चीनसँगको व्यापार युद्धमा अमेरिकाको अर्को तीर

वासिङटन-अमेरिकाले चीनसँगको व्यापार युद्धमा अर्को तीर फ्याकेको छ । सेप्टेम्बरसम्मको अवधिमा अमेरिकाले २०० अर्ब डलरका चिनियाँ सामानमा भन्सार लगाउने योजना बनाएको छ ।
दुवै मुलुकले एक अर्काको सामानमा ३४ अर्ब डलरको जस्तालाई तस्तै भन्सार लगाएपछिको समयमा अमेरिकाको यो नयाँ कदम सार्वजनिक भएको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलेनै यदी चीनले बदलाको कारबाही गरेमा चीन बिरुद्ध अतिरिक्त भन्सार लगाउने चेतावनी दिएका थिए । अमेरिकी सूचीमा खाद्यान्न उत्पादन, खनिज र उपभोग्य सामान जस्तै ह्यान्ड ब्याग लगायतका ६ हजार बस्तुहरु समावेश छन् ।
१० प्रतिशतको नयाँ भन्सार कार्यान्वयनमा आउनु पूर्व सर्वसाधारणलाई यो विषयमा टिप्पणी गर्नका लागि अगस्टको अन्त्यसम्मको समय दिइएको छ ।
दुई आर्थिक महाशक्तिबीचको व्यापार तनाव विस्तार भएको सयमामा सुरुको कारोबारमा एसियाली सेयर बजारमा भारी गिरावटआएको छ ।
चीनमा हङकङको हाङ सेङ सूचकमा २ प्रतिशतको गिरावट आएको छ । यसैगरी सांघाई कम्पोजिटमा १.८ प्रतिशतको गिरावट आएको छ भने जापानी सेयर बजार निकीमा १.७ प्रतिशतको गिरावट आएको छ ।
ह्वाइट हाउसले चीनले गरेको पक्षपातपूर्ण व्यापार अभ्यासका कारण यो भन्सार लगाइएको जनाएको छ ।
अमेरिकाले चीनले बौद्धिका सम्पत्ति, डिजाइन र उत्पादनको तौर तरिका चिनियाँ कम्पनीलाई हस्तान्तरण नगरोस् भन्ने चाहेको छ । यसमा चिनियाँ बजारमा प्रवेशका लागि स्थानिय साझेदारसँग विदेशी फर्मले साझेदारी गर्नु पर्ने मापदण्ड हटाओस भन्ने विषय पनि रहेको छ ।
अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइथिजरले चीनको बदलाको काराबाही न्याय संगत नभएको बताएका छन् ।
“विगतमा झै अमेरिकाले चीनको पक्षपातपूर्ण व्यापार अभ्यासप्रतिको अमेरिकी चासोको सम्बोधन गरोस र चीनले अमेरिकी सामान र सेवालाई खुला गरोस भन्ने चाहेको छ,” उनले भने ।
अमेरिकामा रहेका धेरै कम्पनीहरुले ट्रम्प प्रशासनले चीन बिरुद्ध प्रयोग गरेको भन्सारको बिरोध गरेका छन् । यसले अर्थतन्त्र र व्यवसाय दुवैलाई जोखिम पार्ने बताउदै उनीहरुले यस्तो बिरोध व्यक्त गरेका हुन् ।
शुक्रबारदेखि कार्यान्वयनमा आएको ३४ अर्बको सामानको भन्सारपछि ह्वाइट हाउसले थप १६ अर्बका चिनियाँ सामानमा भन्सार लगाउने विषयमा विमर्श गरिरहेको छ । यो यसै महिनाको अन्त्यतिर कार्यान्वयमा आउने अपेक्षा गरिएको छ ।
समग्रमा ट्रम्पले भन्सार लगाउने भनि दिएको चेतावनीको सामानको परिमाण गत वर्ष चीनले अमेरिकामा निर्यात गरेको सामग्रीको बराबर रहेको छ । यो गत वर्ष ५०० अर्ब डलरको थियो ।