सिमसार क्षेत्र संरक्षणमा रामग्राम नगरपालिका

सिमसार क्षेत्रको अतिक्रमण बढेको भन्दै पश्चिम नवलपरासी जिल्लाको सदरमुकाम रामग्राम नगरपालिकाले संरक्षणका लागि अभियान सुरु गरेको छ ।
नगरपालिका क्षेत्रमा मात्र ५० भन्दा बढी ताल तथा सार्वजनिक पोखरी छन् । नगरपालिकाले ताल संरक्षण गरेर आयआर्जन गर्ने योजना ल्याए पनि प्रभावकारी हुन नसकेपछि ठोस योजनासहित संरक्षण अभियान सुरु गरेको नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए । तालतलैया संरक्षणका लागि छुट्टै योजना नै बनाएर व्यवस्थित गर्ने प्रयास गरिरहेका छौँ । गुप्ताले भने, “व्यक्तिले भन्दा पनि सार्वजनिक कामका लागि ताल तलैया वरपरका जग्गाको संरक्षण गरेर आयआर्जनमा समेत टेवा पुराउने नगरको योजना छ ।”
यसैबीच पश्चिम नवलपरासीकै बर्दघाट नगरपालिका जहदामा रहेको पुरातात्विक एवं ऐतिहासिक महत्व बोकेको बुद्धमंगल तालको संरक्षणका लागि पनि उक्त नगरपालिकाले पहल सुरु गरेको छ । अहिले नगरपालिकाले नगरभित्रका सिमसार क्षेत्र र ताल तलैया संरक्षणका लागि कार्ययोजना नै बनाएर अगाडि बढेको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिए । बुद्धमंगल ताल गौतमबुद्धसँग सम्बन्धित ताल हो । बुद्ध भगवान् त्रिवेणीधाम र लुम्बिनी आवतजावत गर्ने क्रममा यस तालको कुटीमा एक रात बसेर भोलिपल्ट तालको पानी खाएर मात्र यात्रा गर्ने गरेको धार्मिक मान्यता रहिआएको छ ।
केही वर्ष अगाडि साविक जहदा गाविसले तालको व्यवस्थापन गरी माछापालन गर्न खोजे पनि ऐतिहासिक ताल भएकाले माछापालन गर्न नहुने जनआबाजले यसको व्यवस्थापन रोकिएको थियो । करिब १० देखि १२ बिघा क्षेत्रमा फैलिएको ताल वर्षांैदेखि अतिक्रमणको चपेटामा पर्दै अहिले सात बिगाहा क्षेत्रफलमा मात्र सीमित छ ।