मस्र्याङ्दी प्रसारणलाइन छिटो बनाउन निर्देशन «

मस्र्याङ्दी प्रसारणलाइन छिटो बनाउन निर्देशन

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मस्र्याङदी करिडोरको प्रसारणलाइन छिटो बनाउन निर्देशन दिएका छन् ।
विद्युत् प्राधिकरणले समयमै प्रसारणलाइन र सबस्टेसन नबनाउँदा मस्र्याङदी करिडोरमा निर्माणाधीन आयोजनाबाट उत्पादित विद्युत् खेर जाने चर्चा चलिरहेको बेला प्रसारणलाइन र सबस्टेसनस्थल लमजुङमा पुगेर यस्तो निर्देशन दिएका हुन् । मस्र्याङदी नदी करिडोरमा निजी क्षेत्रबाट निर्माणाधीन जलविद्युत् आयोजनाले उत्पादन गर्ने एक युनिट विद्युत् पनि खेर जान नदिने प्रतिबद्धता जनाउँदै निर्माणाधीन आयोजना सम्पन्न हुन कम्तीमा दुई वर्ष लाग्ने देखिएकोले सो अवधिभित्र प्रसारणलाइन र सबस्टेसन निर्माण गरिसक्ने दाबी गरे । “दोर्दी करिडोरमा निर्माणाधीन आयोजना सम्पन्न हुने तर प्रसारणलाइन नबनाइदिंदा विद्युत् खेर जाने अवस्था रहेको गुनासो थियो, तर ती आयोजनाको निर्माण प्रगति हेर्दा त्यस्तो अवस्था नरहेको देखियो,” उनले भने, “ती आयोजनाभन्दा पहिले प्रसारणलाइन बनाउँछौ, प्रसारणलाइन अभावमा विद्युत् जोड्न नसकी खेर फाल्नु पर्ने अवस्था आउन दिंदैनौ ।”
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले समस्या समाधान गर्न निर्देशन दिएपछि कार्यकारी घिसिङसहितको टोली लमजुङ पुगेको थियो । टोलीले उदिपुर, कीर्तिपुर तथा टारीकुना निर्माण हुने र तनहुँको मार्कीचोकमा निर्माणाधीन सबस्टेसनको निरीक्षण गरेको थियो । यसैगरी, हिमालय पावर पार्टनरले निर्माण गरिरहेको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जीको २५ मेगावाटको माथिल्लो दोर्दी ए, पिपल्स हाइड्रोपावरको ४९ मेगावाटको सुपर दोर्दी ख र बुटवल पावर कम्पनीको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको निरीक्षण गरेको थियो ।

प्रसारणलाइन बनाउन ठेक्का सम्झौता
दोर्दी खोलामा निर्माण भइरहेका आयोजनाको विद्युत् जोड्नका लागि ११ किलोमिटर कीर्तिपुर–उदिपुर १३२ केभी डबल सर्किट प्रसारणलाइन बनाउन ठेक्का सम्झौता भइसकेको छ । निर्माण १८ महिनाभित्र सक्ने लक्ष्य राखिएको छ । अहिले टावरको डिजाइन भइरहेको आयोजनाले जनाएको छ । कीर्तिपुरमा सबस्टेसन बनाउने ४८ रोपनी जग्गामा २५ मेगावाटको माथिल्लो दोर्दी एले विद्युत्गृह बनाउने ठाउँ खन्दा निक्लिएको ढुंगा माटो फालिदिएकाले प्राधिकरणले काम सुरु गर्न सकिरहेको छैन । यही कारण ठेकेदारलाई साइट दिन नसकिएको आयोजनाले बताएको छ । “सबस्टेसन बन्ने जग्गामा ढुंगा माटो फालेर हामीलाई काम गर्न नदिने अनि उल्टै प्राधिकरणले प्रसारणलाइन बनाइदिएन, बिजुली खेर जाने भो भन्दै हल्ला गर्ने ?” घिसिङले आयोजनालाई निर्देशन दिंदै भने, “तत्काल त्यसलाई हटाउनुहोस् नत्र तपार्इंहरूका कारण कति दिन काम ढिला हुन्छ गणना गरी जरिवाना तिराउँछौ ।”

आयोजनाको भौतिक प्रगति ७० प्रतिशत
आयोजनाको प्रवद्र्धक कम्पनीका प्रबन्ध सञ्चालक डा. आत्माराम घिमिरे र सञ्चालक रामबहादुर पाण्डेले दुई महिनाभित्र ढुंगा माटो फाल्ने प्रतिबद्धता जनाएका छन् । आयोजनाको समग्र भौतिक प्रगति ७० प्रतिशत रहेको जानकारी दिंदै घिमिरेले डिसेम्बर २०१८ भित्र निर्माण सक्ने दाबी गरे । प्राधिकरणसँग भएको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) अनुसार आयोजनाको व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्नु पर्ने मिति (आरसीओडी) भने अगस्ट २०१९ छ ।
हिमालय पावर पार्टनरका कार्यकारी निर्देशक गुरु ढकालले आयोजनाको समग्र भौतिक प्रगति ६५ प्रतिशत रहेको जानकारी दिए । पीपीएअनुसार, आयोजनाको आरसीओडी पनि अगस्ट २०१९ नै रहेको छ । प्राधिकरणका प्रवक्ता एवं विद्युत् ब्यापार विभाग प्रमुख प्रबल अधिकारीले स्थलगत निरीक्षणपछि दुवै आयोजनाको काम सक्न कम्तीमा पनि दुई वर्ष लाग्ने देखिएको बताए ।
दोर्दी करिडोरमा निर्माण भइरहेका आयोजनाको विद्युत प्रवाह गर्न उदिपुरमा सबस्टेसन बनाउनु पर्छ उदिपुर–मार्किचोक प्रसारण लाइन बन्नुपर्छ । सबस्टेसन निर्माणका लागि तीन महिनाभित्रमा ठेकेदार छनोट भइसक्ने आयोजना प्रमुख चिरन्तन राणाले बताए । “उदिपुर–मार्किचोक–भरतपुर प्रसारणलाइन निर्माणका लागि जनबरी २०१८ बाट ठेक्का कार्यान्वयनमा आइसकेको छ,” राणाले भने, “१८ महिनाभित्र सक्ने लक्ष्यका साथ काम भइरहेको छ ।” खुदीमा सबस्टेसन निर्माणका लागि प्राधिकरणले जग्गा किनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्