व्यावसायिक चिया खेती गर्ने ८२ प्रतिशत साना किसान

सरकारले ठूलो लगानी गरेर व्यावसायिक कृषि उपज उत्पादन बढाउने योजना सार्वजनिक गरिरहँदा व्यावसायिक खेतीमा भने अधिकांश साना किसान नै संलग्न रहेको तथ्य सार्वजनिक भएको छ । निर्यातयोग्य कृषि उपजमध्येमा पर्ने चिया खेतीमा संलग्न कृषकमध्ये ८२ प्रतिशत कृषक साना किसान रहेको केन्द्रीय तथ्यांक विभागले गरेको सर्वेक्षणले देखाएको हो ।
विभागले राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँगको सहकार्यमा गरिएको नेपाल व्यावसायिक चिया खेती सर्वेक्षण २०७५ ले वार्षिक २ करोड २२ लाख ४० हजार किलो चिया उत्पादन भएको देखाएको हो । “व्यावसायिक चिया खेती गर्ने कृषक-व्यवसायीमध्ये ८२.३ प्रतिशतले १ हेक्टर भन्दा कममा चिया खेती गरेको देखिन्छ,” सर्वेक्षण प्रतिवेदनमा भनिएको छ । अध्ययनमा संलग्न विभागका कृषि तथा पशुपंक्षी गणना तथा सर्वेक्षण शाखा निर्देशक बद्रिकुमार कार्कीले एक हेक्टरभन्दा कम हेक्टरका खेती गर्ने साना किसान र एक हेक्टरभन्दा बढी हेक्टरमा खेती गर्नेलाई व्यावसायिक कृषकको रुपमा परिभाषित गरि अध्ययन गरिएको बताए ।
गत वर्ष वैशाखदेखि चैतसम्म गरिएको सर्वेक्षण प्रतिवेदन अनुसार अध्ययन अवधिमा ९ हजार २३६ कृषक तथा व्यवासायीले १२ लाख ६६ हजार हेक्टरमा चिया खेती गरिएको पाइएको छ । जसमध्ये ७ हजार ६०१ जना एक हेक्टर भन्दा कम क्षेत्रफलमा चिया खेती गर्ने साना किसान रहेका छन् भने बाँकी ठूला किसान तथा व्यवसायी छन् । ठूला किसानमध्ये एक हेक्टरदेखि १० हेक्टरमा खेती गर्ने एक हजार ५२८ (१७ प्रतिशत), १० हेक्टरदेखि २० हेक्टर सम्म ३४ जना (०.४ प्रतिशत) र २० हेक्टरभन्दा माथि खेती गर्ने ७३ जना (०.८ प्रतिशत) रहेका छन् । कुल कृषकमध्ये ९ हजार १२७ अर्थात ९८.८ प्रतिशतले व्यक्तिगत रुपमा र जम्मा १०८ ले संस्थागत रुपमा चिया खेती गरेको देखिन्छ ।
मुलुकभरका ७७ जिल्लामध्ये १४ जिल्लामा चियाको व्यावसायिक खेती भइरहेको क्षेत्रका चिया खेतीको अवस्थिती, क्षेत्रफल, उत्पादन परिमाण तथा मूल्यसमेतको शुक्ष्म अध्ययन गरिएको हो । “व्यावसायिक खेती ठूलो लगानीमा मात्र सम्भव छ, साना किसानले गर्न सक्दैनन् भन्ने नीति निर्माता र सरोकारवालाको विचारको ठीक विपरित नतिजा आएको छ,” राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले भने, “किसानले उत्पादन गरेको चियामध्ये सिटिसी चिया ५५ प्रतिशत निर्यात हुने गरको छ भने ९० प्रतिशत प्रांगारिक चिया बाहिरै जान्छ ।” उनले चिया उत्पादन प्रवद्र्धनमा बोर्ड प्रतिवद्ध भएर लागिरहेको बताउदै थप लगानी र योजना तर्जुमा गर्न राज्यले प्राथमिकता दिनुपर्ने बताए ।
तथ्यांकअनुसार गत वर्ष व्यावसायिक चिया खेतीबाट १ लाख ८० टन हरियो पत्ति उत्पादनबाट कृषक-व्यवसायीले एक अर्व ७४ करोड २२ लाख १५ हजार रुपैया कमाएका छन् । करिव साढे चार किलो हरियो पत्तिबाट एक किलो प्रशोधित चिया उत्पादन हुने गर्छ । व्यावसायिक चिया उत्पादन गर्ने ११ हजार ४१ वटा बगान रहेको तर ति मध्ये सबैभन्दा बढी ६ हजार ९ सय ९५ बगान इलाममा र सबैभन्दा कम ८ वटा बगान सिन्धुपाल्चोकमा रहेको प्रतिवेदनमा उल्लेख छ । चियाखेतीमा कृषक-उत्पादकका १८ हजार एक सय ८० परिवार सदस्य संलग्न रहेकोमा महिलाको संख्या ८ हजार ८ सय ७ रहेको छ । चिया खेतीमा संलग्न अस्थायी कामदारको संख्या वर्षभर ३० लाख ९५ हजार प्रति दिन देखिन्छ ।
सर्वेक्षणका अनुसार ११ प्रतिशत उत्पादकले प्रांगारिक प्रमाणपत्र लिएर उत्पादन गरिरहेको, ३० प्रतिशत प्रांगारिक उन्मुख र ५९ प्रतिशत परम्परागत रुपमा खेती गरिरहेका छन् । नेपालमा उत्पादन हुने अर्थोडक्स चिया प्रांगरिक तथा प्रांगारिक उन्मुख चियाको प्रकार हो । सर्वेक्षणले चिया किसान-व्यवसायी मध्ये ८५.५ प्रतिशत प्रमुख संचालक भने पुरुष रहेको देखाएको छ । किसान-व्यवसायी ५३.५ प्रतिशतको प्रमुख व्यवसाय नै चिया खेती रहेको देखाएको छ भने ९५ प्रतिशतले आफ्नै जग्गामा व्यवसाय गरको पाइएको छ ।
सर्वेक्षणमा संलग्नमध्ये ५ प्रतिशले मात्र ऋण लिने गरेको, ४.५ प्रतिशतले मात्र व्यवसाय दर्ता गरेर संचालन गरेको, ६४ प्रतिशले व्यवसाय प्रति सन्तुष्ट रहेको बताएको, ३२ प्रतिशतले व्यवसाय थप विस्तार गर्ने उद्देश्य रहेको बताएको लगाएतका तथ्य सर्वेक्षणले बाहिर ल्याएको छ । व्यावसायिक खेती गर्दै आएका प्रमुख पाँच जिल्लामा इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुम रहेको छन् । कृषकहरूले हरियो पत्तिको मूल्य निर्धारण गर्नुपनुपर्ने, बजारको ज्ञारेन्टी गरिनुपर्ने, सहुलियत ऋण उपलब्ध गराउनुपर्ने, विरुपा, मलखाद, मेसिनरी औजार आदिमा अनुदान दिनुपर्ने, स्थानीय स्तरमा चिया उद्योगको स्थापना गर्न सरकारले भूमिका खेल्नुपर्ने, अग्र्यानिक चिया उत्पादनमा जोड दिनुपर्ने, चिया क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध गराउनुपर्ने लगाएतका सुझाव दिएका छन् ।
स्रोतः नेपाल व्यावसायिक चिया खेती सर्वेक्षण २०७५