Logo

मन्त्रीबाट छड्के जाँच

गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रदूषणको छड्के जाँच गरेका छन् । २ मन्त्रीले आइतबार थापाथली चोकमा सवारीसाधन प्रदूषणको छड्के चेकजाँच गरेका हुन् ।
विश्व वातावरण दिवसको अवसरमा वन मन्त्रालयले आयोजना गरेको साताव्यापी कार्यक्रमअन्तर्गत आइतबार सडकमै पुगेर मन्त्रीहरूबाट प्रदूषण चेकजाँच भएको हो । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सवारीसाधनबाट प्रदूषण बढिरहेको भन्दै समयमा नै नियन्त्रण गर्न आवश्यक रहेको बताए । “प्रदूषण बढी गराउने सवारीसाधनलाई कारबाहीको दायरामा ल्याउने छौ,” उनले भने, “प्रदूषण नियन्त्रण, फोहोर व्यवस्थापन र हरियाली प्रवद्र्धनलाई एकीकृत गरेर महाभियान सुरु भएको छ ।”
गृहमन्त्री थापाले सर्वसाधारणहरू स्वस्थ्य रहन स्वच्छ वातावरणमा जिउन पाउनुपर्ने बताएका छन् । “वातावरणीय प्रदूषण न्यूनीकरणका लागि सवारी साधनको मापदण्ड जाँचलाई कडाइ गर्न जरुरी छ,” उनले भने । गृहमन्त्री थापाले स्वस्थ वातावरण भएमात्र नागरिक स्वस्थ रहने भन्दै यसमा सबैको साथ र सहयोग अपरिहार्य रहेको बताए । “प्रदूषणले नेपाललाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउन सक्दैन, अब प्रदूषणमुक्त नेपाल निर्माण गर्नुपर्छ,” उनले भने ।
वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीका अनुसार पेट्रोलबाट सञ्चालन हुने सवारी साधनले भन्दा डिजेलबाट सञ्चालन हुने सवारी साधनले बढी प्रदूषण गराइरहेको छ । “गत मंसिरबाट नै सवारी साधनको प्रदूषण जाँच गर्न थालेका थियांै, पछिल्लो समय प्रदूषणको मापदण्ड अनुसार चल्ने सवारी साधनको संख्या बढिरहेको छ, सुधार भएको पाएका छौं,” उनले भने, “कडाई रूपमा कार्यान्वयन गर्न नसके कार्यक्रमले प्रभावकारिता पाउन सक्दैन ।”

 

प्रतिक्रिया दिनुहोस्