समयमै पुल निर्माण नहुँदा स्थानीय जोखिम मोलेर खोला तर् बाध्य «

समयमै पुल निर्माण नहुँदा स्थानीय जोखिम मोलेर खोला तर् बाध्य

धनुषाको पूर्वीक्षेत्रमा समयमै पुल निर्माण सम्पन्न नुहँदा स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य भएका छन् । धनुषाको हंसपुर नगरपालिकाको बेल्हीस्थित बालुवा खोलाको पर्साहीमा निर्माणाधीन पुल ठेकेदारको लापरबाहीले समयमै पूरा हुन नसक्दा झण्डै पाँच नगरपालिका/गाउँपालिकाका स्थानीय जोखिम मोलेर पुल तर्न बाध्य भएका हुन् ।
हिउँदको समयमा बाँसको पुलले जेनतेन धाने पनि वर्षायाममा स्थानीय बासिन्दाले सास्ती बहोर्नु परिरहेको छ । हंसपुर, सहिदनगर, कमलामाई, जनकनन्दनी, सबैला, गणेशमान चारनाथ नगरपालिकासहितका स्थानीय बलुवा खोलामा आउने बाढीले वर्षायाममा खोला तर्न बनाइएको पुल बगाउँदा आवतजावतमा समस्या भएको सहिद नगरपालिका यदुकुहाका राजकुमार साह बताउँछन् । उनले भने, “हामीलाई प्रायःजसो एक–दुई दिनमै जनकपुर आउनु जानुपर्ने हुन्छ, तर अन्य बाटो भएर जादा घण्टौं लाग्छ, अलि पायक पर्ने बाटो यही हो, तर यहाँ पनि असार लाग्दै बनाएको पुल बाढीले बगाएपछि अझै कति दिन यसरी नै काट्नुपर्ने हो थाहा छैन ।”
धनुषाको पूर्वीभेगका जनतालाई प्रदेश नं २ को राजधानी यदुकुहा जनकपुरधामसँग जोड्ने मनहरपुर–खरिहानी सकडकको मुख्य भागमा रहेको पुल निर्माणले गति नलिँदा बर्सेनि सो क्षेत्रका स्थानीय सास्ती खेप्न बाध्य छन् । धनुषा हंसपुर नगरपालिका बघचौडाका स्थानीय रामदेव कापड भन्छन, “जब बर्खायाम सुरु हुन्छ, बर्खे भेल र पानीको उर्लंदो बहाबसँगै खोला बढेर वारपार गर्ने काठेपुलसमेत खोलाले बगाइदिन्छ, तब यहाँका मान्छेको चासो हुन्छ, तर पछि सेलाउँदै जाने भएकाले पूर्वीभेगका बासिन्दा प्रत्येक दिन सास्ती भोग्न बाध्य छन् ।”
जिल्लाको पूर्वीक्षेत्रमा रहेको हंसपुर नगरपालिका–८ बेल्ही पर्साहीमा काठको पुल गतसाता आएको बाढीले बगाएको थियो । हाल बालुवा खोलामा खोला वारपारका लागि पुल नहुँदा स्थानीयवासी, सवारी साधनलाई सय रुपैयाँ तिरेर काठले बनाएको डुंगामा वारपार गराउने गरिए पनि पैदल यात्री निर्माणाधीन पुलमा सिंढी लगाएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
स्थानीय दैनिक उपभोग्य समान खरिद तथा प्रशासनिक कामकाजका लागि सदरमुकाम जनकपुर आउने भए पनि आँखाको नजर नै घुमाउने बालुवा खोला तर्नुपर्ने बाध्यता रहेको स्थानीय रामप्रवेश मण्डल बताउँछन् । उनले भने, “३–४ वर्षदेखि पुल निर्माण भइरहेको छ, तर निर्माण अझै पूरा हुन सकेको छैन, बर्खाको समयमा सामान खरिदलगायत विद्यार्थी र बिरामीलाई ल्याउन लैजानसमेत समस्या भएको छ ।”
नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत तत्कालीन जिल्ला विकास समितिअन्तर्गत जिल्ला प्राविधिक कार्यालयले ९ डिसेम्बर २०१५ मा रोशन कन्सट्रक्सन प्रालि जनकपुरसँग सम्झौता गरेर २२ मार्च २०१७ सम्म बनाउनु पर्ने सम्झौता गरे पनि हालसम्म निर्माणकार्य पूरा हुन सकेको छैन । राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरणअन्तर्गत बालुवा खोलामा निर्माणाधीन पुलको कुल लागत २ करोड ४८ लाख ६९ हजार २५ रुपैयाँमा छ ।

प्रतिक्रिया दिनुहोस्