लगानीमैत्री कानुन बन्छन् : मुख्यमन्त्री राई

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार लगानीमैत्री कानुन बनाउन लागिपरेको बताएका छन् । प्रदेश–१ चेम्बर अफ कमर्स तथा मोरङ चेम्बर अफ कमर्सको शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री राईले लगानीमैत्री कानुन बनाउने दिशामा प्रदेश सरकार अग्रसर भएको बताए ।
मुख्यमन्त्री राईले प्रदेशको आर्थिक समृद्धिका लागि निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न आग्रह पनि गरे । “प्रदेशको आर्थिक समृद्धि निजी क्षेत्रको लगानी बिना सम्भव छैन,” उनले भने, “ढुक्क भएर लगानी गर्नुहोस्, प्रदेश सरकार लगानीको वातावरण बनाउन तयार छ ।” उनले व्यापार, पर्यटन, कृषि क्षेत्र लगानी वृद्धि गरी रोजगारी उपलब्ध गराउने उद्योगीहरूलाई प्रदेश सरकारले सुरक्षाको ग्यारण्टीसहित सहुलित रुपमा जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
मुख्यमन्त्री राईले प्रदेशको कृषि उत्पादनमा आधुनिक प्रविधिको प्रयोग गरी चिया, अलैंची, अम्लिसो र अदुवाको अत्याधिक उत्पादन गरी छिमेकी देशका साथै बंगलादेश र भुटानका मुख्य बजारबाट आर्थिक लाभ लिनुपर्नेमा जोड दिए । मुख्यमन्त्री राईले उद्यमीहरूलाई चाहिने ऊर्जाका लागि यो प्रदेश धनी रहेको भन्दै आगामी पाँच वर्षभित्र ७ सय मेघावाट जलविद्युत् उत्पादन हुनुका साथै अरुण, तमोर बहुउद्देश्यीय, दूधकोशी नदीबाट जलविद्युत् उत्पादन गरी उद्योगीका ऊर्जाको माग पूरा बताए । प्रदेश सरकार उद्योगी व्यवसायीलाई सुरक्षा दिन तयार रहेको उनको भनाइ थियो ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले मुलुकको समृद्धिका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए । चेम्बर अफ कमर्सको प्रदेश कार्यालय स्थापनाले विराटनगरलाई स्थायी राजधानी बनाउन बल पुगेको उनको भनाइ थियो । उनले महानगरपालिका विशेष आर्थिक क्षेत्र र औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्ने तयारीमा रहेको बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले भारतको विशाखापट्टनम बन्दरगाहबाट रेल्वेमार्फत नेपालमा ढुवानी गर्न पहल गर्नुपर्नेमा जोड दिए । चेम्बरका मोरङ अध्यक्ष सुरेन्द्रमान श्रेष्ठ, निर्देशक डा. भगवान खडका, विराटनगर भन्सार कार्यालयका प्रमुख हिमांशु अधिकारी, आन्तरिक राजस्व कार्यालय विराटनगर प्रमुख दिलीपकुमार गौतमलगायतले मुलुकको आर्थिक समृद्धि र वैदेशिक व्यापार घटाउन चेम्बरको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा प्रदेश–१ का १४ वटै जिल्लाका अध्यक्षको सहभागिता थियो । चेम्बरमा १ हजार ६ सदस्य रहेको निर्देशक डा. भगवान खड्काले जानकारी गराए । चेम्बर मुलुकको संघीय संरचनाअनुसार ७ वटै प्रदेशमा १०५ वस्तुगत संस्था, २१ अन्य र ५७ विदेशी व्यापारी संस्थासँग आबद्धता रहेको छ । सोमबार नै मुख्यमन्त्री राई र चेम्बरका अध्यक्ष श्रेष्ठले संयुक्त रुपमा प्रदेश कार्यालयको शुभारम्भ गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१, मोरङ व्यापार संघ र उद्योग संगठन मोरङमा आबद्ध कुनै पनि उद्योगी भने आएका थिएनन् ।