आँपको खपत दोब्बर, मूल्य भने आधा

• उपत्यकामा २५ करोडको नेपाली आँप
• दशकयताकै उच्च उत्पादन, मूल्य आधा कम
• नेपाली माल्दहका कारण भारतीय माल्दह भित्रनै पाएन
काठमाडौं उपत्यकामा आँपको खपत यो वर्ष दोब्बरले बढेको छ भने मूल्य आधा घटेको छ । नेपालमा उत्पादन बढेका कारण यो सिजनमा भित्रने भारतीय आँप भित्रनै नपाएको व्यवसायीहरू बताउँछन् ।
बल्खुस्थित फलफूल थोक व्यावसायिक संघका अनुसार औषतमा दैनिक १० गाडी आँप बल्खु थोक बजारमा भित्रिरहेको छ । “एक गाडीमा ५ सय पेटी हुन्छ भने एक पेटीको थोक मूल्य अहिले आठ सयको दरले दैनिक ४० लाख रुपैयाँको आँप बल्खु बजारबाट मात्र विक्री भैरहेको छ,” संघका अध्यक्ष अमर बानियाँले भने, “गत वर्ष सुरुका दुई महिनामा भारत र नेपाली आँपको हिस्सा ५०÷५० प्रतिशत हुथ्यो तर यो वर्ष पूरै सिजन नेपाली आँपमात्र भित्रिएको छ ।” यति धेरै मात्रामा नेपाली आँप काठमाडौंमा भित्रिएको दशक यताकै धेरै पहिलो भएको उनको अनुभव छ ।
आँपले गर्दा अन्य फलपूmलको विक्री नै नभएको अनुभव व्यवसायीको छ । सिजनमा सबैभन्दा बढी कारोबार हुने आँप हो माल्दह । तर, नेपाली माल्दह समयमै धेरै मात्रामा भित्रदा भारतीय माल्दह आँपले नेपाली बजारमा प्रवेश नै नपाएको संघले जनाएको छ । काठमाडौंमा आइपुग्दाको नेपाली माल्दह आँपको मूल्य र भारतमा भारतीय माल्दह आँपको मूल्य उस्तै पर्न आउने भएकाले भारतीय आँप कम भित्रिएको हो । यो वर्षको आँपको सिजन सुरु भएयता नै मूल्य स्थिर रहेको र अझै डेड सातासम्म मूल्य स्थिर नै रहने अवस्था रहेको अध्यक्ष बानियाको अनुमान छ ।
गतवर्ष १८ किलोको कार्टुनको प्रतिकार्टुन औषत एक हजार ६ सय पर्ने गरेकोमा यो वर्ष प्रतिकार्टुन ८ सय मात्रमा बल्खुबाट थोक कारोबार भइरहेको छ । गत वर्ष प्रतिकिलो ७५ रुपैयाँमा थोक कारोबार भएको आँप अहिले ४५ देखि ५५ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ । खुद्रा मूल्यमा भने काठमाडौंमा एक रूपता छैन । खुद्रामा भने उपत्यकामा ७५ रुपैयाँ प्रतिकिलोदेखि १ सय १० रुपैयाँ प्रतिकिलोसम्ममा विक्री गर्ने गरिएको छ । यद्यपी गत वर्ष भन्दा यो कम हो । नेपालको दुई नम्बर प्रदेशका जिल्लाहरू आँप उत्पादनमा अग्रणीमा पर्दछन् ।
नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरे उपत्यकामा आँप भित्रिएको तर घर घर पु¥याउने साइकल र ठेलाको संख्या घटेकाले थोक व्यवसायीले सस्तोमा विक्री गर्नु परेको बताउँछन् । “भित्रिएको आँप उपभोक्तासम्म पु¥याउने ठेलागाडा, रिक्सा र साइकलमा फलफूल तथा तरकारी विक्री गर्नेमाथि काराबाही थालेपछि व्यवसायीको संख्या घटेपछि थोक व्यवसायीले कम मूल्यमै विक्री गर्नुपर्ने अवस्था आएको छ,” उनी भन्छन्, “आँप पाक्नु अगाडी नै रुख नै किन्नु पर्ने भएकाले कतिपय व्यवसायीले आँपको मूल्य नपाएर घाटा पनि बेहोरेका छन् ।” उपभोक्ताले सस्तोमा गुणस्तरीय आँप उपभोग गर्न पाएको उनको भनाइ छ ।
तरकारी तथा फलफूलको मुलुकभरको कारोबारको करिव ४० प्रतिशत बजार काठमाडौं मै रहेको महासंघको अनुमान छ । भारतको कलकत्तिया र कृष्णभोग आँप नेपाली बजारमा भित्रने गरेका छन् । “यी आँप पनि दैनिक ६० देखि १०० टन अर्थात् ५ देखि ७ गाडी भित्रन्छन्,” अध्यक्ष बानिया भन्छन्, “कलकत्तिया र कृष्णभोग खरिदमा डेडदेखि दुई महिनासम्म दैनिक ३० लाख रुपैयाँ भारत जाने गरेको छ ।” नेपालमा व्यावसायिक रूपमा आँप लगाएतका फलफूल उत्पादनमा सरकारले प्राथमिकता नदिँदा करोडौं रकम बाहिरिने गरेको उनको गुनासो छ ।