मजदुरीमा महिला सहभागिताले ल्यायो सुधार

संखुवासभा-सधै चुलो चौकामा सीमित रहने महिलाहरू आयआर्जनतर्फ उन्मुख बन्न थालेका छन् । विगतमा श्रीमान्को आम्दानीमा परनिर्भर रहने महिलाहरू अहिले रोजगारीमा आफैं अग्रसर बन्न थालेपछि संखुवासभामा ज्याला मजदुरी गर्ने महिलाको संख्यामा उल्लेख्य वृद्धि हुन थालेको छ ।
श्रीमान्को सीमित कमाइले बालबच्चा र परिवारको खर्च धान्न नसक्ने स्थिति आएपछि आफूसमेत मजदुरीमा लागेको खाँदबारी–१ कि राधिका राई बताउँछिन् । श्रीमान्ले नियमित काम नपाउने, पाए पनि आधामात्र हाजिरा उपलब्ध हुने आधि चैं बाँकी नै रहने हुँदा परिवारको गर्जाे टार्न समस्या हुन थालेपछि आफूले समेत मजदुरीको काम सुरु गरेको उनले बताइन् । उनी जस्तै खाँदबारी–१० कि शोभा तामाङ पनि ज्याला मजदुरीमा संलग्न छिन् । ज्याला मजदुरीमा लागेपछि आफूलाई घर व्यवहार चलाउन धेरै सहज भएको उनको भनाइ छ । दैनिक ७ सय आम्दानी गर्ने उनले शारीरिक असक्तता भएका श्रीमान् र १ छोरीलाई शिक्षा दिक्षा दिलाउँदै घर व्यवहार धानिरहेको बताइन् ।
हरेक विकास निर्माणका क्रियाकलापमा सीपअनुसारको रोजगारीका लागि महिला सहभागिता अर्थपूर्ण रहन थालेको देखिन्छ । विकास निर्माणलगायत जुनसुकै काममा महिलाले आफ्नो व्यावसायिक क्षमता अभिवृद्धि र सहभागिता जनाउन आवश्यक रहेको समाजशास्त्री तथा प्राध्यापक रुद्रनाथ दाहाल बताउँछन् । घरभित्रै चुलोचौकामा सीमित ५१ प्रतिशत महिला जनशक्तिलाई विकास साझेदार बनाउन सकिए मात्र मुलुकले आर्थिक र सामाजिक समृद्धि हासिल गर्नसक्ने प्राध्यापक दाहालको भनाइ छ ।
अहिले प्रायः हरेक किसिमका निर्माण कार्यमा महिला जनसहभागिता उल्लेख्य रहेको पाइन्छ । यसबाट परिवारलाई आर्थिक टेवा पुगेको त छ नै महिला पुरुषबीचको सामन्जस्यता बढाउँदै असमानता र विभेदको अवस्थालाई अन्त्य गर्न पनि महिला रोजगारीले ठूलो महत्व राख्ने भएकाले सामाजिक रूपमा देखिएको लैंगिक विभेद अन्त्य, महिला हिँसा र शोषणमा कमी ल्याउन महिलाले प्राप्त गरेको रोजगारीले महत्वपूर्ण अर्थ राख्ने महिला अधिकारकर्मी तथा वरुण बहुमुखी क्याम्पस खाँदबारीकी उपप्राध्यापक चित्ररेखा अधिकारीको भनाइ छ । महिला स्वरोजगारीले पुरुषप्रतिको परनिर्भरता अन्त्य गर्नुका साथै महिला पुरुषबीच पारिवारिक सम्बन्धमा सुधार ल्याउन र एक अर्कामा सहयोग गर्ने भावनाको समेत विकास हुने उनको तक छ ।
आफूले आत्मनिर्भर हुने प्रयास नगर्दा पटकपटक श्रीमान्, सासू ससुरा र परिवारको सदस्यबाट हेपिनु परेपछि आफूले सिलाइबुनाइ सिकेर काम सुरु गर्न थालेको चैनपुरकी सुलोचना दर्जी (नाम परिवर्तन) बताउँछिन् । उनले सधै श्रीमान् र परिवारको भर पर्दा पारिवारिक आम्दानीमा पनि कमी हुने र आफूसंँग पनि खर्च बर्च नहुँदा सधै अर्काकै भरमा गुजारा गर्नुपर्ने परिस्थितिमा आफूसँंग सीप र केही आम्दानी हुन थालेपछि पारिवारिक वातावरण सुखमय बन्दै आएको अनुभव सुनाइन् ।
महिलाहरू ज्याला मजदुरीमा मात्र सीमित छैनन् पछिल्लो दशक उनीहरू राज्यको नीति निर्माणको महत्वपूर्ण ओहदा सम्हालेर विभिन्न पेसा ब्यवसायमा संलग्न हुँदा अन्य महिलामा समेत हौसला र उत्प्रेरणा थपिएको चैनपुर नगरपालिकाका उपप्रमुख मुना श्रेष्ठ बताउँछिन् । शिक्षा र सचेतनामा पहुँच बढ्दै जाँदा पारिवारिक र सामाजिक समृद्धिका लागि महिला आफैं अघि बढ्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको उपप्रमुख श्रेष्ठको भनाइ छ । जसले पुरुषप्रतिको परनिर्भरतालाई कम गर्दै आत्मनिर्भरता प्रति महिलालाई सक्षम र दरिलो बनाउँदै लगेको उनको विकश्वास छ ।
अहिले बढ्दै गएको महिला सहभागिताले महिलाले पनि पुरुष सरह काम गर्न सक्छ र ? भन्ने हाम्रो सामाजिक दृष्टिकोणमा व्यापक परिवर्तन ल्याएको सिर्जनशील सामुदायिक विकास केन्द्रकी अध्यक्ष राधादेवी बस्नेत बताउँछिन् । पुरुषको तुलनामा महिला अलि बढी ब्यावहारिक र कम खर्चालु हुने भएकाले परिवारलाई आर्थिक समृद्धितर्फ उन्मुख गराउनमा धेरै सहजता आउने गरेको उनको धारणा छ ।
पुरुषले गर्ने फजुल खर्चको तुलनामा महिलाले अनावश्यक कार्यमा कम खर्च गर्ने भएकाले परिवारको आवश्यकता र सन्तानको लालनपालन शिक्षा स्वास्थ्य आदि जस्ता सिर्जनात्मक काममा महिला रोजगारीले महत्वपूर्ण योगदान पु-याइरहेको महिला नेतृ निरू तामाङ बस्नेतको भनाइ छ ।
पुरुषको दाँजोमा महिला उत्कृष्ट, लगनशील र इमान्दार हुने भएकाले अहिले महिला श्रमिक र महिला जनशक्तिको माग बढ्दो अवस्थामा रहेको निर्माण व्यवसायी केशवलाल शाक्य बताउँछन् । पुरुषले आफ्नो कमाइको अधिकांश हिस्सा जाँडरक्सी, भोज भतेर, रमाइलो भेटघाट आदिमा खर्च गर्ने गरेको उनको अनुभव छ ।
कृष्णराज शाक्य