Logo

एसडीजी पूरा गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण

दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्नका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको सरोकारवालाले बताएका छन् ।
एलडीसीवाच, सापे र रेस्फेकले बुधबार आयोजना गरेको दिगो विकास लक्ष्यमा निजी क्षेत्रको भूमिका र जिम्मेवारी विषयक कार्यक्रममा निजी क्षेत्रसँगै नागरिक समाज र सरकारले जनतालाई केन्द्रविन्दुमा राखेर कार्ययोजनाका साथ अगाडि बढ्नुपर्नेमा उनीहरूको जोड थियो ।
कुल गार्हस्थ उत्पादनको ३३ देखि ४० प्रतिशतमात्र राज्यले धानिरहेको र बाँकी निजी क्षेत्रले धानिरहेको जानकारी दिंदै कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलले एसडीजीलाई केन्द्रिकृत गरेर बजेट ल्याइएको र नेपालले दिगो विकास लक्ष्य हासिल गर्न धेरै मेहनत गर्नुपर्ने अध्ययन प्रतिवेदनले देखाएको बताए । “निजी क्षेत्रले नाफा कमाउने उद्देश्य पूर्ति गर्न खोज्दा सामाजिक उत्तरदायित्वलाई केन्द्रविन्दुमा राख्नुपर्छ, सबैले कर्पोरेट सामाजिक उत्तरदायित्वको बहन इमान्दारिताका साथ गर्नुपर्छ,” उनले भने, “राज्य संक्रमणकालबाट माथि आइसकेकाले आर्थिक समृद्धितर्फ अगाडि बढ्न मार्ग प्रशस्त भइसकेको छ ।”
एलडीसी वाचाका ग्लोबल कोर्डिनेटर गौरी प्रधानले निजी क्षेत्रले शिक्षा, स्वास्थ्य, अर्थ, विकास, वातावरण, यातायातलगायतमा महत्वपूर्ण योगदान गरेकाले दिगो विकास लक्ष्यमा पनि ठूलो देन रहने जानकारी दिए । नेपाल सरकारले बजेटमार्फत समृद्ध नेपाल र सुखी नेपालीको नारा समेटिएकोमा खुसी व्यक्त गर्दै २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्न अथक प्रयास निजी क्षेत्रले पनि गर्नुपर्नेमा जोड दिए । दिगो विकास लक्ष्य हासिल गर्नका लागि बर्सेनि ७ देखि ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्नुपर्ने देखिएको र यसका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
दिगो विकास लक्ष्यले आर्थिक वृद्धिदरलाई मात्र नहेरी सामाजिक विकासको पाटोलाई पनि हेर्ने जानकारी दिंदै उनले दिगो विकास लक्ष्य हासिल गर्नका लागि निजी क्षेत्रले ५५ प्रतिशत योगदान दिनुपर्ने बताए ।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) का कार्यकारी निर्देशक शान्तलाल मुल्मीले स्वास्थ्य, शिक्षा, खानेपानी, यातायातका क्षेत्रमा दिगो विकास हासिल गर्न निजी क्षेत्रले खेल्ने भूमिका महत्वपूर्ण हुने बताए ।
निजी स्वास्थ्य संस्था संघ नेपाल (अफिन)का महासचिव हेमराज दाहालले निजी क्षेत्रले १४ हजार २२० शैयासहित अस्पताल चलाइरहेको र यसमा १ खर्बभन्दा वढी लगानी रहेको जानकारी दिए । सरकारले स्वास्थ्य सेवाको पहुँच सर्वत्र पु¥याउन नसकेको अवस्थामा निजी क्षेत्रले ६० प्रतिशत जनतालाई स्वास्थ्य सेवा दिइरहेकाले दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको योगदान महत्वपूर्ण रहने धारणा राखे । नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले यातायात अत्यावश्यक छ भनेर सरकारले बुझ्न नसकेको र निजी क्षेत्रलाई निस्तेज पार्ने गरी नियम ल्याउनुभन्दा नियमन गर्नेतर्फ सरकार केन्द्रित हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्