पोखरामा चरा उत्सव हुने

पोखरा-पर्यटकीय नगरी पोखरामा यही असार १९ गतेदेखि चरा उत्सव (पोखरा बर्ड फेयर) २०७५ हुने भएको छ । पोखरा पन्छी समाजको आयोजनामा यही असार २१ गतेसम्म पोखरा पर्यटन बोर्डको प्रदेश नम्बर ४ को कार्यालय पोखरा ड्यामसाइडमा हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । ‘टुगेदर फर बर्ड, पीपल एन्ड टुरिजम’ भन्ने नारासहित चरा पर्यटन प्रबद्र्धनका लागि उक्त उत्सव आयोजना गर्न लागिएकोे समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए । पोखरा उपत्यका आसपासमा पाइने चराहरूको संरक्षण गरी प्रदेश नम्बर ४ र समग्र देशमा पाइने चराको संरक्ष गर्नु उत्सवको मुख्य उद्देश्य रहेको उनले जनाए ।
चरा उत्सवको पहिलो दिन असार १९ गते पथ प्रदर्शक तथा टुर लिडरहरूलाई ‘बर्ड वाचिङ टे«निङ फर टुरिजम प्रोफेसनल’ तालिमको सैद्धान्तिक कक्षा सञ्चालन हुने भएको अध्यक्ष घिमिरेले जनाए । उत्सवको दोस्रो दिन असार २० गते बिहान प्रयोगात्मक कक्षा सञ्चालन हुनेछ भने सोही दिन दिउँसो चरा वातावरण तथा जैविक विविधतासम्बन्धी फोटो प्रदर्शनी र अन्तर माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिता हुने भएको छ । तेस्रो तथा अन्तिम दिन असार २१ गते बिहान रानिवनमा करिब दुई घण्टाजसो चरा अवलोकन प्रतिस्पर्धा तथा फोटो वाल्क कार्यक्रम हुने भएको छ भने दिउँसो औपचारिक समापन समारोह हुने भएको छ ।
यसैबीच, पोखरामा ४ सय ६३ प्रजातीका चरा पाइने भएको समाजका अध्यक्ष घिमिरेले बताए । पोखराका जलाशय क्षेत्रमा ७८ वटा जलचर र फेवातालमा मात्र ४६ वटा प्रजातिका चरा पाइने उनले बताए । घिमिरेका अनुसार नेपालमा ८ सय ८७ प्रजातिका चरा पाइन्छ । उक्त कार्यक्रम सम्पन्न गर्न ६ लाख ५० हजार खर्च लाग्ने समाजले जनाएको छ ।