Logo

सिटामोल किन्न घण्टौं पैदल

काभ्रे-जिल्लाका विकट डाँडापारिका स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राही सेवा लिनबाट वञ्चित हुँदै आएका छन् । महाभारत र खानीखोला गाउँपालिकाका स्थानीयवासी कर्मचारी नहुँदा सामान्य औषधि उपचारसमेत पाउन सकेका छैनन् । खानीखोला गाउँपालिकाका स्थानीय निर्मल लामाले सामान्य उपचार पाउन पनि नसकेको गुनासो गरे । भएका स्वास्थ्य चौकीमा कर्मचारी नै हुँदैनन्, आएका पनि केही दिन बसेर हिँड्ने गर्छन् । उनले दुःखेसो पोख्दै भने, “यहाँ त सिटामोल पाउन पनि मुश्किल छ । यहाँका स्थानीयको जीवनयापन कहाली लाग्दो छ ।”
राज्यले ७३ प्रकारका औषधि निःशुल्क वितरण गर्ने भने पनि यहाँका स्थानीयले सिटामोलका लागि घण्टौं हिँडेर किनेर खानुपर्ने बाध्यता छ । लामाका अनुसार ज्वरो आएको, टाउको दुखेको, पेट दुखेको सबैको औषधि यहाँका बासिन्दाका लागि सिटामोल नै हो । स्वास्थ्य चौकीमा दरबन्दीअनुसार कर्मचारी नहुँदा स्थानीय सामान्य उपचार लिन पनि सदरमुकामसम्म धाउनुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनासो छ । “गाउँमा सिंहदरबार आयो भनेको पनि एक वर्ष भयो तर निर्वाचित जनप्रतिनिधि त सिंह भएको पाइयो तर जनताको पीडा भने उही छ ।” दरबन्दीअनुसार अनमी नहुँदा गर्भवती महिला तथा सुत्केरीको नियमित परीक्षण गर्न समस्या हुँदै आएको छ । महाभारत गाउँपालिकाअन्तर्गत पर्ने बनखु स्वास्थ्य चौकी आइपुग्न सोही गाउँपालिकाको ७ नम्बर आहाले बाँसपुर, कालिमाटी, बिसौनीडाँडाबाट ४ घण्टा पैदल हिँडेर सेवाग्राही सेवा लिन आउनुपर्छ, तर कर्मचारी नहुँदा त्यतिकै फर्कनु पर्ने अवस्था रहेको स्थानीय फुलमाँया तामाङले बताइन् । लामो पैदल हिँडदै स्वास्थ चौकी पुगियो तर सेवा पाइएन । उनी भन्छिन्, “जाँदा चार घण्टा आउँदा चारघण्टा आठ घण्टा हिँडियो तर सेवा नै पाइँदैन ।”
अधिकांश कर्मचारी डाँडापारि जानै मान्दैनन्, गए पनि राज्यले काभे्रका सबै स्थानलाई एकै प्रकारको मापदण्डमा हेरिदिँदा यहाँ कर्मचारी बस्न मान्दैनन् । एक कर्मचारीले नाम नछाप्ने सर्तमा भने, धुलिखेलमा काम गर्ने र डाँडापारिमा काम गर्ने कर्मचारीको हैसियत बराबर भएपछि किन आउनु डाँडापारि नै, न दुर्गम भत्ता छ न त बढी नै नम्बर आउँछ । न कुनै सेवा सुविधा नै पाइन्छ । अझै पनि दुई वडाको एउटा स्वास्थ्य चौकी छ । गर्भवतीहरूको स्वास्थ्य परीक्षण, अतिआवश्यक औषधि नहुँदा सेवा प्रभावित हुन पुगेको स्थानीयवासीले गुनासो गर्न थालेका छन् । यस्तो समस्या बनखु स्वास्थ चौकीमा मात्रै नभई अहिले महाभारत गाउँपालिकाको ८ वटै वडामा छ ।
स्वास्थ्य क्षेत्रमा ३१ जना कर्मचारी हुनुपर्नेमा १० जनामात्रै रहेको र तिनीहरू पनि आफ्नो व्यक्तिगत कामका लागि बाहिर जानु परेको अवस्थामा स्वास्थ्य चौकी नै बन्द गरेर हिँड्नु परिरहेको छ । प्रतिस्वास्थ चौकी ५ जनाको दरबन्दी हुनुपर्नेमा २ जना पनि छैनन् । सरकारले स्थानीय तहमा जनप्रतिनिधि आएसँगै करारमा कर्मचारी व्यवस्थापन गरेको भनिए पनि आवश्यक पर्दा उपस्थित छैनन् । लोक सेवाको पदपूर्तिबाटै आएका कर्मचारी जिल्लामा आए पनि उनीहरूलाई यस्ता आवश्यक क्षेत्रमा खटाइएको छैन । खटाइएका कर्मचारी पनि आवश्यक बेला उपस्थित हुँदैनन् ।
यसतर्फ स्थानीयवासीहरूले तत्काल आफ्नो समस्या हल गर्न सम्बन्धित निकायलाई अपिल गरेका छन् । विकट मानिएको सो क्षेत्रहरूमा अहिले पनि गर्भवती महिलालाई सुत्केरी गराउन पैदल हिँडाएर, स्ट्रेचरमा राखेर घण्टाँैपछि स्वास्थ चौकीमा पु¥याउने गरिए पनि सेवाग्राहीहरूले सेवा पाउन सकिरहेका छैनन् । सरकारी सेवा सुविधाबाहेकका एनजीओका सेवा सुविधासमेतबाट यी क्षेत्र भौगोलिक विकटताकै कारण वञ्चित हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्