मौरीपालनबाट मनग्य आम्दानी «

मौरीपालनबाट मनग्य आम्दानी

डडेल्धुरा- डडेल्धुराको आलिताल गाउँपालिका किसान मौरीपालनबाटै मनग्य आम्दानी गर्न थालेका छन् । मह उत्पादनमा आलिताल गाउँपालिका देशकै नमुना क्षेत्रमा पर्छ ।
पछिल्लो समय यहाँका किसानले मौरीपालनलाई व्यावसायिक बनाउँदै राम्रो आम्दानी गरिरहेका छन् । कम मेहनतमा बढी आम्दानी हुने भएपछि किसानहरु यसतर्फ आकर्षित भएका हुन् । आलिताल गाउँपालिकामा मौरीका लागि चाहिने प्रसस्त जंगल र चिउरीका बिरुवा र उचित हावापानी भएकाले यहाँका किसान पनि मौरीपालन व्यवसायतर्फ लागेका हुन् ।
अहिले गाउँपालिकाका धेरै युवा मौरीपालनमा लागेका छन् । यसअघि छिमेकी मुलुक भारत तथा खाडी मुलुकमा रोजगारी खोज्दै पुग्ने युवाहरु पनि अहिले गाउँमै मौरीपालनमा लागेको स्थानीय किसान राधिका बोहराले बताइन् । पढेलेखेका युवा पनि यही व्यवसायमा लागेका छन् । यहाँका किसानले मौरीपालन गरेर वार्षिक २ देखि ३ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । मौरीले राम्रो मह उत्पादन दिने भएकाले आम्दानी पनि राम्रो हुने गरेको किसान पुरन विष्टले बताए ।
डडेल्धुरामा उत्पादित मह बैतडी, दार्चुला, बाजुरा, अछाम, डोटी र तराइका जिल्लाका साथै काठमाडौंसम्म पनि निर्यात हुने गरेको किसानहरु बताउँछन् । जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले जिल्लालाई मह उत्पादनको पकेट क्षेत्र बनाउने उद्देश्य राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्