दोस्रो किस्ताको रकम वितरण सुरु

भूकम्पबाट घर क्षति भएका तनहुँका भूकम्पपीडितलाई सरकारले दोस्रो किस्तावापतको रकम वितरण सुरु गरेको छ । हालसम्म ५१२ भूकम्पपीडितले दोस्रो किस्तावापतको रकम बुझेको भूकम्पीय पुनर्निर्माण आवास जिल्ला कार्यान्वयन इकाईले जनाएको छ ।
भवन डिभिजन कार्यालय गोरखाको सिफारिसका आधारमा प्रक्रिया पुगेका लाभग्राहीलाई दोस्रो किस्ताको रकम बैंक खातामा पठाइएको बताइएको छ । दोस्रो किस्ताको १ लाख ५० हजार रुपैयाँ पाउनेमध्ये व्यास नगरपालिकाका २४३, बन्दिपुर गाउँपालिकाका ११३, भानु नगरपालिकाका ५० जना, म्याग्दे गाउँपालिकाका ४०, आँबुखैरेनी गाउँपालिकाका २२, शुक्लागण्डकी नगरपालिकाका १८ र ऋषिङ गाउँपालिकाका १३ जना छन् । लाभग्राहीको सिफारिस सूचीमा परेका अन्य भूकम्पपीडितलाई समेत रकम वितरण गर्ने तयारी भइरहेको छ ।
तनहुँका १० वटै स्थानीय तहका १२ हजार ७ सय लाभग्राहीले पहिलो किस्तावापतको ५० हजार रुपैयाँ प्राप्त गरिसकेका छन् । जिल्लामा १३ हजार ८२१ लाभग्राही पहिचान भएका छन् । नीजि आवास बनाउन व्यास नगरपालिकाका २ हजार ६४९, भानु नगरपालिकाका ४ हजार २९४, बन्दिपुर गाउँपालिकाका ६४२, आँबुखैरेनी गाउँपालिकाका ७३१, देवघाट गाउँपालिकाका ७५७, घिरिङ गाउँपालिकाका २५४, भिमाद नगरपालिकाका १ हजार ३३, म्याग्दे गाउँपालिकाका १ हजार ३३०, शुक्लागण्डकी नगरपालिकाका १ हजार ८८३ र ऋषिङ गाउँपालिकाका ७१४ लाभग्राहीले अनुदान रकम प्राप्त गर्नेछन् । यस्तै प्रवलीकरण अन्तर्गत ४६६ लाभग्राहीमध्ये २१७ लाभग्राहीले पहिलो किस्तावापतको रकम बुझेका छन् ।
सरकारले भूकम्पपीडितलाई आवास निर्माणका लागि तीन किस्तामा ३ लाख रुपैयाँ अनुदान दिनेछ । पहिलो किस्तावापत भूकम्पपीडितलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै दोस्रो किस्तावापत १ लाख ५० हजार र तेस्रो किस्तावापत १ लाख गरी ३ लाख रुपैयाँ भूकम्पपीडितलाई प्रदान गरिनेछ ।
–कृष्ण न्यौपाने