वडाध्यक्ष पानी लिन भारततिर

दाङ-गढवा गाउँपालिका–८ का वडाध्यक्ष सद्धाम सिद्दीकी खानेपानीका लागि दैनिक साँझ–बिहान भारतीय भूमिमा पुग्छन् । उनीमात्र होइन, यस क्षेत्रका सबैै स्थानीय खानेपानीका लागि भारतीय भूमिमा पुग्नुपर्छ । “खानेपानीको समस्या छ, त्यसैले म आफैं भारतमा गएर पानी ल्याउने गरेको छु,” वडाध्यक्ष सिद्धीकीले भने, “भारतमा गएर पानी ल्याउनुपर्दा अप्ठ्यारो लाग्ने गरेको छ ।”
आफूले भारतसँग पानी सहज रुपमा उपलब्ध गराउनका लागि समन्वय गरेको उनले बताए । कोइलावास का स्थानीयलाई खानेपानीको लागि हिउँदको समयमा भारतको भर पर्नुपर्ने बाध्यता छ । अहिले कोइलावासमा रहेका कुवा तथा खोलासमेत सुकेको कोइलावास भन्सारका प्रमुख ओमप्रकाश केसीले बताए । भारतीय सुरक्षा बलले दिएको पानी ल्याउने गरेको उनको भनाइ छ । केही समयअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पानी दिने धाराको मोटर बिग्रिएपछि ट्यांकरबाट पानी ल्याएर वितरण गरेको भन्सार प्रमुख केसीले बताए ।
भारतीय सुरक्षाबलले दैनिक बिहान–बेलुका २-३ घण्टामात्र धारा खोलिदिने गरेका छन् । स्थानीय अरिफ सिद्धीकी पनि पानीको ठूलो समस्या रहेको बताउँछन् । “हामी नेपालमा बसेर पनि नेपालको पानीसमेत खान पाउँदैनौं । सबै चिजका लागि भारतमै भर पर्नुपर्ने बाध्यता छ,” उनले भने । खानेपानी समस्या समाधानका लागि राज्यले ध्यान नदिएको उनको गुनासो छ । नेपालमा बसे पनि नेपाली भएको अनुभूति गर्न नपाएको स्थानीय गुनासो गर्छन् ।
डिप बोरिङ निर्माण गरिँदै
खानेपानीका लागि भारतको भर पर्नुपरेपछि कोइलावासमा डिप बोरिङ स्थापना गर्न काम सुरु भएको छ । त्यसका लागि काम अगाडि बढिसकेको वडा नम्बर ८ का अध्यक्ष सिद्धीकीले बताए । “अहिले सर्भेको काम सकिएको छ, केही दिनमा निर्माण कम्पनीसँग सम्भौता हुन्छ,” अध्यक्ष सिद्धीकीले भने । कोइलावासको हनुमान मन्दिर नजिकै बोरिङ निर्माण गरिने भएको छ । बोरिङ निर्माणका लागि ५० लाख रुपैयाँ लाग्ने बताइएको छ । बोरिङ निर्माण भएपछि पानीको समस्या समाधान हुने वडा कार्यालयको भनाइ छ ।
अमरराज आचार्य