Logo

कुशल नेतृत्वका कारण फेरिएको विद्युत् प्राधिकरण

सार्वजनिक संस्थानका रूपमा स्थापित नेपाल विद्युत् प्राधिकरणको भर्खरै वार्षिक साधारणसभा सम्पन्न भएको छ । त्यस कार्यक्रममा प्रस्तुत वार्षिक वित्तीय विवरणले वर्षौंदेखि घाटामा रहेको प्राधिकरणले यू ट्रन लिएको छ । पछिल्लो समय सबल नेतृत्वका कारणले संस्थानले निरन्तर प्रगति गरिरहेको अन्य संस्थानका लागि प्रेरणा, हौसला साथै अनुुसरणयोग्य छ । केही वर्षअघिसम्म वार्षिक करोडौं रुपैयाँ घाटामा गइरहेको प्राधिकरण यो प्रगति सबल नेतृत्व तथा व्यवस्थापकीय कुशलताको परिणाम हो । कुनै समय दैनिक १८ देखि २२ घण्टासम्म अत्यासलाग्दो लोडसेडिङ भोग्दै आइरहेका जनताले पछिल्लो समय लोडसेडिङ अन्त्य भएको महसुस गर्न थालेका छन् । लोडसेडिङ अन्त्यसँगै प्राधिकरणले भारततर्फ केही विद्युत् निर्यात सुरु गरेको छ ।
आर्थिक वर्ष ०७२÷०७३ मा करिब ९ अर्ब रुपैयाँ घाटामा रहेको प्राधिकरण सबल तथा कुशल नेतृत्वका कारणले आर्थिक वर्ष ०७६÷०७७ मा करिब ५ अर्ब रुपैयाँ नाफा कमाउन सफल भएको छ । करिब ९० प्रतिशत जनतामा ऊर्जा पहुँच प¥याइसकेको प्राधिकरण विद्युत् चुहावट नियन्त्रण २८ प्रतिशतबाट १५ प्रतिशतमा झार्न सफल भएको छ । प्राधिकरणको यो प्रगतिले संस्थानहरूले आमनागरिकको हित आत्मसात् गर्दै व्यावसायिक कार्य अगाडि लैजान ध्यान केद्रित गरेको छ । अधिकाशं संस्थान कुशल नेतृत्वको अभावमा घाटामा गइरहेको अवस्थामा नेपाल विद्युत् प्राधिकरण संस्थानहरूको एक उदाहरण बन्न पुगेको छ ।
पछिल्लो समय नेपालमा रहेका अधिकांश सार्वजनिक संस्थानहरूले विभिन्न समस्या भोग्दै आएका छन् । राजनीतिक हस्तक्षेप संस्थानहरूको प्रमुख समस्या बन्दै आएको छ । यसका साथै कुशल नेतृत्वको अभाव, निर्णय स्वायत्ततामा कमी, अध्ययन–अनुसन्धानमा कमी, परिवर्तनलाई आत्मसात् गर्न नसक्नु, भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु तथा दलगत ट्रेड युनियन संस्थानभित्रका समस्याका रूपमा रहेको छ । वर्षाैंदेखि जरा गाडेर बसेका यस्ता समस्याहरू नियन्त्रण गर्न चानचुने नेतृत्वले नसक्ने अवस्थामा संस्थानहरू पुगेका छन् । त्यस्तै विभिन्न समयमा सरकार परिवर्तनले पनि संस्थानमा पनि ठूलो हलचल गराउने गर्छ । यसबाट निश्चित योजना तथा मार्गचित्रण बनाएर अघि बढेका व्यवस्थापकीय नेतृत्व बीचैमा बाहिरिनुपर्छ । तर, यी समस्याहरूसँग जुध्दै प्राधिकरण नेतृत्व कुशलतापूर्वक जिम्मेवारी वहन गर्न सफल भएको छ ।
जब कुलमान घिसिङले प्राधिकरणको बागडोर सम्हाल्ने नेतृत्व पाए, त्यसपछि उनले प्राधिकरणभित्र भएका बेथितिहरूलाई अन्त्य गर्र्दै आइपरेका समस्याहरूको डटेर सामना गरी जनताका दैनिकीलाई प्राथमिकतामा राखेर काम गर्दा राम्रो परिणाम देखिएको छ । जसका कारण उनको नेतृत्व यतिबेला जनतामाझ सफल सावित भएको छ । यसरी सबल तथा सक्षम नेतृत्व पाएको प्राधिकरणबाट अन्य संस्थानहरूले पनि केही सिक्ने बेला आएको छ । आमनागरिकको दैनिक जीवनसँग प्रत्यक्ष तथा अप्रत्यक्ष सम्बन्ध राखी खोलिएका संस्थानहरूको व्यवस्थापन शैलीमा परिवर्तन गर्नु अति आवश्यक छ । ज्ञान, सीप र दक्ष जनशक्ति व्यवस्थापनमा संस्थानहरूले अब आउने दिनहरूमा सक्रिय हुनुपर्छ । कर्मचारी छनोट गर्दा राजनीतीकरणको अन्त्य गर्दै सुस्त तथा प्रतिप्रर्धाबाट छनोटको व्यवस्था गर्नुपर्छ । काम गर्ने कर्मचारीहरूको समय–समयमा कार्यप्रगतिको समीक्षा तथा तालिमहरूको व्यवस्था हुनुपर्छ । त्यस्तै सार्वजनिक लेखा परीक्षण कार्य समयमै सम्पन्न गर्नुपर्छ । संस्थानहरूको उन्नति प्रगतिमा सरकार परिवर्तनसँगै नेतृत्व फेर्ने परिपाटी सदाका लागि अन्त्य गर्नुपर्छ । यति कुरा परिवर्तन गर्न सके अस्तित्वमा रहेका संस्थानहरू पनि प्राधिकरणले जस्तै छिटै फड्को मार्न सक्छन् ।
—ज्योति खतिवडा

प्रतिक्रिया दिनुहोस्