Logo

जंगल संरक्षण गर्न आधुनिक चुलो वितरण

ग्रामीण क्षेत्रका बासिन्दाले इन्धनको मुख्य स्रोतको रूपमा दाउरा प्रयोग गर्ने चलन छ । दाउराको प्रयोग अत्यधिक बढेपछि जंगल संरक्षणका लागि पनि ध्यान दिनु आवश्यक बनेको सरोकारवालाको भनाइ छ । बेथानचोक गाउँपालिकाका विभिन्न क्षेत्रमा वनजंगलको संरक्षण तथा स्थानीयको स्वास्थ्य सुधारको समेत अपेक्षा राखेर आधुनिक चुलो वितरण कार्य थालिएको छ ।
पनौतीमा रहेको मल्पी इन्टरनेसनल स्कुलको सहकार्यमा हिमालयन स्टोभ प्रोजेक्टले बेथानचोक गाउँपालिकाका ३५ घरधुरीका लागि चुलो वितरण गरेको छ । बेथानचोक गाउँपालिका–४ सिक्रेघ्याङमा विभिन्न चरणमा उक्त चुलो वितरण गरिएको छ । पछिल्लो समय घरघरमा सुधारिएको चुलो निर्माण गर्ने गराउने क्रम बढेको भए पनि वितरित चुलो अझै प्रभावकारी रहेको प्रयोगकर्ता बताउँछन् । “दाउरा त एकदमै कम लाग्छ, धुवाँको समस्या छैन । खाना छिटो पाक्छ यो त एकदमै उपयोगी लाग्यो,” प्रयोगकर्ता रोजिना तामाङले भनिन् । दुई मुख भएको उक्त चुलो ग्रामीण क्षेत्रमा खाना पकाउन, पानी तताउन, गाईवस्तुका लागि कुँडो पकाउनसमेत सजिलो हुने तामाङको भनाइ छ ।
अन्य चुलोको दाँजोमा २५ प्रतिशत दाउरा लाग्ने चुलोले वनजंगलको संरक्षणसँगै मानव स्वास्थ्यमा समेत असर नर्गर्ने हिमालयन स्टोभ प्रोजेक्टका नेपाल प्रतिनिधि जयराज भण्डारीले बताए । गरिब विपन्न वर्गको आर्थिक र सामाजिक विकासको लक्ष्य लिएर यो कार्यक्रम सञ्चालन गरेको उनको तर्क छ । वातावरण संरक्षण हाम्रो दायित्व हो । यही दायित्व पूरा गर्न यस किसिमका कार्य सञ्चालन गर्दै आएको बताउँदै यसको प्रयोग ग्रामीण क्षेत्रमा अझ विस्तार गर्नुपर्ने मल्पी इन्टरनेसनलका शिक्षा संयोजक अर्जुन क्षेत्रीले बताए । बजारमा खरिद गर्दा पनि प्रतिसेट १५ हजारमा पाइने उक्त चुलो पहाडी तथा हिमाली भेगमा प्रोजेक्टले निःशुल्क वितरण गर्दै आएको उनको भनाइ छ । अन्य इन्धन उपलब्ध नभएको र दाउरा पनि कम पाइने ठाउँ हाम्रो लक्ष्य हो उनले थपे ।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले वन पैदावार संरक्षण तथा स्वास्थ्य र सरसफाइका हिसाबले कार्यक्रम उत्कृष्ट रहेको बताए । संस्थाले विभिन्न चरणमा चुलो वितरण गर्दै जाने बताएको छ । वितरण कार्यक्रममा बेथानचोक–४ का वडाध्यक्ष लालबहादुर श्रेष्ठ स्थानीय जनप्रतिनिधि तथा समाजसेवीको उपस्थिति थियो ।
-कपिल कोइराला

प्रतिक्रिया दिनुहोस्