वैकल्पिक राजमार्ग ३५ प्रतिशत निर्माण «

वैकल्पिक राजमार्ग ३५ प्रतिशत निर्माण

वन क्षेत्र, मुआब्जा र घर टहरा हटाउने विवाद साम्य भएपछि वैकल्पिक राजमार्ग अन्तर्गत धरान–चतरा, गाईघाट–कटारी, सिन्धुली–हेटौंडा सडक आयोजना पूर्वीखण्ड निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । भित्री मधेसलाई राजधानीसँग सिधा जोडने सबैभन्दा छोटो राजमार्ग निर्माणको काम तीव्र गतिमा अघि बढेको हो ।
डेढ वर्षअघि निर्माणकार्य सुरु भए पनि विभिन्न विवादका कारण निर्माणकार्यले गति लिन सकेको थिएन । गत वर्ष सबै विवाद समाधान भएपछि गति लिएको वैकल्पिक राजमार्गको हाल ३५ प्रतिशतभन्दा बढी काम भइसकेको छ । राजमार्गको सुनसरी, उदयपुर र सिन्धुली खण्डमा सडक संरचना र पुल निर्माण गर्ने काम धमाधम भइरहेको छ भने घर टहराको मुआब्जा निर्धारण, वन क्षेत्रका रूख हटाउने कार्य र पुल निर्माण हुने स्थानमा हुने विवादसमेत साम्य भइसकेका छन् ।
“रााष्ट्रिय गौरवको योजना मानिएको धरान–चतरा, गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक आयोजना पूर्वी खण्डमा १३४ किमि सडक पर्दछ,” आयोजनाका सूचना अधिकारी रामविहारी चौधरीले भने, “सडक ११ मिटर फर्मेसन चौडाइ भएको कालोपत्रेयुक्त हुनेछ ।” सडक योजना ३ वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण गरिसक्ने लक्ष्य राखी २०७३ साल कात्तिक २२ गते निर्माण व्यवसायी जेडआईईसी शर्मा लामा ज्वाइन्ट भेन्चरले ७ अर्ब ३६ करोड ९९ लाख ८४ हजारमा ठेक्का सम्झौता गरेको उनले बताए ।
“सडकको सब ग्रेड, सब बेस, होम पाइप, स्लाभ कल्भर्ट, मेसिनरी वाललगायतका काम भइरहेको छ,” निर्माण व्यवसायी जेडआईईसी शर्मा लामा ज्वाइन्ट भेन्चरका डिपुटी कन्ट्रयाक्ट मेनेजर इन्जिनियर सिताराम दाहाल भन्छन्, “तोकिएकै समयमा सडक निर्माण सम्पन्न गर्ने गरी काम गरिरहेका छौ ।” सडक निर्माणका लागि सरकारको तर्फबाट बजेट अभाव नहुने हो भने अबको २ वर्षभित्र सडक निर्माणको काम सकिने उनको भनाइ छ ।
“सामाजिक र आर्थिक रूपान्तरणको मेरुदण्ड नै सडक हो,” त्रियुगा– ७ चुहाडेका इश्वरप्रसाद काफ्लेले भने, “वैकल्पिक राजमार्गको ३५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएपछि स्थानीयसमेत उत्हाहित भएका छन् ।” तोकिएकै समयभित्र सडकको निर्माणकार्य सम्पन्न हुनुपर्ने उनले बताए ।
वैकल्पिक राजमार्ग निर्माण सम्पन्न भएपछि उदयपुरको बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, उदयपुर गढी गाउँपालिका र कटारी नगरपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । सिन्धुलीतर्फ दुधौली नगरपालिका र कमलामाई नगरपालिका हुँदै राजमार्ग हेटौडासम्म जोडिने छ ।
गोपाल पोखरेल

प्रतिक्रिया दिनुहोस्