चुरिया टनेल खनेको सय वर्षपछि देशभर ७ सुरुङमार्ग निर्माण गरिँदै

एसियाकै पहिलो आवागमन टनेल बनाएको १ सय वर्षपछि नेपालले फेरि सुरुङमार्ग निर्माण गर्ने गरी बजेट ल्याएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख भएअनुसार देशभरका विभिन्न सडकखण्डमा ७ वटा सुरुङ निर्माणको काम यसै वर्षदेखि थालिनेछ ।
नेपालमा सन् १९१७ मा पहिलोपटक टनेल निर्माण गरिएको थियो । बाराको अमलेखगञ्जदेखि मकवानपुरको भीमफेदिसम्म त्यतिखेर निर्माण भएको ग्राभेल सडक जोड्न ८७५ फिट लामो सुरुङ खनिएको थियो । यसको चौडाइ ९ फिट, उचाइ १० फिट र लम्बाइ ५ सय मिटर छ । नेपालको आधुनिक सडक सञ्जाल विस्तारको इतिहासमा कोसेढुंगा भनिएको यो सुरुङ निर्माण भएको ठीक सय वर्षपछि सरकारले देशभरका सडकमा आधुनिक सुरुङमार्ग निर्माण गर्न लागेको हो ।
चुरिया टनेल त्यतिखेरका चिफ इन्जिनियर एवं कर्नेल डिल्लीजंग थापाको डिजाइन र सर्वेक्षणमा खनिएको थियो । थापा त्यतिखेर पूर्वी नेपालका गभर्नर थिए । हेटौंडा बजारबाट ९ किमि दूरीमा प्रवेशमार्ग रहेको यो सुरुङबाट चुरे पर्वतको भूमिगत मार्ग हुँदै बाराको अमलेखगञ्जसम्म आवतजावत हुने गथ्र्यो ।
सन् १९१७ मा बनेको यो टनेल १९६० सम्म प्रयोगमा रहेको थियो । पूर्वपश्चिम हाइवे बनेपछि यो सुरुङ प्रयोगविहीन बनेको छ । प्रख्यात स्वीस भूगर्भविद् टोनी हेगनको टोली नेपाल आउँदा यही सुरुङमार्गमार्फत हेटौंडा निस्केको टोनीको नेपाल वृत्तचित्रमा उल्लेख छ ।
सरकारले आगामी आवभित्रै नौबिसे–नागढुंगा छिचोल्ने सुरूङमार्ग निर्माणको काम थाल्दैछ । यो खण्डको सुरूङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले बनाइसकेको छ ।
यस्तै, गणेशमान सिंह मार्गको थानकोट–चित्लाङ खण्ड, बीपी नगर–खुटिया–दिपायल खण्ड, अरनिको राजमार्गको कोटेश्वर–जडीबुटी खण्ड, बीपी लोकमार्गको खुर्कोट–चियाबारी, रूपन्देहीस्थित बुटवल सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकअन्तर्गत सिद्धबाबा खण्ड र नुवाकोटलाई केन्द्रीय राजधानी काठमाडौंसँग जोड्ने टोखा–छहरे छिचोल्ने सुरुङमार्गको अध्ययन र निर्माण यही वर्षदेखि सुरु गर्ने सरकारको दाबी छ ।
नेपालको ८३ प्रतिशत भूभाग पहाड र हिमाली क्षेत्रले ढाकेकाले कम लागत र समयावधिमा निर्माण एवं यात्रा गर्न सुरुङमार्ग नै उपयुक्त उपाय भएको निश्कर्ष विकासे मन्त्रालयहरूले यसअघि नै निकालेका थिए । पूर्वाधार निर्माणका लागि सतहको जमिन घट्दै जाने र चर्को मुआब्जा दिनुपर्ने बाध्यताको विकल्प सुरुङमार्ग हो ।
सडकको सुरुङमा सामान्यतयाः ५० मिटरको दूरीमा भेन्टिलेसन र २४ सै घण्टा विद्युत् आपूर्ति हुनुपर्छ । पहाडी भागमा करिब २० किमि सतही सडकलाई छोट्याउन २ किमि हाराहारीकै सुरुङ पर्याप्त हुने सडक विभागका अधिकारीहरू बताउँछन् । सरकारले आगामी आर्थिक वर्षदेखि निर्माण थाल्ने भनेको नागढुँगा–नौबिसे सडकको लम्बाइ १० किमि छ, तर सुरुङमार्फत २.५ किमि लम्बाइमै नागढुंगादेखि नौबिसे छिचोल्न सकिन्छ ।
सडक विभागले गरेको अध्ययनमा काठमाडौं उपत्यकाभित्र मेट्रोरेल बनाउन सुरुङमार्ग उपयुक्त देखिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म नेपालका जलविद्युत् आयोजनाहरूमा करिब २ सय किमि सुरुङ बनाइएको छ । सपोर्ट बलियो बनाउनुपर्ने हुनाले जलविद्युत्को भन्दा सडकको सुरुङ निर्माण लागत बढी पर्छ ।
निर्माण गर्न लागिएका सुरुङमार्ग
नौबिसे–नागढुंगा
टोखा–छहरे
बुटवल–पाल्पा
कोटेश्वर–जडिबुटी
खुर्कोट–चियाबारी
बीपीनगर–खुटिया–दिपायल
थानकोट–चित्लाङ