म्याग्दीमा व्यवसायिक कालिज पालन «

म्याग्दीमा व्यवसायिक कालिज पालन

म्याग्दीमा कालिजको व्यावसायिक पालन सुरु भएको छ । बेनी नगरपालिका–४ सिंगामा रहेको हरियाली ग्रुप प्रालिले मासुका लागि पहिलो पटक कालिजको व्यावसायिक पालन सुरु गरेको हो । दक्षिण कालिका काठमाडौबाट चल्ला लिएर पहिलो पटक परीक्षणका लागि म्याग्दीमा कालिज पालन सुरु गरिएको प्रालिले जनाएको छ । करिब ३२ लाखको लगानीमा हरियाली ग्रुप प्रालिले कालिज पाल्न सुरु गरेको हो ।
हरियाली ग्रुपबाट सञ्चालन मोडल फर्मका ए ब्लक इन्चार्ज भगवान खड्काका अनुसार ५ महिना अघिबाट पालन सुुरु गरिएको करिब १ हजार कालिज अहिले खानयोग्य भएको बताए । “करिब ५ महिना पालेपछि कालिज अहिले दुई किलोसम्मका छन्, खानका लागि बिक्री वितरण पनि सुरु भएको छ, अहिले पहिलो चरणमा प्रति कालिज तीन हजार ५०० रुपैयाँका दरले बिक्री वितरण गरेको बताए । “पहिलो चरणमा ४ सय ५० भाले कालिज मात्र बेच्ने योजना रहेको छ । कालिज बिक्री गर्ने भन्नासाथ फोन आउन सुरु गरेको छ ।” खड्काले भने । फर्ममा तयार भएका भाले कालिज मासुको रूपमा बिक्री गरिने र पोथी कालिजबाट अण्डा उत्पादन गरी चल्ला उत्पादन गर्ने योजना अनुसार काम अघि बढेको ग्रुपले जानकारी दिए ।
अण्डाबाट ह्याचिङ गरी २३ देखि २५ दिनमा चल्ला निस्कन्छन् । “हामीले यहाँ ७ हजारसम्म कालिज पाल्ने गरी संरचना बनाएका छौँ, प्रालिका लगानीकर्ता शेरबहादुर केसीले भने, “हामी पहिलो चरणमा सफल भयौं ।” हरियाली ग्रुपले कृषिजन्य वस्तुहरु उत्पादन गर्दै आएको छ । यस फर्मले कालिज मात्र नभएर तरकारी माछा, लोकल कुखुरासमेत पालन गर्दै आएको छ । सिंगाको आगेबगरमा ६१ जनाको १० करोडको लगानीमा स्थापित हरियाली गु्रपले नयाँ मोडलको आधुनिक कृषि फार्म सञ्चालन गरेको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठ, अन्तर्राष्ट्रिय कृषि वैज्ञानिक टीकाबहादुर कार्की, कृषि वैज्ञानिक मदन थापालगायतको अवधारणा र लगानीमा खण्डीकृत जग्गालाई चक्लाबन्दी गरेर कम्पनीको अगुवाइमा व्यावसायिक रुपमा तरकारी खेती, माछा, कुखुरा र माहुरी पालन सुरु गरिएको हो ।
फार्ममा स्थानीय समेत ६१ जनाको लगानी रहेको छ । कृषिको आधुनिकिकरण, व्यावसायीकरण, रोजगारी सिर्जना, उत्पादन र कृषकको आम्दानी बढाउने उद्देश्यले फार्मलाई हरियाली मोडलको रुपमा चिनिन्छ ।
म्याग्दी जिल्लामा हालसम्मकै ठूलो कृषि परियोजना हो । कृषिमा देखिएको लगानी, बजार र श्रमिक अभावको समस्या हट्ने, उत्पादन बढ्ने र आयात घटाउन देशका अन्य ठाउँमा पनि यो मोडल विस्तार गर्न लागिएको लगानीकर्ता केसीको भनाई छ । यसबाट स्थानीयलाई रोजगारी तथा तरकारी र मासुमा जिल्लालाई आत्मनिर्भर बनाइ बाहिरी जिल्लामा निर्यात गर्ने उद्देश्य रहेको छ । ३६ जना कृषकको १६० रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर चक्लाबन्दी गरिएको छ । फार्ममा तरकारी खेती, ड्रागन फुड (सिउडी फल) माछा पालन, मौरी पालन, फूल खेती गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्