Logo

स्काभेटर र ट्रिपरलाई ३ लाख ६० हजार जरिवाना

दोलखा-तामाकोसी नदी उत्खनन् गरी बालुवा झिक्दै गर्दा नियन्त्रणमा लिएका सवारी साधनलाई जरिवाना गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समिति दोलखाका प्रमुख एवं नदीजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समितिका संयोजक डबल पाण्डेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
तामाकोसी नदीको किनारमा अवैध रूपमा स्काभेटरको प्रयोग गरी नदी उत्खनन् गरी बालुवा झिक्दै गरेको दुसान कम्पनीको स्काभेटरलाई तीन लाख रुपैयाँ जरिवाना गरिने भएको छ । त्यसैगरी सोही समयमा बरामद भएको २ वटा ट्रिपरलाई प्रतिटिपर ३० हजार रुपैयाँ जरिवाना गर्नेसमेत निर्णय गरेको छ । बा ५ ख ४३४६ र बा ५ ख ६६८६ नम्बरका २ वटा ट्रिपरहरूलाई जनही ३० हजारका दरले जरिवाना गर्ने निर्णय भएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जानकारी दिए ।
साउन १२ गते राति करिब ११ बजे सशस्त्र प्रहरी बल नेपाल, नं १८ गुल्म हेड क्वाटर दोलखाले अवैध रूपमा नदीबाट बालुवा उत्खनन् गर्दै गर्दा नियन्त्रणमा लिएको थियो । नदीजन्य सामग्री असारदेखि भदौ मसान्तसम्म उत्खनन्का लागि कानुनी रूपमा बन्देज गरेको छ । नदीजन्य अनुगमण समितिले असारदेखि कुनै पनि नदीमा उत्खनन् नगर्नका लागि आग्रहसमेत गरेको थियो । कानुनको उल्लघंन गर्दै राजमार्ग छेउमै मध्यरातमा अवैध उत्खनन् गरेपछि जरिवानासहित कारबाही गरेको हो । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले विशेष सुराकीको आधारमा दुवै प्रहरीको समन्वयमा अवैध उत्खनन्मा संलग्नलाई पक्राउ गरिएको जानकारी दिए ।
नेपाल प्रहरीका जनशक्ति कोरोनाका कारण आइसोलेसनमा बसेको अवस्थामा सशस्त्र प्रहरीसमेतको सहयोगमा स्काभेटर र ट्रिपर नियन्त्रणमा लिएको उनले बताए । तामाकोसी बजार क्षेत्रमा विगतमा पनि प्रहरीले पटकपटक अवैध उत्खनन्मा संलग्नलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्