सिँचाइले कृषकलाई सहज «

सिँचाइले कृषकलाई सहज

म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको पिपलबोट र सेराफाँटमा सिँचाइ आयोजना निर्माण भएपछि कृषकलाई खेती लगाउन सहज भएको छ ।
पक्की नहर निर्माण भएपछि महिनैपिच्छे श्रमदान लगाएर कच्चि कुलो मर्मत गर्नुपर्ने, पर्याप्त पानी नभएर पालो पर्खनुपर्ने र पानी नपाएर समयमै खेती लगाउन नपाउने समस्याबाट कृषकले मुक्ति पाएका हुन् ।
सिँचाइ विकास सबडिभिजन कार्यालय म्याग्दीमार्फत वि.सं २०७३ देखि सुरु भएको पिपलबोट सेरफाँट सिँचाइ आयोजनाको नहरबाट पानी आपूर्ति हुन थालेपछि कृषकहरूले राहत महसुस गरेका छन् । निर्माणको अन्तिम चरणमा पुगेको आयोजनाको बाँधलगायतका संरचना तयार भएपछि नहरमा पानी चलाइएको छ ।
सेराफाँटतर्फ ३५० मिटर पक्की नहर निर्माण सकिएको छ भने पिपलबोटतर्फ थप चार सय मिटर नहर बनाउन बाँकी रहेको आयोजनाका साइट इन्चार्ज सबइन्जिनियर विमल विश्वकर्माले बताए । अर्मनखोलामा मुहान भएको आयोजनाको नहरको कुल लम्बाइ एक हजार पाँच सय मिटर हो । बनेको नहरमा पानी चलाएर खेतमा सिँचाइ गर्न थालिएको उपभोक्ता समितिका सचिव तुलसीराम सापकोटाले बताए । वि.सं २०५५ सालमा निर्माण भएको आयोजनाको कच्ची नाली, पाइपमार्फत पानी ल्याएर वितरण गर्दा पर्याप्त पानी नआउने, पालो लगाएर सिँचाइ गर्नुपर्ने समस्या थियो ।
“नयाँ नहर बनेपछि आवश्यकता अनुसार पानी आपूर्ति भई बाह्रैमास खेती लगाउन सकिने भएको छ, खेतीका लागि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता अन्त्य भएको छ,” सेराफाँटका गोविन्द पौडेलले बताए । पिपलबोट र सेराफाँट धान, गहुँ र मकै खेतीको पकेट क्षेत्र हो । सिँचाइ सुविधा भएपछि कृषि उपजको उत्पादन बढ्ने अपेक्षा गरिएको छ । सिँचाइ विकास सबडिभिजन कार्यालय म्याग्दीले ठेक्कामार्फत सञ्चालित आयोजनाको हालसम्म सत्तरी प्रतिशत भौतिक प्रगति भएको सबडिभिजन प्रमुख इन्जिनियर दिनेश आचार्यले बताए ।
८४ लाख ८२ हजार रुपैयाँमा झिँ निर्माण सेवाले २०७५ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता गरेको थियो । चालू आर्थिक वर्षमा जिल्लाकै ठूलो सिँचाइ आयोजना समयमै सम्पन्न गराउनका लागि अनुगमन, ताकेता र सहजीकरण गरिएको आचार्यले बताए ।
आयोजना निर्माण भएपछि पिपलबोट र सेराफाँटको ५२ हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने जनाइएको छ । डेढ सय घरधुरी कृषक लाभान्वित भएका छन् । निर्माण सामग्रीको अभावले नहर निर्माणको काम केही दिन प्रभावित भए पनि निर्धारित समयमै योजना सम्पन्न गर्ने झिँ निर्माण सेवाका सञ्चालक शिवकुमार भट्टचनले बताए ।
सन्तोष गौतम

प्रतिक्रिया दिनुहोस्