Logo

चुनढुंगा खानी सम्झौतापछि स्थानीय उत्साहित

धादिङ-प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग धादिङको बेनीघाट–रोराङ गाउँपालिकामा चुनढुंगा खानी सञ्चालन गर्न सम्झौता गरेपछि स्थानीय उत्साहित भएका छन् । सामान्य किसिमको सुक्खा वन क्षेत्र रहेको स्थानमा खानी सञ्चालन हुने भएपछि फाइदा हुने आशामा स्थानीय उत्साहित भएका हुन् ।

१८ महिनामा निर्माण सकिने उद्योगले दैनिक ९ सय जनालाई रोजगार दिन सक्ने बताइएको छ ।

चीनमा भएको सम्झौताअनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ पयुँखर्क र मकवानपुरको राक्सिराङ गाउँपालिका–९ जोगीटोलमा खानी सञ्चालन हुनेछ । खानीबाट स्थानीयलाई रोजगार सिर्जना हुने र सडक निर्माणसहित भौतिक पूर्वाधारको विकास हुने भएकाले स्थानीयलाई फाइदा हुने बेनीघाट रोराङ–२ का वडाध्यक्ष टंक थापाले बताए । चुनढुंगा उद्योग ठूलो र दीर्घकालीन हुने भएकाले रोजगारी सिर्जना, विकास पूर्वाधार, आर्थिक स्रोत वृद्धि तथा रोयल्टी प्राप्त हुने भएकाले बेनीघाट–रोराङ गाउँपालिकाको विकासमा कोसेढुंगा सावित हुने गाउँपालिकाका अध्यक्ष पित्तबहादुर (हरि) डल्लाकोटीले बताए ।
कम उत्पादन हुने पहाडमा कष्टकर जीवन निर्वाह गरिरहेका चेपाङ परिवारलाई स्थानान्तरण गर्दा उनीहरूको जीवनमा समेत परिवर्तन आउने, वार्षिक १८ करोड रुपैयाँभन्दा बढी रोयल्टी आउने, अर्धदक्ष जनशक्तिले पनि रोजगारी पाउने र भौतिक तथा आर्थिक विकासमा मद्दत पुग्ने मकवानपुरको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । उद्योगलाई चार सय रोपनी जग्गा आवश्यक पर्ने र राक्सिराङ गाउँपालिकाले २५० रोपनी जग्गा ४० वर्षका लागि भाडामा दिन छलफल भइरहेको उनले जानकारी दिए ।
मलेखु माछा बजारबाट १६ किलोमिटरमा ताल्ती र ताल्तीबाट ७ किलोमिटरमा खानी क्षेत्र पुग्न सकिन्छ । खानीक्षेत्रबाट २५ किलोमिटरमा प्रस्तावित उद्योग क्षेत्र राक्सिराङको चैनपुर पर्छ भने त्यहाँबाट ८ किलोमिटरको दूरीमा पूर्वपश्चिम महेन्द्र राजमार्गको मनहरि पुल पर्छ । ४० मेगावाट विद्युत् खपत गर्ने उद्योग वातावरणमैत्री हुनेछ । १८ महिनामा निर्माण सकिने उद्योगले दैनिक ९ सय जनालाई रोजगार दिन सक्ने बताइएको छ । यसको निर्माण जिम्मेवारी चीनको १०९ वर्षे पुरानो कम्पनी हुवाजिङले लिएको छ । यो कम्पनीले १२ वटा देशमा आफ्ना उद्योग सञ्चालन गर्दै आएको छ । कम्पनीले नेपालमा सञ्चालन सम्झौता गरेको ५४औं प्लान्ट हो । कम्पनीका लागि अन्वेषण÷अनुसन्धानमा सहयोग पुराउँदै आएका समाजसेवी तुलसीजंग थापाले यो क्षेत्रमा ५२ प्रतिशत चुनढुंगा भएको बताए । उद्योगलाई करिब एक सय वर्ष चुनढुंगा पुग्ने अनुमान गरिएको छ । नेपालमा हुवाजिङ नारायणी नामले उद्योग सञ्चालन हुनेछ ।
चुनढुंगा उद्योगले आर्थिक र भौतिक रूपमा गर्ने विकास जति महत्वपूर्ण छ, त्योभन्दा धेरै महत्वपूर्ण खानीमा उत्खनन् गर्दा निस्किएको गैरकच्चा पदार्थ व्यवस्थापन महत्वपूर्ण भएको सरोकारवाला बताउँछन् । गैरकच्चा पदार्थ व्यवस्थापन सही नभए खानी तलका मलेखु खोला आसपासका खेतीयोग्य जमिनको क्षति हुने र मलेखु बजारसमेत जोखिममा पर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्