रेलमार्ग निर्माणको ठेक्का प्रक्रियाबारे छानविन होस् : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँकडभिट्टा–इनरुवा रेलमार्ग निर्माणको ठेक्कापट्टा तत्काल रोकेर आवश्यक छानविन गर्न माग गरेका छन् ।
रेलमार्ग निर्माणमा निश्चित ठेकेदारलाई मात्रै योग्य बनाएर हचुवाका भरमा दिनुले सरकारको नीतिगत तथा सस्थागत भ्रष्टाचारलाई प्रोत्साहन गरेको पौडेलले आरोप लगाएका छन् ।
बुधबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै पौडेलले राष्ट्रिय ढुकुटीको ब्रम्हलुट गर्नबाट जोगाउन सरकार, संसदको लेखा समिति, विकास समिति, अख्तियारको ध्यानाकर्षणसमेत गराएका छन् ।
जग्गाको मुआब्जासमेत वितरण नगरी रेलमार्ग निर्माणको प्रक्रिया थाल्नु सरासर गलत भएको औंल्याउँदै विज्ञप्तिमा खुल्ला प्रतिस्पर्धाविना निश्चित ठेकेदारलाई पोस्ने गरी हचुवाका भरमा ठेक्का निकाल्नु सार्वजनिक खरिद ऐन विपरित भएको जनाइएको छ ।