स्थानीय तहमा आ–आफ्नै नियम «

स्थानीय तहमा आ–आफ्नै नियम

स्थानीय तहले आ–आफ्नै नियम बनाउन पाउने भएपछि इलामका गाउँ तथा नगरपालिकाहरूले छुट्टाछुट्टै विधेयक पारित गरेका छन् । जिल्लाका स्थानीय तहहरूले होडबाजीकै रूपमा नयाँ कार्यक्रमहरू सार्वजनिक गरेका हुन् । इलामको देउमाई नगरपालिकाले एकल पुरुषलाई समेत मासिक भक्ता उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष ०७५/७६ का लागि बसेको सभाले एकल पुरुषलाई समेत एकल महिलासरह मासिक भत्ता दिने निर्णय गरेको हो ।
नगरपालिकाले नगरभित्र बसोबास गर्ने एकल पुरुषलाई मासिक रूपमै १ हजार रुपैयाँ दिने भएको हो । नगरपालिकाको तथ्यांकमा नगरभित्र करिब १ सय एकल पुरुष छन् । उनीहरूले साउनदेखि मासिक रूपमा भत्ता पाउनेछन् । नगरसभाले ६ लाख रुपैयाँ एकल पुरुषका लागि बजेट विनियोजन गरेको छ । यो रकम एकल पुरुषको संख्याका आधारमा कम हो । देउमाई नगरपालिकाका प्रमुख सूर्य पोखरेलले कार्यक्रम प्रभावकारी भए थप रकम विनियोजन गर्ने बताए ।
नगरपालिकाले अहिले एकल पुरुषहरूको विवरण संकलन गरिरहेको छ । नगर प्रमुख सूर्य पोखरेलले एकल पुरुषको प्रोत्साहनका लागि नयाँ कायक्रम ल्याइएको बताए । नगर प्रमुख पोखरेलले एकल पुरुषलाई भत्ता दिने कार्यक्रम देशमै पहिलो भएको दाबी गरे । उनले भने, “यो देशकै नयाँ कार्यक्रम हो । हामी यसलाई नमुना बनाउने छौँ ।”
उनले नयाँ कार्यक्रम भएकाले विनियोजन गरेको बजेट अपुग भए थप गर्दै कार्यक्रमलाई प्रभावकारी बनाउने बताए । नगरपालिकाले दिने उक्त सुविधा लिन नगरपालिकाको स्थायी बासिन्दा हुनुपर्नेछ ।
चालू आर्थिक वर्ष ०७४/७५ मा नगरपालिकाले ‘कोख देखि शोकसम्म’ शीर्षकमा ल्याएको कार्यक्रम प्रभावकारी बनेको प्रमुख पोखरेलले बताए । उक्त कार्यक्रम अन्तर्गत नगरले नगरभित्र बच्चा जन्मदा आमाको स्याहारका लागि ५ हजार र मृत्यु हुँदा काजक्रिया खर्चका लागि ५ हजार दिने निर्णय गरेको थियो । कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा नगरले ५ हजार रुपैयाँका दरले २ सय ८६ जनालाई १४ लाख ३० हजार रुपैयाँ दिइसकेको प्रमुख प्रशाकीय अधिकृत प्रेमप्रसाद दाहालले जानकारी दिए । यो कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि कायम राखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाहालले जानकारी दिए ।
यस्तै नगरपालिकाले देउमाई नगरपालिकामा बसाइँ सरी आउनेलाई घर निर्माणका लागि ५ हजार र जस्तापाता दिने भएको छ । कृषि, पर्यटन र शैक्षिक क्षेत्रको विकास र बसाइँसराइ रोक्नका लागि वित्तीय सहयोगस्वरूप यस्तो कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरले फुसका छाना हटाएर टिनको छाना भएको घर बनाउने कार्यक्रम अन्तर्गत प्रतिघर ५ बन्डल जस्ता दिने निर्णय गरेको ४ नम्बर वडाका वडाध्यक्ष राजेन्द्र बाँस्तोलले जानकारी दिए । वडा अध्यक्ष बाँतोलाका अनुसार देउमाई नगरपालिका ४ का केन्द्रप्रसाद लिम्बूको घर नगरपालिकाले निर्माण गरिदिएको छ । ४० हजार रुपैयाँको लागतमा अति विपन्न लिम्बूको घर नगरले स्थानीयको श्रमदानसमेत गरेर निर्माण गरिदिएको हो । वडाअध्यक्ष बाँस्तोलाले स्थानीय सरकारको आभास हुने गरी नगरले काम गरिरहेको बताए । नगर प्रमुख पोखरेलले बसोबास योग्य क्षेत्र बनाएर नागरिकलाई सुविधा दिए बसाइँ–सराइ कम गर्न सकिने बताए ।
भत्ता पाउने भएपछि एकल पुरुषहरूले भने नगरले आफ्नो सम्मान गरेको बताएका छन् । यस्तै इलाम नगरपालिकाले बीढ बच्चा जन्माउने आमालाई बढी प्रोत्साहन रकम दिने निर्णय गरेको छ ।
सूर्योदय नगरपालिकाले बिहान ७ देखि बेलुका ६ बजेसम्म विद्यालय सञ्चालन गर्ने भएको छ । विद्यार्थी र शिक्षकलाई खाजा र खानाको व्यवस्था नगरपालिका आफैँले गर्ने प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईले बताए । आगामी वर्ष एउटा विद्यालय छनौट गरेर यस्तो कार्यक्रम सञ्चालन गरिने प्रमुख भट्टराईको भनाइ छ । सो नगरपालिकाले समेत फुसको छानो हटाउन कर्कटपाता वितरण गर्ने भएको छ । त्यस्तै माइजोगमाई गाउँपालिकाले भने सरकारी कर्मचारीका सन्तान निजी विद्यालयमा अध्यापन गराए तलब कटौती गर्ने बताएको छ ।
नयाँ नगर तथा गाउँपालिका भएकाले बजेटले थाम्न सक्ने गरी मात्र नीति तथा कार्यक्रम ल्याउन विज्ञहरूले सुझाव दिएका छन् । कार्यक्रमलाई दिगो रूपले सञ्चालन गर्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गर्न पनि उनीहरूले सुझाएका छन् ।
टीका खतिवडा

प्रतिक्रिया दिनुहोस्