Logo

प्रदेश ४ को नाममा सर्वसम्मति को प्रयास जारी

पोखरा- प्रदेश नम्बर ४ को नाम सर्वसम्मत जुटाउने प्रयासमा दलहरु लागेका छन् । प्रदेशको स्थायी राजधानीमा सहमति जुटेपछि नामको विषयमा पनि सहमतिको प्रयास गरिएको हो ।
प्रदेश राजधानी तथा नामांकन समितिका संयोजक बिन्दुकुमार थापाले भने, “सबैजसो पार्टीले आफ्नो धारणा प्रष्ट राखेका छन् । यद्यपि हामीले सकेसम्म सर्वसम्मत गराउने गरी थप दुई दिनको लागि समय दिएका कारण मंगलबारको संसद बैठक स्थगित भएको हो ।” उनका अनुसार साविक नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश राख्नुपर्ने माग गरेका छन् । नयाँ शक्ति पार्टीले गण्डकी तमुवान हुनुपर्ने पहिलो नम्बरमा माग गरेको छ भने दोश्रोमा गण्डकी र तेश्रोमा अन्नपूर्ण हुनुपर्ने माग राखेको संयोजक थापाले बताए । मत सर्वेक्षण गर्दा गण्डकी प्रदेशमा ३ सय ८६ जना अर्थात् ४५ प्रतिशत देखिएको थापाले जनाए ।
साविकको नेकपा माओवादी केन्द्रका उपनेतासमेत रहेका सांसद राम्जी बरालले प्रदेश राजधानी पोखरा भएजस्तै सवै दलहरुसँगको छलफल गरी नामको विषयमा पनि सर्वसम्मत हुने गरी छलफलको लागि दुई दिनको समय लिइएको बताए ।

प्रतिक्रिया दिनुहोस्