दैनिक ४ सय जनालाई खाना «

दैनिक ४ सय जनालाई खाना


साँझको ६ बजे । रत्नपार्क बसपार्क खाली छ, गाडी छैनन् । तर मैलाधैला देखिने एक हुल मानिसहरु भने सामान्य भौतिक दूरी कायम राख्दै पंक्तिबद्ध छन् । केही समयपछि ती मानिसहरुको हातमा एकेक प्याकेट थमाइन्छ । प्याकेटमा तयारी खाना पाएपछि उनीहरु वरपर छरिएर खान थाल्छन् । बन्दाबन्दी शुरु भएयता र अहिलेको निषेधज्ञासम्म साँझ दैनिक रत्नपार्क बसपार्कमा देखिने दृश्य हो यो ।
बन्दाबन्दीको समयमा भोकले कोही पनि समस्यामा नपरुन् भनेर एक महिलाले राजधानीमा दैनिक ४ सय जना मानिसलाई खाना खुवाउँदै आएकी छन् । सडकमा बस्ने, मागेर खाने, आयआर्जनमा समस्या भएकालाई साँझको एक छाक खाना खुवाउँदै आएकी हुन् । मानिसको संख्या बढ्दै ४ सयसम्म पुगेको हो
झापा अर्जुनधाराकी इन्दिरा राना मगर (५०)ले बन्दाबन्दीको समयमा र हाल जारी निषेधज्ञा समयमा सडक आश्रितहरु, न्यून आय भएकाहरु, सार्वजनिक स्थानमा बस्ने-सुत्ने मानिसहरु गरी दिनहुँ ४ सय जनालाई साँझको खाना खुवाउँदै आएकी हुन् । रत्नपार्क बसपार्क, बिष्णुमति शिव मन्दिर अगाडि, सोह्रखुट्टेलगायतका स्थानमा उनले खुवाउँछिन् ।
खानाको लागि पंक्तिबद्ध भएकालाई लुछाचुँडी नगर्न निर्देशन दिदै उनी भन्छिन्, ‘मलाई भोक थाहा छ, तपाईंहरुलाई भोक छ भनेर ल्याइदिएकी, म पनि फरक तबरले भोकै बसेको याद छ । त्यही भएर अरुको भाग नखोस्नुस्, नखानुस् ।’ ‘उनीहरुलाई पोषिलो र ताजा खाना खुवाएकी छु,’ उनले भनिन्, ‘राम्रै चामल खुवाएकी छु ।’ कसैलाई केही दिनु छ भने सम्मानका साथ दिनुपर्छ भन्ने उनको सिद्धान्तै हो । पकाएर लगेपछि त्यो खानामा उनीहरुको अधिकार स्थापित भैसकेको हुन्छ ।
उनलाई चामल चाहिँ राजु श्रेष्ठ, बाबुकाजी श्रेष्ठलगायतका केही व्यापारीहरुले सहयोग गरेका छन् भने बन्दाबन्दीको समयमा कालिमाटीका थोक तरकारी बिक्रेताहरुले सहयोग गरे । यस्तै जोए फाउण्डेशन, विमल ढुंगाना, सागर कटुवाल, छिरिङ लामा, लाल केसी, शिखा प्रसाइँ लगायतले सहयोग गरेका छन् ।
उनलाई यसरी खाना नखुवाउन वडाध्यक्ष, प्रहरी प्रशासन र स्थानीयले समेत भने । सञ्चयकोष अगाडि खुवाउँदा त रोके । तर इन्दिराले त्यसलाई प्रतिवाद गर्दै खुवाउँदै आइन् । अहिले त प्रहरी पनि भावनात्मक भैसके । उनले म्हेपीस्थित उनी बस्ने घरमा दिनको २ बजेबाट खाना पकाउन सुरु गर्छिन् । तयारी खानालाई प्याकेटमा भाग लगाएर उनी बन्दाबन्दीयता हरेक दिन ट्याक्सी लिएर रत्नपार्क बसपार्क पुगेकै हुन्छिन् । ‘कम्तिमा एक छाक खाना त खुवाएकी छु,’ उनले सन्तुष्टि मान्दै भनिन्, ‘कतिले चोर, पाकेटमार, जड्याँहा, बद्मासहरुलाई खाना खुवाइदिएर हामीलाई उल्टै दुःख दिए भनेर पनि भने । एक डिएसपीले त बन्दाबन्दीको समयमा मलाई थुन्छु पनि भने । ‘कसरी थुन्नुहुन्छ ?, थुनेको म पनि हेरुलाँ,’ मैले भनें ।
उनले कसैको विरोधको वास्ता गरिनन् र निरन्तर खुवाउँदै आइन् । भन्छिन्, ‘अहिले चाहिँ कसैले पनि अवरोध गर्दैनन्, सबैले थाहा पाए मैले सस्तो प्रचारको लागि गरिरहेको छैन रहेछ भनेर । मलाई बचाउन मात्रै सरोकार छ ।’
यही बीचमा उनले कतिलाई त अस्पताल पनि लगिन् । त्रिपाल र लुगा समेत सहयोग गरिन् । ‘यस्तो महामारीका बीचमा पनि मैले खाना खुवाउँदै आएकाहरुमा त्यस्तो संक्रमण भएको पाएकी छैन’, उनले भनिन्, ‘आश्चर्यमा परेको छु ।’
सडकमा बस्ने मात्रै होइन, बन्दाबन्दीमा त गाडीका खलासीहरु, भरियाहरु, ठेला चलाउनेहरुले पनि खाए । पानी त प्रहरीले पनि खान्छन्, कहिले त तिनले पनि खाना खाएका छन् । ‘खानाको लागि दैनिक २० हजार रुपैयाँ जति खर्च हुन्छ,’ मगर भन्छिन्, ‘तर म पैसा मागेर हिँड्दिन । केही सहयोग जुटेको पनि छ । सहयोग दिन चाहनेहरु मलाई भेटेर दिनुहुन्छ ।’ समाजसेवाको नाममा ठगि गर्ने, प्रचारबाजी गर्नेहरुसँग उनी सजग र सचेत छिन् । उनलाई समाजसेवाको नाममा अनावश्यक प्रचार गरेको मन पर्दैन । भन्छिन्, ‘भित्रैबाटै महसुस गरेर गर्ने हो, देखावटी रुपमा हैन ।’
सडकमा बस्नेहरुको पनि आफ्नै समुदाय हुन्छ । एकअर्कालाई चिन्छन् र प्रेम पनि गर्छन् । मैले बितरण गरेको खानाको भाग कसैले दुईपटक लिएको छ भने तिनले नै अर्को साथीलाई दिन्छन् ।
शुरुमा २० जनालाई सडक बालबालिकालाई खाना खुवाउन थालेकी उनले अहिले संख्या बढ्दै गएपछि भने केही समस्यामा परेकी छन् । भन्छिन्, ‘न अघि बढ्न सक्छु, न निस्कन सक्छु । छोडुँ भने राति पनि फोन गरेर आमा भोक लाग्यो, खान पाइन भन्छन् ।’ यसरी खुवाउनु कमजोरी रहेको महसुस नगरेकी पनि होइनन् उनले तर प्रश्न गर्छिन्, ‘यतिका दिन गरिसकें, अब कसरी रोकुँ ?’
सन् १९९० मा कवि पारिजातको संगतले शुरुमा जेलमा बन्दी रहेका बालबालिकाको हितमा काम गर्न थालिन् इन्दिराले । जतिबेला नेपालमा समाजसेवाको क्षेत्रका कार्यकर्ता बिरलै हुन्थे । जेलपछि उनले मानवअधिकारका क्षेत्रमा पनि काम गर्दै आइन् । सन् १९९५ बाट सडक बालकालिकाको क्षेत्रमा काम गरिन् । उनले देशभरको बन्दी गृह अवलोकन गर्ने अवसर पनि पाइन् । साइक्लिस्ट समेत रहेकी उनले जेलबाटै पढाएका कोही बेलायती सेना बनेका छन् कोही नर्स त कोही सामाजिक क्षेत्रमै आइपुगेका छन् ।
उनी आबद्ध बन्दी सहायता गृह नामक संस्थाको देशभर १७ वटा शाखा र काठमाडौं उपत्यकामा १० वटा घर(होम) छन् भने साँघुमा एक विद्यालय । जहाँ ५ सय जना बच्चालाई पालनपोषण र शिक्षादिक्षा पाइरहेका छन् । यसको लागि वर्षमा ५ करोड रुपैयाँ जति खर्च हुन्छ । त्यस संस्थामा ७५ जना तलबी कर्मचारी छन् । यी कामका लागि चाहिँ तीन दशकदेखि नै केही विदेशी संस्थाले सहयोग गर्दै आएका छन् । संस्थालाई लग्जेम्बर्गको स्काउट र जापानको ड्रिम नेपालले सहयोग गर्दै आएको छ ।
इन्दिराले देशका थुप्रै पुरस्कार र सम्मानहरु पाएकी छन् । उनले २०१४ वल्र्ड चिल्ड्रेन प्राइज प्राप्त गरेकी छन् भन् द वन, हङकङको मनोयनमा पनि परेकी छन् ।

प्रतिक्रिया दिनुहोस्