पेट्रोल ३ र डिजेलको २ रुपैयाँ मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल र डिजेल र मटीतेलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल प्रतिलिटरमा ३ र डिजेल-मटीतेलमा २ रुपैयाँ मूल्य घटाएको हो ।
निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आएकाले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य घटाइएको जानकारी दिए । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटरमा एक सय १० रुपैयाँ र डिजेल-मटीतेल ९३ रुपैयाँ कायम भएको छ । हवाई इन्धन र खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत् राखेको निगमले जानकारी दिएको छ । मूल्य समायोजनपश्चात् निगमलाई १५ दिनमा सात करोड ८४ लाख रुपैयाँ घाटा रहेको छ । लामो समयदेखि बढ्दै आएको पेट्रोलियम पदार्थको मूल्य अहिले आएर घटेको हो । इन्डियन आयल कर्पाेरेसन (आईओसीले पठाएको नयाँ मूल्यअनुसार मूल्य घटेर आएकाले सोहीअनुसार सामायोजन गरिएको निगमले जानकारी दिएको छ । मूल्य समायोजनपश्चात् निगमलाई पेट्रोलमा प्रतिलिटरमा ६२ पैसा र डिजेलमा २ रुपैयाँ ४३ पैसा, ग्यासमा प्रतिसिलिन्डर एक सय ३९ रुपैयाँ ३९ पैसा घाटा रहेको छ । मूल्य समायोजनपश्चात् भारतको तुलनामा पेट्रोल प्रतिलिटरमा २२ रुपैयाँ र डिजेलमा २४ रुपैयाँ नेपालमा सस्तो रहेको छ ।
आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउँछ । सोहीअनुसार निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्छ ।