सदरमुकामवासी हुँदा खुसी «

सदरमुकामवासी हुँदा खुसी

अघिल्लो सरकारले गत माघ ११ गते नयाँ बनेको जिल्ला रुकुमपूर्वको सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका–१२ को गोलखाडा तोकेको खबर सञ्चारमाध्यममार्फत सुन्दा आश्चर्य लागेको थियो । कहिल्यै पनि चर्चामा नआएको ठाउँमा सदरमुकाम तोकियो भन्ने खबर एक्कासि सुन्दा आफूहरू अचम्ममा परेको गोलखाडावासीको भनाइ छ ।
सदरमुकाम आफ्नै ठाउँमा आउने भयो भन्ने थाहा पाएपछि हर्ष बढाइँ गरेका गोलखाडावासी अहिले भने चिन्तित छन् । सिस्ने गाउँपालिकाको रुकुमकोटमा रहेको सदरमुकाम गोलखाडामा सार्ने सरकारको निर्णय खारेजको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेपछि मुखमै आएको भाग खोसिने त होइन भनेर गोलखाडावासी चिन्तित भएका हुन् । सरकारको यस निर्णयलाई आफूहरूले शदिऔंदेखि उत्पीडनमा परेको भूगोल र समुदायको पक्षमा लिएको स्थानीयको भनाइ छ । गोलखाडा रुकुमपूर्वको केन्द्र विन्दु पर्ने भएका कारण पनि सदरमुकामका लागि थप योग्य रहेको स्थानीय मणिकर्ण बुढाले बताए । रुकुमपूर्वको बीच भागमा पर्ने भएकाले यहाँ सदरमुकाम भए सेवा प्रवाह गर्न सहज हुने उनको भनाइ छ ।
सदरमुकाम बन्नका लागि गोलखाडामा भौतिक संरचनाको अभाव नरहेको यहाँका नागरिकको दाबी छ । “विकट छ, सदरमुकाम बन्नका लागि भौतिक संरचनाको अभाव छ भनेर गोलखाडामा सदरमुकाम आउन नदिने षड्न्यत्र भइरहेको छ,” उनले भने, “भौतिक संरचना विस्तारै हुने कुरा हो, नमागेरै आएको सदरमुकाम अब कुनै पनि हालतमा छोडिदैन ।” यदि गोलखाडा सदरमुकाम नभए कुन मोडमा आन्दोलन जान्छ अहिले भन्न नसकिने स्थानीयको भनाइ छ । हाल सदरमुकाम रहेको रुकुमकोट जिल्लाको छेउमा पर्ने भएकाले उक्त ठाउँ सदरमुकामका लागि उपयुक्त नरहेको यहाँका नागरिकको भनाइ छ । यसै कुरालाई ध्यानमा राखेर अघिल्लो सरकारले गरेको निर्णय एथाशीघ्र कार्यान्वयन हुनुपर्ने स्थानीय रामलिला बुढाले बताइन् । “रुकुमकोट जानु र मुसिकोट जानुमा खासै समस्या नभएकाले आफूहरू रुकुमकोटभन्दा बरु मुसिकोटमै जाने हो,” उनले भनिन, “गोलखाडामा सदरमुकाम तोकिएपछि यस क्षेत्रका नागरिकमा नयाँ उत्साह थपिएको छ ।” रुकुमपूर्वको सदरमुकाम विवाद सर्वोच्चमा विचाराधीन अवस्थामा छ । गत असोज १९ गते रुकुमकोटमा जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालयलगायतका सरकारी कार्यालयहरू उद्घाटन गरिएको थियो । तर गत माघ ११ गतेको मन्त्रिपरिषद् बैठकले सदरमुकाम गोलखाडालाई तोकेको थियो । त्यसपछि यो निर्णयको कार्यान्वयनका लागि रुकुमकोटमा आन्दोलन जारी छ भने सर्वोच्चमा मुद्दा परेको छ । उक्त मुद्दाको पेसि निरन्तर सरिरहेको छ ।

गाउँपालिकाद्वारा राजपत्र प्रकाशन
रुकुमपूर्वको सिस्ने गाउँपालिकाले जिल्लामै पहिलो पटक स्थानीय राजपत्र प्रकाशन गरेको छ । वैशाख ८ गते बसेको गाउँ कार्यपालिकाको बैठकले स्थानीय राजपत्र प्रकाशन गर्ने निर्णयअनुसार राजपत्र प्रकाशन गरेको हो । राजपत्रमा पहिलो पटक ४ स्थानीय कानुन प्रकाशन गरिएको छ । जसमा स्थानीय राजपत्र प्रकाशन गर्न बनेको कार्यविधि २०७४, स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७४, करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७४ र घ वर्गको निर्माण व्यवसायी इजाजत पत्रसम्बन्धी कार्यविधि २०७४ छन् । गाउँपालिकाका केही महत्वपूर्ण सूचना तथा गाउँसभाबाट पारित ऐन, कार्यविधि र नियमावलीसहित विभिन्न कानुन राजपत्रमा प्रकाशन गर्ने शुरुवात गरिएको सिस्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक गौतमले जानकारी दिए । उनका अनुसार यसले गाउँपालिका गरेका महत्वपूर्ण निर्णय औपचारिक रूपमा कार्यान्वयनसँगै जनतालाई पनि निर्णय जानकारी लिन सजिलो भएको छ ।

प्रतिक्रिया दिनुहोस्