‘चीनतिरका थप नाका सञ्चालनमा ल्याउनेछु’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणमा चीनसँगका थप नाका सञ्चालनमा ल्याउने विषयमा समझदारी गर्ने बताएका छन् । सोमबार संघीय संसद्का दुवै सदनलाई आफ्नो भ्रमणबारे जानकारी गराउँदै ओलीले चीन नेपालका लागि ठूलो बजार भएको र नेपालले व्यापारिकरुपमा ठूलो नाफा लिनसक्ने भन्दै रसुवागढी नाकाबाटमात्र व्यापार बढाउन सम्भव नहुने भएकाले थप नाका खोल्न समझदारी गर्ने बताए ।
ओलीले तीन वर्ष पहिले गएको भूकम्पका कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा विषयमा पनि चिनियाँ नेतृत्वसँग कुरा राख्ने प्रतिबद्धता जनाए । रेल्वे, ऊर्जा सहयोग, पुनःनिर्माण यी विषयमा दुईपक्षीय सम्झौता र समझदारीमा हस्ताक्षर हुने तथा चिनियाँ लगानी नेपालमा कसरी प्रवद्र्धन गर्न सकिन्छ र पर्यटन क्षेत्रमा कसरी लाभ लिन सकिन्छ त्यसबारे आफनो भ्रमणमा कोशिस गर्ने उनको भनाइ थियो । उनले मुलुकको वृहत्तर हित र राष्ट्रिय स्वाभिमानलाई केन्द्रविन्दुमा राखेर चिनियाँ नेतृत्वसँग कुरा गर्ने उल्लेख गर्दै चिनियाँ नेतृत्वसँग खासगरी नेपालको विकासमा सहयोग र सहकार्य तथा लगानीबारे छलफल गर्ने बताए । रेल र सडक सञ्जाल तथा जलविद्युत्लगायतका राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजनामा चिनियाँ सहयोगको मोडालिटीबारे छलफल गर्ने बताए ।
प्रधानमन्त्री ओली समकक्षी ली खछ्याङको निम्तामा मंगलबार (आज) चीनको ६ दिने भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओली दक्षिणी छिमेकी भारत भ्रमण गरेको साढे तीन महिनापछि १ सय ११ सदस्यीय जम्बो टोलीको नेतृत्व गरी चीन जान लागेका हुन् ।
गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, ९ जना सांसद, विभिन्न मन्त्रालयका कर्मचारी, उद्योगी व्यवसायी, गैरआवासीय नेपालीसमेत भ्रमण टोलीमा छन् । प्रधानमन्त्रीको भ्रमणबाट नेपालले सन् २०१६ को मार्चमा आफ्नै चीन भ्रमणमा गरिएका केही दूरगामी महत्वका सन्धि–सम्झौता कार्यान्वयनमा लैजाने पनि उनले बताए ।
“चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ भनेर एउटा अभियान लिएको छ,” उनले संसदमा भने, “त्यो इनिसिएटिभ उसले उपलब्धि सेयर गर्ने, कनेक्टिभिटी बढाउन उपयोग गरिरहेको छ र नेपालले पनि यसअघि नै बेल्ड एन्ड रोड इनिसिएटिभमा हस्ताक्षर गरिसकेको छ । बीआरआईभित्र रोड, हवाईमार्ग, रेल, अप्टिकल फाइबर समेत पर्दछन् । बाटो मात्र होइन बहुआयामिक केन्किभिटीको क्षेत्रमा के कसरी अगाडि जान सकिन्छ त्यसमा विचार विमर्श हुनेछ ।”
पछिल्ला वर्षहरूमा नेपालमा चीनको लगानी बढ्दो छ । हालसम्म १ हजार ३ सय ५८ उद्योग स्थापनाका लागि चीनले १ खर्ब ७ अर्ब १७ करोड ६४ लाख १० हजार रुपैयाँबराबरको लगानी प्रतिवद्धता जनाएको छ । तर, अर्कोतर्फ चीनसंगको नेपालको ब्यापार घाटा पनि बढ्दो छ । ओलीको भ्रमणले नेपाल चीन व्यापारघाटा घटाउन नेपाली उत्पादन चीनतर्फ निर्यातमा मद्दत गर्ने आशा रहेको विज्ञहरूले जनाएका छन् ।