१८ औं अन्तर्राष्ट्रिय दूध दिवस मनाइँदै

१८ औं विश्व दूध दिवस विभिन्न कार्यक्रम गरी शुक्रबार मनाइने भएको छ । दुग्ध क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले दुग्ध विकास बोर्डको संयोजकत्वमा ‘पालौं पशु कमाऔं धन, शुद्ध दूध स्वस्थ जीवन’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।
नेपालमा भने यो दिवस मनाउन थालिएको आठौं वर्ष हो । संयुक्त राष्ट्र संघ कृषि तथा खाद्य संगठन एफएओको संयोजकत्वमा विश्वभर जुन १ तारिखलाई विश्व दूध दिवसका रुपमा सन् २००१ देखि मनाइँदै आइएको छ । नेपालमा मनाइने दिवसमा पशुसेवा विभाग, पशु उत्पादन निर्देशनालय, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ, केन्द्रीय पशुपन्छी पालन सहकारी संघलगायतका संघ–संस्थाले सहकार्य गरेका छन् ।
एफएओको मापदण्ड अनुसार स्वच्छ रहन प्रतिव्यक्ति प्रतिवर्ष कम्तिमा ९१ लिटर दूध उपभोग गर्नुपर्छ । नेपालमा यो दर ७२ लिटर छ । गत वर्ष मुलुकभर १९ लाख मेट्रिक टन दूध उत्पादन भएको तथ्यांक छ । नेपालमा उत्पादन हुने दूधको १७ प्रतिशत मात्र औपचारिक क्षेत्रबाट दुग्ध सहकारी र उद्योगमार्फत कारोबार हुँदै आएको छ भने ३३ प्रतिशत अनौपचारिक रुपमा उपभोक्तासम्म जाने गरको छ । ५० प्रतिशत दूध कृषक आफैंले उपभोग गर्ने गरेको तथ्यांक छ ।