निर्जीवन कम्पनीको बिमाशुल्क औसत १४ प्रतिशतले वृद्धि

चालू आर्थिक वर्ष ०७४-७५ मा निर्जीवन बिमा कम्पनीहरूको व्यवसाय औसत १४ प्रतिशतले बढेको छ । गत असोज मसान्तसम्ममा १७ निर्जीवन बिमा कम्पनीहरूले ५ अर्ब ६३ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । गत आवको सोही अवधिमा भने कम्पनीहरूले ५ अर्ब ६७ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका थिए ।
बिमा समितिको तथ्यांकअनुसार उक्त अवधिमा कम्पनीहरूले गरेको दाबी भुक्तानी रकम भने घटेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीहरूले २ अर्ब ८ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् । तर, गत आवको सोही अवधिमा भने कम्पनीहरूले २ अर्ब २६ करोड रुपैयाँ दाबी भुक्तानी गरेका थिए । गत आवमा कम्पनीहरूमा भूकम्पको दाबी रहेकाले चालू आवमा दाबी भुक्तानी रकम घटेको देखिएको बिमकहरूले बताएका छन् ।
कम्पनीहरूले आर्जन गरेको बिमाशुल्कको आधारमा चालू आवको पहिलो तीन महिना अवधिमा शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बिमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले चालू आवको पहिलो त्रैमास अवधिमा ७५ करोड २७ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा करिब साढे ८ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले ६९ करोड ३६ रुपैयाँ बिमाशुल्क आर्जन गरेको थियो । कम्पनीको दाबी भुक्तानी भने ३३ प्रतिशतले घटेको छ । कम्पनीले समिक्षा अवधिमा २५ करोड ७६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
त्यस्तै दोस्रोमा सिद्धार्थ इन्स्योरेन्स परेको छ । कम्पनीले तेस्रो त्रैमास अवधिमा ४९ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा करिब १६ प्रतिशतले बढी छ । गत आवमा कम्पनीले ४२ करोड ६७ लाख रुपैयाँ बिमाशुल्क आम्दानी गरेको थियो ।
सबैभन्दा धेरै बिमाशुल्क आर्जन गर्ने तेस्रोमा सगरमाथा इन्स्योरेन्स परेको छ । कम्पनीले उक्त अवधिमा ४३ करोड ९८ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा साढे ३७ प्रतिशतले बढी हो । उक्त अवधिमा भने कम्पनीले ३१ करोड ९७ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको थियो । तर, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी तथा युनाइटेड इन्स्योरेन्स कम्पनीको बिमाशुल्क आम्दानी गत आवको सोही अवधिको तुलनामा घटेको छ ।
गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा कम्पनीहरूले आम्दानी गरेको बिमाशुल्कको वृद्धिको तुलनामा एभरेस्ट इन्स्योरेन्स अग्रपंक्तिमा देखिएको छ । गत आवको तुलनामा चालू आवमा कम्पनीको बिमाशुल्क आम्दानी ६६ प्रतिशतले बढेको छ । चालू आवमा कम्पनीले ९ करोड ९६ लाख रुपैयाँ बिमाशुल्क आम्दानी गरेको छ भने गत आवमा कम्पनीले ५ करोड ९९ लाख रुपैयाँ बिमाशुल्क आम्दानी गरेको थियो । त्यस्तै, एनबी इन्स्योरेन्स कम्पनीको बिमाशुल्क आम्दानी पनि ३३ प्रतिशतले बढेको छ ।
तर, तेस्रो त्रैमास अवधिमा कम्पनीहरूले भुक्तानी गर्न बाँकी रहेको दाबी रकम भने १४ अर्ब ४४ करोड रुपैयाँ बाँकी छ । त्यस्तै, उक्त अवधिसम्ममा कम्पनीहरूले १ लाख ७० हजार ८७८ वटा दाबीको भुक्तानी गर्न बाँकी छ । कम्पनीहरूको चुक्ता पुँजी ७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । बिमा कोषमा भने ७ अर्ब २० करोड रुपैयाँ जम्मा भएको छ । कम्पनीहरूको दीर्घकालीन लगानी ५ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । कम्पनीहरूको आम्दानी २१ करोड ९० लाख रुपैयाँ पुगेको छ भने व्यवस्था तथा खर्चहरू ३८ करोड ८९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीहरूको आय १३ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ भने व्यव १३ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।