सबै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू हुने

उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य बिमा कार्यक्रम अगाडि बढाउन सरकारले उपयुक्त बजेट व्यवस्था गरेको बताए । राष्ट्रियसभाको आइतबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत स्वास्थ्य मन्त्रालयमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले हाल २३ जिल्लामा सञ्चालित सो कार्यक्रम आगामी आवदेखि ७७ जिल्लामा लागू हुने जानकारी दिए ।
जनशक्तिको व्यवस्थापनमा जोड दिँदै स्वास्थ्य उपकरण, औषधि तथा अन्य कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउन सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा योजनाबद्ध रूपमा कार्यक्रम शुरु गर्न लागेको बताउँदै उहाँले स्वास्थ्य मन्त्रालय मातहत कर्मचारीको अभाव रहेकाले तत्काल जनशक्ति उपलब्ध गराइदिन लोकसेवा आयोगलाई आग्रह गरिएको जानकारी दिए ।
यस्तै वर्षाकालमा हुने महामारी तथा रोगका जोखिम न्यूनीकरणका लागि सरकारले योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन गर्न लागेको तथा केही स्वास्थ्य संस्थाको पुनःनिर्माण भइसकेको र केही निर्माणका क्रममा रहेको उहाँले बताउनुभयो । सांसद विमला पौडेल र अनिता देवकोटाले मन्त्री यादवसँग स्पष्टीकरण मागेका छन् ।
चन्द्रागिरि उद्योग वाणिज्य संघको अध्यक्षमा बानियाँ
चन्द्रागिरि नगर उद्योग वाणिज्य संघको प्रथम साधारणसभाले उद्यमी राजेन्द्रविक्रम बानियाँको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
आगामी तीन वर्षे कार्यकाल रहने सो कार्यसमितिको उपाध्यक्षद्वयमा सुनिल रिजाल र कृष्णभक्त श्रेष्ठ, महासचिवमा घनश्याम लुइँटेल, कोषाध्यक्षमा विष्णुप्रसाद शाही, सचिवमा रमेश कार्की, सहकोषाध्यक्षमा इन्द्रवीर महर्जन छन् ।
यहाँ सम्पन्न सो साधारणसभाको शुभारम्भ गर्दै नेपाल उद्योण वाणिज्य महासंघ प्रदेश नं ३ का अध्यक्ष दिनेश श्रेष्ठले व्यावसायिक हक हितका लागि महासंघले विभिन्न काम गरिरहेको बताए ।
संघका अध्यक्ष बानियाँको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा महासचिव लुइँटलले आगामी वर्षका नीति तथा कार्यक्रम, कोषाध्यक्ष शाहीले आर्थिक प्रतिवेदन पेस गरेका थिए । संघीय संरचनामा उद्योग वाणिज्य महासंघको भूमिका अहम् रहने र चन्द्रगिरि उद्योग वाणिज्य संघलाई नमुना संघ बनाउने जानकारी अध्यक्ष बानियाँले सो अवसरमा बताए ।