्या लाभान्वित हुने यस आयोजनाको कुललागत ५१ करोड ३० लाख २० हजार ५६८ छ । फाल्गुनसम्म सबै निर्माणकार्य सक्ने सम्झैता भएको छ । सुक्खा क्षेत्रको रूपमा रहेको यासोक, स्याबरुम्बाका बासिन्दालाई लामो दूरीमा रहेको मुहानबाट पानी बोक्नु पर्ने समस्या समाधान हुनेछ । त्यस क्षेत्रबाट बर्सेनि बढ्दै गरेको बसाइँसराइ पनि केही हदसम्म नियन्त्रण हुने स्थानीयको अपेक्षा छ ।

 

प्रतिक्रिया दिनुहोस्