Logo

फोहरबाट मोहर बनाउँदै तानसेन नगरपालिका

तानसेन नगरपालिकाले दैनिक निस्कने फोहर मोहरमा परिणत गर्ने भएको छ । नगरपालिकाले निजी क्षेत्रसँगको समन्वयमा कुहिने फोहरलाई कम्पोस्ट मल बनाएर बिक्री गर्ने योजना बनाएको छ ।
नगरपालिकाले कम्पोस्ट मल बनाउने प्रविधिको एक महिनादेखि टुँडिखेलमा खाल्डो बनाएर प्रयोगात्मक परीक्षणसमेत गरेको छ । कम्पोस्ट मल बनाउने प्रविधिको परीक्षण र कम्पोस्ट मल बनाउने विषयमा व्यावहारिक अनुसन्धान भइरहेको नगरपालिकाका सरसफाइ अधिकृत शंकर भण्डारीले जानकारी दिए । “त्यहाँ प्रयोग गर्दा गन्ध नआउने, माखा पनि नलाग्ने भएको छ,” अधिकृत भण्डारीले भने, “जसले गर्दा फोहर फालेको र नफालेको थाहा हुँदैन, जुन प्रविधि हामीले उपभोक्तालाई समेत सिकाउने र फोहर उत्पादन घटाउने योजना नगरपालिकाको छ ।”
नगरको सरसफाइसँगै आय स्रोत वृद्धिमा नगरपालिकाले फोहरबाट मोहर बनाउने योजना स्वरुप कम्पोस्ट मल बनाउने प्लान्टको जिम्मा निजी क्षेत्रसँगको सहकार्यमा थालिएको छ, तानसेन नगरप्रमुख अशोककुमार शाहीले भने, “जसले नगरको सुन्दरतासँगै आम्दानी बढाउन टेवा पुग्ने छ ।” नगरको फोहर मैला व्यवस्थापनका लागि निजी क्षेत्रसँग प्रस्ताव आव्हानसमेत गरिएको छ,” प्रमुख शाहीले भने, “आएका प्रस्तावमा उत्कृष्ट काम गर्नेलाई फोहर व्यवस्थापनको जिम्मा दिइनेछ ।”
तानसेनबाट अहिले दैनिक ९ टन फोहर उत्पादन हुन्छ, त्यसमध्ये ६० प्रतिशत नकुहिने, ४० प्रतिशत कुहिने फोहर रहेको नगरपालिकाले जनाएको छ । कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउने, नकुहिनेलाई वर्गीकरण गरी पुनःप्रयोग, पुनःउत्पादनलगायतका विधि अपनाउने सोच नगरपालिकाको रहेको प्रमुखको भनाइ छ ।
तानसेन–५ स्थित शिवपोखरीमा ५ वर्ष पहिले सेनेटरी ल्यान्डफिल्ड साइट निर्माण गरेको भएता पनि निर्माणपश्चात स्थानीयको विरोधले अहिले बन्द छ, नगरको फोहर अहिले तानसेन–३ स्थित वनदेवी जंगलमा त्यसै फाल्ने गर्दा तानसेन बजार र तम्घास–पाल्पा आवतजावतमा समेत बाधा पुग्ने गरेको छ ।
वनदेवीमा फालिएको फोहर बगेर तानसेन प्रभास, तेल्घा, बाँसटारी क्षेत्रका किसानको खेतमा फोहर भएको भन्दै स्थानीयले विरोधसमेत गरेका छन्, सबैको समस्या समाधानका लागि दीर्घकालीन फोहर विसर्जन केन्द्रका लागि नगरपालिकाले योजना बनाएको प्रमुख शाही बताउँछन् ।
अमृत अधिकारी

प्रतिक्रिया दिनुहोस्