Logo

पारवाहन–यातायात सम्झौताको प्रोटोकलमा एक महिनाभित्र सम्झौता

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबाट आर्थिक सहयोगको खाका तयार भएको बताएका छन् । प्रधानमन्त्री ओलीले ६ दिने चीन भ्रमणबारे मंगलबार प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउने क्रममा २ वर्ष पहिलेको पारवाहन सम्झौतालाई महत्व नदिएका कारण सम्झौताको प्रति फेला पारेर धुलो टक्टक्याउन समय लागेकाले प्रोटोकलबारे छलफल गर्न नभ्याइएको भन्दै आगामी जुलाईभित्र प्रोटोकलमा सम्झौता हुनेमा निर्धक्क हुन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणबाट नेपालमा ठूलो मात्रामा चिनियाँ लगानी भित्र्याउने वातावरण बनेको दाबी पनि गरे । उनले चीनसँगको सम्म्बन्ध राजनीतिकरूपमा सुदृढ भइ दीर्घकालीन आर्थिक सहयोगको खाका तयार भएको पनि बताए । उनले आफ्नो भ्रमणबाट खासगरी रेलमार्ग, ऊर्जा, यातायात, पर्यटनलगायत विषयमा सहयोगको दायरा फराकिलो भएको जानकारी दिए । चीन भ्रमणबाट फर्किएको पर्सिपल्ट बैठकमा उपस्थित भएका प्रधानमन्त्री ओलीले भ्रमण सोचेभन्दा बढी उपलब्धिमूलक भएको दाबी गरे ।
असार ५ देखि १० गतेसम्म चीन भ्रमण गरेका ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र समकक्षी ली खछ्याङसँग भेटवार्ता गरेका थिए । ओलीको भ्रमणका क्रममा दुई देशबीच १४ बुँदे समझदारी भएको थियो । ओलीले भ्रमणबारे आधा घण्टा लगाएर ब्रिफिङ गरेलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सभामुख कृष्णबहादुर महरासँग समय लिइ पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा किन सम्झौता भएन भनी प्रश्न गरेका थिए ।

लगानी बोर्ड र राष्ट्रिय योजना खारेज गर्न माग
प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बजेटमाथिको छलफलमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लगानी बोर्ड खारेजीको माग गरेका छन् । उनले लगानी बोर्डमाथि विदेशी लगानी जुटाउने नाममा मुलुकभित्रको प्राकृतिक स्रोत विदेशीलाई मुनामा आर्जनका लागि प्रयोग गर्न दिएको आरोप लगाए ।
नेमकिपाका सांसद सुवालले राष्ट्रिय योजना आयोग समेत खारेज गर्न माग गरे । उनले मन्त्रीहरूले आफ्नो खल्तीबाट योजना बनाउने गरेको र योजना तर्जुमामा आयोगलाई भूमिकाविहिन बनाइएको भन्दै पार्टीका कार्यकर्तालाई जागिर खुवाउने प्रयोजनका लागि आयोग राखिरहन आवश्यक नरहेको बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेटमाथिको दफाबार छलफलमा भाग लिने क्रममा सांसदहरूले कार्यालयको बजेट बढाइनुको कारण समेत माग गरेका थिए । यस्तै, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ राजाको संज्ञा दिएको छ । कांग्रेसले खासगरी प्रधानमन्त्री ओली चीन भ्रमणबाट फर्कने क्रममा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको आन्तरिक विमानका यात्रुलाई एक घण्टासम्म विमानभित्रै राखिएको भन्दै प्रधानमन्त्री ओलीलाई नयाँ राजाको संज्ञा दिएको हो ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री ओलीको स्वागत गर्ने नाममा नागरिकलाई विमानभित्रै थुनेर अपमान गरिएको भन्दै नयाँ राजाको अवतार प्रस्तुत नगर्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिए ।
संसद् बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसले गृहमन्त्री रामबहादुर थापालगायतलाई नियन्त्रणमा राख्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण पनि गराएको छ । सांसद डाक्टर रिजालले गृहमन्त्री थापामाथि कानुनविपरित निर्माण व्यावसायी र उद्योगीहरूलाई थुन्ने धम्की दिएको आरोप लगाउँदै सरकारसँग बहुमत भएको नाममा मन्त्रीहरूलाई कानुनविपरितका अभिव्यक्ति दिने र क्रियाकलाप गर्ने छुट नरहेको बताए । उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको बजेटमाथिको दफाबार छलफलमा भाग लिने क्रममा मन्त्रीहरूलाई कानूनको परिधिभित्र राख्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए ।
प्रतिनिधिसभामा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको बजेटमाथिको दफाबार छलफल सकिएसँगै मन्त्रीहरूले जवाफ दिने क्रम सुरु भएको छ । मंगलबार खानेपानी मन्त्री वीना मगर, कृषि, भूमिव्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल, कानुनमन्त्री शेरबहादुर तामाङलगायतले आफ्नो मन्त्रालयको बजेटमाथि उठाइएका प्रश्नको जवाफ दिए ।

 

प्रतिक्रिया दिनुहोस्